News Summary
Generated by OK AI. Editorially reviewed.- नुवाकोटको मेलुङ क्षेत्रमा बाढी र पहिरोपछि १२ दिनदेखि विश्वराज चौधरी बेपत्ता छन् र परिवारले खोजी जारी राखेको छ।
- विश्वराजसँगै काम गर्ने सञ्जयले बाढी आउँदा उनी मोबाइल लिन फर्किएको बताएका थिए, र ठेकेदारका अनुसार समूहका नौमध्ये एकजनाको शव फेला परिसकेको छ।
- परिवारले चितवन र काठमाडौंका अस्पताल, शवगृह, डिएनए परीक्षण र धामीझाक्रीसम्म पुगेर विश्वराजको खोजी गरेको छ, तर अहिलेसम्म कुनै पत्ता लागेको छैन।
२२ भदौ, काठमाडौं । विश्वराज चौधरी हराएको आज कति दिन भयो ? परिवारले अब दिन गन्न छाडिसकेको छ । सुरुका दिनमा उनीहरू बिहान उठ्नेबित्तिकै दिन गन्थे ।
आज एक दिन भयो, दुई दिन भयो, पाँच दिन भयो । अब उनीहरुका लागि दिनहरू यति लामो र पीडादायी बन्दै गए कि, कति दिन बित्यो भन्नेभन्दा पनि एउटा प्रश्न ठूलो हुँदै गयो, ‘विश्वराज जीवित नै त छन् ?’
कसैले बाढीमा परेका धेरै नुवाकोटका जंगलतिर फसेका छन्, धेरै भनेर खबर ल्याउँछ । कहिले मैलुङमाथि डाँडामा मानिसहरू फसेको छन् भन्ने सुनिन्छ ।
कहिले कसैले भन्छ, उद्धारको पर्खाइमा छन्, रे !
यी खबरले परिवारलाई लागिरहेको छ, उनीहरूको मान्छे त्यहीँ भीडमा छन् । उनीहरू यतिमै ढुक्कले बस्न सकिरहेका छैनन् ।
कुनै अस्पतालमा अचेत अवस्थामा ल्याइएको मानिसबारे खबर आए उनीहरू त्यहीँ पुग्छन् । शव ल्याइएको सूचना पाए, त्यहीँ दौडिन्छन् ।

अस्पतालमा नाम खोज्छन् । घाइतेको अनुहार हेर्छन् । शवगृहमा पुग्छन्, फेरि फर्किन्छन् । तर विश्वराज भेटिँदैनन् ।
जीवित छन् भन्ने प्रमाण छैन । मरेको भनेर स्वीकार गर्ने पनि आधार छैन ।
आज उनको खबर परिवारले नसुनेको १२ दिन बित्तिसक्यो । धेरै परिवारले आश मारेर कुशको शव बनाएर अन्तिम संस्कार गरिसक्यो । तर उनीहरु अझै विश्वराजको पखाइमा छन् ।
विश्वराजको परिवार अहिले एउटा यस्तो ठाउँमा उभिएको छ, जहाँ आशा छाड्न पनि सक्दैन र आशामै बस्ने अवस्थामा पनि छैनन् ।
000
कैलालीको धनगढी उपमहानगरपालिकाका विश्वराजको परिवारमा श्रीमती र दुई छोरा थिए । परिवारको कमाउने उनै हुन् ।
उनीहरू नुवाकोटको मेलुङ क्षेत्रमा रहेको क्रसर आसपासको क्षेत्रमा काम गरिरहेका थिए । त्यहाँ गिट्टी–बालुवा प्रशोधन गर्ने काम हुने गरेको परिवारले जनाएको छ ।
उनी हाइड्रोपावरमा मेसिन चलाउने काम भएकाले त्यही ठाउँमा बस्ने, त्यही खाने र काम गर्ने उनको दैनिकी थियो ।
