+
+
Shares

नेपालले अन्तर्राष्ट्रिय समुदायसँग उद्धारका लागि माग्यो थप उपकरण

५ देशका टनेल विशेषज्ञले गरिरहेका छन् काम

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा प्राविधिक कठिनाइ बढेपछि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडर, मड/टनेल रेस्क्यु सुट र पम्प मागेको छ।
  • सुरुङभित्र फसेकाहरूको उद्धारमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल उद्धार टोली नेपाली सेनाको समन्वयमा परिचालन गरिएको छ।
  • बेपत्ता खोजी र शव पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीले नेपाल प्रहरीसँग डीएनए सङ्कलन र विश्लेषण गरिरहेका छन्।

२२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाइ थपिएपछि नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अत्याधुनिक उपकरण र विशेष सामग्रीहरू माग गरेको छ।

परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार, प्रभावित क्षेत्रमा उद्धार अभियानलाई तीव्रता दिन र जोखिम न्यूनीकरण गर्न उच्च प्राविधिक उपकरणहरूको सूची नै बनाएर सहयोगको अपिल गरिएको हो।

जलविद्युत् आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धार गर्न र बाक्लो लेदोका कारण मानिसको पहुँच पुग्न नसकेका स्थानमा खोजी गर्न नेपालको आफ्नै प्राविधिक क्षमता अपर्याप्त भएपछि सरकारले विदेशी नियोग र मित्रराष्ट्रहरूसँग सहयोग मागेको छ।

सरकारले अन्तर्राष्ट्रिय समुदायसँग अप्ठ्यारो भूबनोट, पहिरोग्रस्त क्षेत्र र सुरुङभित्रको अवस्था स्क्यानिङ गरी बेपत्ताको खोजी गर्न उच्च क्षमताका ड्रोन र लाइडरको माग गरेको छ ।

त्यस्तै बाक्लो लेदो र जलविद्युत् आयोजनाका सुरुङमा पसेर सुरक्षित उद्धार गर्न प्रयोग गरिने विशेष पोसाक अर्थात् मड/टनेल रेस्क्यु सुट पनि माग गरेको छ ।

सरकारले डुबानमा परेका क्षेत्र र सुरुङभित्र जमेको पानी तथा लेदो तत्काल बाहिर फाल्न उच्च क्षमताका पम्प पनि माग गरेको छ । बाढीले बगाएका पुलहरूको स्थानमा तत्काल जडान गरी सडक सञ्जाल सुचारु गर्न बेली ब्रिजहरू, डीएनए परीक्षण किट र ल्याब फ्रिजर पनि सरकारले माग गरेको छ ।

सरकारले अन्तर्राष्ट्रिय समुदायसँग महामारी रोकथामका सामग्री पनि माग गरेको छ । विपद्पछि प्रभावित क्षेत्रमा फैलिन सक्ने सरुवा रोग र महामारी नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सकीय तथा स्वास्थ्य सामग्री सरकारले माग गरेको हो ।

सुरुङभित्र अझै मानिसहरू फसेको र बाक्लो लेदोका कारण म्यानुअल उद्धारमा सुरक्षा जोखिम बढेकाले ‘टनेल रेस्क्यु सुट’ र ‘लाइडर’ प्रविधि नेपालका लागि तत्काल अत्यावश्यक बनेको मन्त्रालयले जनाएको छ। यी उपकरण प्राप्त भएमा बेपत्ताहरूको खोजी, उद्धार र पहिचान कार्य निकै छिटो र प्रभावकारी हुने सरकारको विश्वास छ।

परराष्ट्र मन्त्रालयका अनुसार सुरुङभित्र फसेकाहरूको उद्धार गर्न पाँच देशका विशेषज्ञ टिम परिचालन गरिएको छ । सरकारले नेपाली सेनाको समन्वयमा भारत, चीन, दक्षिण कोरिया, यूएई र मलेसियाका विशेष टनेल उद्धार टोली परिचालन गरेको हो।

प्रभावित जलविद्युत् आयोजनाहरूमा उच्च प्राथमिकता

मन्त्रालयका अनुसार, माथिल्लो त्रिशूली १, माथिल्लो त्रिशूली ३ए, माथिल्लो त्रिशूली ३बी, चिलिमे, रसुवागढी र लाङटाङ लगायतका प्रभावित जलविद्युत् आयोजनाहरूमा उद्धार कार्यलाई निरन्तरता दिन थप उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिँदै छ।

यी अभियानहरूमा छिमेकी, मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त उद्धार उपकरण, उच्च क्षमताका ड्रोन र भार बोक्ने सामग्रीहरू प्रयोग भइरहेका छन्।

बेपत्ता व्यक्तिहरूको खोजी र शवको पहिचानका लागि भारत, चीन, जापान, सिङ्गापुर र दक्षिण कोरियाका फरेन्सिक टोलीहरूले नेपाल प्रहरीसँग मिलेर डीएनए सङ्कलन र विश्लेषणको काम गरिरहेका छन्।

विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्रमन्त्री शिशिर खनालले विश्वभरका समकक्षीहरूसँग निरन्तर टेलिफोन संवाद गरिरहेको र सोमबार माल्दिभ्सकी परराष्ट्रमन्त्री इरुथिशम आदमसँग संवाद भएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?