News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद्का १३१ सांसदले बाढी पीडितलाई सहयोग गर्न तलबबाट रकम कट्टा गरिदिन संसद् सचिवालयमा पत्र लेखेका छन्।
- नेपाली कांग्रेसका ६२, नेकपा एमालेका सांसद र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले तलबबाट सहयोग गर्ने निर्णय गरेका हुन्।
- संसद् सचिवालयले पत्रका आधारमा रकम कटाएर बाँकी तलब सांसदहरूको खातामा पठाउने तयारी गरेको छ।
२२ भदौ, काठमाडौं । संघीय संसद्का १३१ जना सांसदले आफ्नो तलब कटाएर बाढी पीडितलाई सहयोग गरेका छन् । यो सोमबारसम्मको विवरण हो ।
उनीहरूले आफूले प्राप्त गर्ने तलबबाट कटाएर सहयोग गर्ने गरी संघीय संसद् सचिवालयलाई पत्र लेखेका हुन् ।
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा २७५ सदस्यीय छ । राष्ट्रिय सभा ५९ सदस्यीय छ । यसमध्ये १३१ जना सांसदले तलब कटाएर बाढी पीडितलाई सहयोग गर्ने गरी संसद् सचिवालयलाई पत्र लेखेका हुन् ।
संसद् सचिवालयका अनुसार सोमबारसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले तलबबाट बाढी पीडितलाई सहयोग गर्ने गरी निश्चित रकम जम्म गरिदिन संसद् सचिवालयलाई आग्रह गर्दै पत्र लेखेका हुन् ।
यसमा नेपाली कांग्रेसका प्रतिनिधिसभा तर्फका ३८ जना र राष्ट्रिय सभातर्फका २४ जना सांसद रहेका छन् ।
प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले एक महिनाको तलब सहयोग गर्ने भएका छन् । साथै कांग्रेसका सांसदहरू गंगालक्ष्मी अवाल, रुक्मिणी देवी कोइराला प्रकाश सिंह कार्की र मोहन आचार्यले एक/एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
कांग्रेसका सांसद टेकबहादुर गुरुङले एक लाख सहयोग गर्ने भएका छन् । एक महिनाको तलबबाट नपुग्ने भएकाले उनले एक महिनाको पुरकै तलब र बाँकी अर्को महिनाको तलबबाट कटाउन भनेका छन् ।
बाँकी कांग्रेसका सांसदहरू सबैले १५ दिनको तलब सहयोग गर्ने भएका छन् ।
नेकपा एमालेका सांसद मोहम्मद इश्तियाक राईले एक महिनाको तलब सहयोग गर्ने भनेर संसद् सचिवालयलाई पत्र लेखेका छन् । बाँकी एमालेका सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने भएका हुन् ।
एमालेको प्रतिनिधिसभामा २५ जना र राष्ट्रिय सभामा १० जना सांसद छन् ।
नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले पनि १५ दिनको तलब सहयोग गर्ने भएका छन् ।
संसद् सचिवायलाई पत्र लेखेर नेकपाले सांसदहरूसँगै उनीहरूका स्वकीयको १५ दिनको तलब पनि बाढी पीडितलाई सहयोग गर्ने उल्लेख गरेका छन् ।
नेकपाको प्रतिनिधिसभा र राष्ट्रिय सभामा १७/१७ जना सांसद रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि आधा महिनाको तलब सहयोग गर्ने भनेका छन् । तर संसद् सचिवालयमा पत्र पुगिसकेको छैन ।
संसद् सचिवालयले प्राप्त पत्रका आधारमा सांसदहरूको तलबाट रकम बटाएर बाँकी तलब सांसदहरूको खातामा पठाउने तयारी गर्दैछ ।
पछि पत्र आएको खण्डमा अर्को महिनाको तलबबाट समेत कटाउन सकिने सचिवालयका अधिकारीहरू बताउँछन् ।
सोमबारसम्म भने दुवै सदनका १३१ जना सांसदले सहयोग गर्ने गरी रकम तोकेर तलबबाट कट्टा गरिदिन पत्र लेखेका हुन् ।
प्रतिक्रिया 4