त्यसैले, काममा गएका बेला केही समय सम्पर्क कम हुनु परिवारका लागि नयाँ कुरा थिएन । तर भदौ ९ गतेपछि सबै कुरा बदलियो । त्यो दिन साँझसम्म विश्वराज परिवारको सम्पर्कमा थिए ।
त्यसपछि उनको फोन बन्द भयो ।
सुरुमा उनकी श्रीमतीले मोबाइलको चार्ज सकिएको होला । नेटवर्क नभएको भन्ने सोचिन् । त्यसपछि नुवाकोट क्षेत्रमा आएको बाढी र पहिरोको खबर सर्वत्र आउन थाल्यो ।
समाचारमा मानिसहरू बेपत्ता भएको विवरण आउन थालेपछि विश्वराजको परिवारको मनमा चिसो पस्न थाल्यो । अब फोन नलाग्नु सामान्य थिएन । अब प्रत्येक घण्टी एउटा आशा र प्रत्येक मौनता एउटा डर बनेको थियो ।
‘मान्छे त जीवितै भेटिन्छन् भनेर आशा गरिरहेका छौँ,’ परिवारका एक सदस्यले भने, ‘तर अवस्था हेर्दा मुस्किलजस्तो पनि लाग्छ ।’
विश्वराजकी श्रीमती अहिले विछिप्त छिन् । घरमा बालबच्चा सानै भएकाले घरबाट खोज्न चाहेर पनि जान सकेकी छैनन् । उनका आफन्त भने सम्भावित सबै ठाउँमा पुग्ने कुनै कसर बाँकी राखेका छैनन् ।
‘भागम-भाग भयो’ भन्ने खबर
ठेकेदारको मातहतमा रहेका माइलुङ काम गर्ने मानिसहरूको समूहमा उनी पनि थिए ।
विश्वराज बेपत्ता भएपछि उनको ठेक्दार पुरुषोत्तम तिम्लसिनाले घटनास्थलमा रहेका र बाँचेर फर्किएका मानिसहरूबाट घटनाबारे जानकारी बटुले ।
उनका अनुसार विश्वराजसहित करिब छ, सात जनाको एउटा समूह त्यहाँ काम गर्थ्यो ।
ठेकेदार तिम्सिनाका अनुसार सूचना आउने बित्तिकै खबर गर्नलाई फोन गर्दा फोन कसैको उठेन । त्यहाँसम्म पुग्ने अवस्था थिएन ।
उनले पछि सुनेअनुरुप बाढी आउँदा उनीहरू कोही काम गरिरहेका थिए । कोही आराम गरिरहेका थिए । कोही खाना पकाउँदै थिए । कोही अन्यत्र गएका थिए ।

त्यही बेला पहिरो र बाढी आएको देखेपछि कसैले अरूलाई ज्यान जोगाउन भन्दै ‘भागम–भाग’ भनेर कराएको उनीहरूले पछि सुनेका थिए ।
तर बाढी र पहिरोको त्यो क्षण सबैका लागि एकैखाले थिएन । कोही खतरा देख्नेबित्तिकै भाग्न थाले ।
कोही भाग्न खोज्दै थिए । केही त्यतिबेला आफ्नो काम वा सामानमै अल्झिएका थिए । विश्वराज पनि त्यसमध्ये एक थिए ।
उनीहरूमध्ये अहिले एकजना सञ्जय मात्र बाँच्न सफल भएका छन् । उनले नै पछि ठेकेदारलाई घटना हुँदाको अवस्था बताएका थिए ।
सञ्जयले भनेका थिए, ‘बाढी आएको थाहा पाए पछि विश्वराज मोबाइल लिन जान्छु भन्दै फर्किए । अर्का खाना पकाइरहेका साथी ग्याँस निभाउँदै थिए, एकजना सुतिरहेका थिए, अर्का शौचालयमा थिए । मैले भागौँ भन्दै कराइरहे । अहिले यो बाहेकमसँग भन्ने कुनै खबर छैन ।’
डाँडा चढेर बचेका सञ्जय
ठेकेदार पुरुषोत्तमका अनुसार बाढी आउँदा त्यहाँ रहेका सञ्जय भागेर ज्यान जोगाउन सफल भए । सञ्जय धादिङ गल्छीका हुन् । बाढी आउँदा उनी भाग्दै माथि डाँडा चढे । त्यसपछि डाँडाको अर्को पाटो हुँदै उनी कम्पनीको अर्को क्याम्पसम्म हिँडेर पुगे ।
त्यहाँ उनले नेपाली सेनालाई भेट्टाए । सञ्जय मेसिन चलाउने भएकोले सेनाले उनलाई नजिकैको त्रिशूली ‘थ्री’ ‘ए’ जलविद्युत् आयोजनासँग सम्बन्धित क्षेत्रमा मेसिन चलाउन समेत लगाएको पुरुषोत्तम बताउँछन् ।
‘दुई दिनसम्म मेसिन चलाएछन्,’ उनी भन्छन्, ‘त्यसपछि फेरि ठूलो बाढी आउन सक्ने हल्ला चल्यो । त्यसपछि उनी घरतिर फर्किए ।’
सञ्जयको कुरा सुनेका विश्वराजको परिवारका लागि अहिले एउटा सानो तर बलियो सम्भावना बनेको छ ।
किनकि, बाढी आएपछि सबै मानिस एकै ठाउँमा हराए भन्ने छैन । कोही भागेर जंगल पुगेका हुन सक्छन् । कोही डाँडातिर चढेका हुन सक्छन् । कोही अर्को क्याम्पसम्म पुगेका हुन सक्छन् । कोही उद्धारको प्रतीक्षामा बसेका हुन सक्छन् ।
तर त्यसका लागि कसैले पुग्नुपर्छ । कसैले खोज्नुपर्छ, कसैले हेर्नुपर्छ, परिवारजन यसै भन्छ ।
‘लास नभेटेसम्म आस हामीले पनि मारेका छैनौं’
विश्वराजको खोजीमा परिवारसँगै ठेकेदार पुरुषोत्तम पनि सम्भावित सूचना खोज्दै दौडिरहेका छन् ।
हाल नुवाकोटमै बसिरहेका उनको काम अहिले बेपत्ता भएको परिवारलाई आश्वासन दिनु र आफ्नो कामदार खोज्नु पनि हो ।
फोनमा कुरा गर्दै उनले भने, ‘आस मार्नै हुँदैन नि हामीले त ।’
त्यसपछि उनी केहीबेर रोकिए । र, फेरि भने, ‘कहीँ केही सुनियो भने त्यहाँ पुग्नुपर्छ । त्यहाँ केही सूचना भेटिन्छ, कि ? कहीँ उद्धार गरेको ठाउँमा केही सूचना पाइन्छ, कि ? हामी त लागिराख्या छौँ, दौडिराख्या छौँ । कुनै अपरिचित नम्बरबाट फोन आयो भने पनि राम्रो खबरको आशले उठाउने गरेको छु ।’

कसैले जंगलमा मानिसहरू फसेको भन्यो भने त्यहाँ कोही विश्वराज पनि हुन सक्छन् कि भनेर आफु पनि पुगिरहेको उनले सुनाए ।
‘हामी नलागे को लाग्ने ?,’ पुरुषोत्तम भन्छन्, ‘कसले खोज्ने ? कसले पहल गरिदिने ? त्यही भएर हामी लागि राख्या छौँ ।’
विश्वराजकै छिमेकी रोयल चौधरी पनि बेपत्ता छन् । उनी कार्यरत कम्पनीसँग सम्बन्धित अन्य मानिसहरू पनि बेपत्ता भएका छन् ।
तिमल्सिनाका अनुसार कम्पनीका नौ जनामध्ये एक जनाको शव फेला परिसकेको छ । राजकुमार चौधरी नामका ती व्यक्ति पर्साका थिए ।
उनको शव फेला परेको खबरले बेपत्ता अरू मानिसका परिवारको डर झन् गहिरो बनाएको छ । तर त्यहीबीचमा एउटा अर्को घटना उनीहरूका लागि आशाको सानो आधार पनि बनेको छ ।
‘नोक्सान त फेरि असुल होला’
बाढीले कम्पनीलाई पनि ठूलो नोक्सान पुर्याएको छ । दशैं आउँदै गर्दा आर्थिक क्षतिको हिसाब पनि ठूलो हुन सक्छ । तर ठेकेदार पुरुषोत्तमको चिन्ता अहिले त्यो होइन ।
‘हाम्रो पनि धेरै नोक्सान भयो,’ उनी भन्छन् । तर तुरुन्तै थप्छन्, ‘त्यो नोक्सान त अरू काम गरेर असुल गरौँला । मेसिन फेरि किन्न सकिन्छ । तर गुमाएका परिवारजस्ता साथीहरुको कुरा छ । काम गर्ने मानिस नै नभए ? ती सामानको महत्व हुन्न ।’
उनको भनाइमा व्यवसायीको नोक्सानभन्दा बढी मानिस गुमाउने पीडा छ ।
जंगलमा खोज्दै छन्, विश्वराजका ठूलोबुबा
अहिले ठेकेदारसँगै आकाश पातल गरी विश्वराजलाई खोजेर हिँडिरहेका छन्, उनका ठूलोबुबा रामकृष्ण चौधरी ।
उनी पनि वर्षौंदेखि नुवाकोट क्षेत्रमा काम गर्दै आएका थिए । तर उनीसँगै घरबाट आएको छोरा बेपत्ता भएपछि काम, दैनिकी र घर फर्किने योजना सबै बदलिएको छ ।
अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘म त यही नुवाकोट बजारमै बसेको छु ।’
उनका अनुसार केही दिनअघि मात्र माइलुङतिर विश्वराज गएको थियो । काममा गएको तीन दिन पनि राम्रोसँग बित्न नपाउँदै बाढी आयो । त्यसपछि विश्वराज सम्पर्कविहीन भए ।
रामकृष्णले गाउँबाट, काम गर्ने ठाउँबाट र घटनास्थल आसपासबाट अनेक सूचना सुनेका छन् ।
कतिपयले भन्छन्, माथि जंगलतिर मानिसहरू छन् । कतिपयले भन्छन्, उद्धार हुन बाँकी छ । कतिपयले भन्छन्, डाँडातिर मानिसहरू पुगेका छन् ।
यी सूचना कति सत्य हुन्, उनलाई शतप्रतिशत यकिन छैन । तर छोरा खोजिरहेको उनका लागि यति नै पनि पर्याप्त हुन्छ ।
‘माइलुङभन्दा पछाडि, माथिल्लो जंगलतिर भागेको भन्ने खबर छ, उद्धार हुननसकेर खबर नआएको हुनसक्छ, कतै छन् भन्ने कुरा सुन्ने बित्तिकै आश लाग्छ, छ्टपट्टी पनि हुन्छ । हामीलाई पनि लाग्छ, उनी यतै कतै छन्,’ उनी भन्छन् ।
त्यसैले, उनी भेटिने आशमा घर फर्किन सकेका छैनन् । नुवाकोटमा बसेर हरेक सम्भावित सूचना पछ्याइरहेका छन् ।
रामकृष्ण वर्षौंदेखि यही क्षेत्रमा काम गरिरहेका छन् । उनका छोरा हराएका भनिएको ठाँउको बाटो, जंगल र माइलुङ वरपरका ठाउँ उनी चिन्छन् । अहिले उनलाई छोरा त्यहीँ छ भन्ने आश छ, विना संयन्त्र उनी त्यहाँ पुग्न सम्भव छैन ।
उनको लागि अहिले हरेक बाटो सम्भावित खोजीको बाटो हो । ‘आँखाले भ्याउनेसम्मको जंगलभित्र छोरा हुनसक्छ । उद्धारको खबरमा भाइको नाम हुन सक्छ । हरेक हेलिकप्टरको आवाजले पनि मन झस्किन्छ । कतै त्यहीँबाट कसैलाई उद्धार गरेर ल्याइएको त होइन, भन्ने लागिरहन्छ,’ उनी सुनाउँछन् ।

‘घर जाने दिन आयो, तर कुन मुख लिएर जाऊँ ?’
रामकृष्णको पनि अब घर फर्किने दिन नजिकिएको छ । तर उनलाई यसपटक पहिलेजस्तो घर जाने हतार छैन । बरु, घर फर्किने कुरा सम्झँदा मन झन् भारी हुने उनी बताउँछन् ।
‘अब घर जाने दिन त आयो,’ रामकृष्ण भन्छन्, ‘तर मन नै लाग्दैन । मसँगै आएको छोरा नलिई एक्लै कसरी जानू ।’
उनी घर फर्किएपछि गाउँका मानिसहरू उनलाई घेरेर एउटै प्रश्न सोध्नेछन् भन्ने उनलाई थाहा छ ।
‘विश्वराजको के खबर आयो ?’ अहिले पनि फोनमा परिवार, इस्टमित्र उनीसँग विश्वराजकै बारेमा सोधिरहन्छन् ।
सबैले एउटै कुरा सोध्छन्, ‘केही पत्ता लाग्यो ?’ तर रामकृष्णसँग जवाफ छैन ।
उनी विश्वराजसँगै घर फर्किने कल्पना गरेर आएका थिएनन् । तर सँगै काम गर्न आएका जवान छोरा नफर्किँदा एक्लै गाउँ फर्किनुपर्ने अवस्था आएको छ ।
त्यही कुराले उनलाई सबैभन्दा बढी पोलिरहेको छ ।
‘मसँगै आएको छोरोको खबर छैन,’ उनी भन्छन्, ‘तीन दिन पछि म घर जानुपर्ने छ, अब म कुन मुख लिएर घर जाऊँ ?’
घरमा विश्वराजको परिवार उनको प्रतीक्षामा छ । गाउँका मानिसहरू पनि उनीबाट खबर सुन्न आतुर छन् । सबैलाई लाग्छ, नुवाकोटमा बसेका रामकृष्णले केही न केही खबर लिएर फर्केलान् ।
सायद, विश्वराज कहाँ छन् भन्ने थाहा पाएर आउलान् । सायद विश्वराज जीवितै छन् भन्ने खबर सुनाउलान् ।
तर आजसम्म उनीसँग अहिले त्यस्तो कुनै खबर छैन ।
‘उनीहरू मेरै खबर सुन्न आतुर भएर बसेका छन्,’ रामकृष्ण भन्छन्, ‘म के भनूँ ? के गरूँ ? कसो गरूँ ?’
यी प्रश्नसँग उनी दिन बिताइरहेका छन् ।
चितवनसम्म पुगे, शव हेर्न
विश्वराजको खोजीमा उनका आफन्त चितवनसम्म पुगे । बाढी–पहिरोमा मृत्यु भएका मानिसका शव त्यहाँ ल्याइएको खबर पाएपछि भक्तपुरमा बस्ने विश्वराजकी श्रीमतीका बहिनी आरती चौधरी र ज्वाइँ राजेश चौधरी पनि त्यहाँ पुगेका थिए ।
शव हेर्न जानुको अर्थ उनीहरूलाई थाहा थियो । त्यसैले, त्यो यात्रा कति कठिन थियो भन्ने कुरा उनीहरूको आवाजमै सुनिन्थ्यो ।
‘शव चिन्न लायकको अवस्थामा पनि हुँदैन रहेछ । एकपछि अर्को शव हेर्दा मनमा डर तीव्र सास फुलेर आएको जस्तो हुन्थ्यो । तर शव आफ्नो मान्छेको नहुँदा खुसी पनि लाग्थ्यो, ’आरती सुनाउँछिन् ।
शवगृहबाट फर्किँदा परिवारसँग विश्वराज जीवित रहेको प्रमाण भेटिएन, न त उनीहरुसँग मृत्युको नै ।

अस्पताल पनि चाहारे
चितवनबाट फर्किएपछि पनि खोजी रोकिएन । उनीहरु काठमाडौंका अस्पताल पुगे, जहाँ शव र उद्धार भएका घाइतेहरु ल्याइएका थिए ।
उनीहरु कहिले राष्ट्रिय ट्रमा सेन्टर, कहिले वीर अस्पताल र कहिले शिक्षण अस्पतालको ढोकासम्म पुगिरहेका छन् ।
एउटा ठाउँमा पुग्दा नाम सोध्छन्, टिपाउँछन् । अर्को ठाउँमा फोटो देखाउँछन् । कसैलाई अनुहारको विवरण सुनाउँछन् ।
कसैले ‘यहाँ छैन’ भन्यो भने केही क्षण निराश हुन्छन् । अनलाइनखबरको टोली पुग्दा उनीहरू राष्ट्रिय ट्रमा सेन्टरको गेट अगाडि भेटिए । उनीहरु भन्दै थिए, ‘भिनाजुलाई यो गेटबाट एम्बुलेन्समा हालेर उपचारको लागि ल्याउछन्, कि । हामी कुरेर बसिरहेका छौं अस्पतालको ढोका ढोकामा पुग्यौं । फेसबुकमा हाल्यौं, टुंगो लागेको छैन ।’
उनीहरु शवगृहमा पुग्छन् । त्यहाँबाट फर्किँदा पनि फेरि घाइतेहरूको सूची हेर्छन् ।
उनीहरुले डिएनए परीक्षणका लागि नमुना पनि पठाइसकेका छन् ।
अस्पताल र सरकारले खबर दिए पछि उनीहरु धामीझाक्रीसम्म पुगेको राजेश बताउँछन् ।
राजेश भन्छन्, ‘यत्रो दिन बित्दा पनि खबर आएन । घरमा अहिले त ५ ठाँउ जति धामीझांक्री समेत धाइरहेका छन् । उनीहरुले जिवित छ भनेपछि परिवारको आशा अझै बलियो भएको छ । परिवारले लाशको होइन, सासकै आश गरिरहेको छ ।’
विश्वराजका परिवारको लागि अहिले संसार नै विश्वराज हुन सक्ने सम्भावित ठाउँहरूमा विभाजित भएको छ ।

घर बनाउने तयारी थियो, घर मुलीको खबर छैन
विश्वराजको घरमा तला थप्ने तयारी भइरहेको थियो । सामान मगाइएको थियो, मिस्त्री पनि आउने तयारीमा थिए ।
वर्षौं विदेश र घरबाहिर दुःख गरेर कमाएको पैसाले अब आफ्नो घरलाई अलि राम्रो बनाउने योजना थियो । तर काम सुरु हुनुअघि नै सबै कुरा छाँयामा पर्यो ।
तर घरका मानिसलाई अब घर बनाउन मन छैन । किनकि, त्यो घरमा सबैभन्दा खाँचो पर्खालको होइन, विश्वराजको बनेको छ ।
रामकृष्ण भन्छन्, ‘घर बनाउने छोराको सपना अधुरो रहँदैन । विश्वास छ, फर्किए पछि मात्र त्यो काम सुरु हुन्छ ?’
प्रतिक्रिया 4