News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनको एक वर्षमा अभिनेता दीपकराज गिरीले स्थापित र विस्थापित शक्तिले मिलेर अघि बढ्नुपर्ने, नत्र देश द्वन्द्वतिर जाने बताएका छन्।
- गायक प्रमोद खरेलले वर्तमान सरकारप्रति आशा रहेको बताउँदै जनताले परिवर्तन र राम्रो परिणामको प्रतीक्षा गरिरहेको उल्लेख गरेका छन्।
- अभिनेत्री ऋचा शर्मा र नीति शाहले नयाँ सरकारप्रति विश्वास र सहयोग गर्नुपर्ने बताउँदै बाढीपछिको उद्धार र राहतमा सक्रियता सराहेका छन्।
काठमाडौं । सत्ता उल्टाउने किसिमले जेनजी पुस्ताले गरेको प्रदर्शनको मंगलबार ठीक १ वर्ष पुगेको छ । यसबीच, मुलुक धेरै राजनीतिक घुम्ती र परिवर्तनको साक्षी बन्यो ।
विश्लेषक लामो समयदेखिको भ्रष्टाचार र कुशासनको विस्फोटस्वरुप उक्त आन्दोलन भएको बताउँछन् । आन्दोलनपछिको चुनावमा झन्डै दुई तिहाइ मत ल्याएर रास्वपा सत्तासिन छ भने पुराना दलहरू सत्ताबाहिर छन् ।
अहिले पनि आन्दोलनपछि स्थापित र विस्थापित शक्तिबीच शक्ति संघर्ष चर्किएजस्तो देखिन्छ । जुन उद्देश्यले जेनजी आन्दोलन भयो, त्यसपछि घटनाक्रम कसरी विकसित भयो भन्ने बारेमा जेनजी आन्दोलनको क्रममा धारणा राख्ने र सहभागी केही सेलिब्रेटीसँग हामीले संक्षिप्त कुराकानी गरेका छौं ।
अभिनेता दीपकराज गिरी समसामयिक राजनीतिक घटनाक्रममा धारणा राखिरहेका हुन्छन् । उनी प्रदर्शनको क्रममा पनि सहभागी रहेको भन्दै सामाजिक सञ्जालमा चर्चा हुने गर्छ । उनले खुलेरै एक्यबद्धता समेत जनाएका थिए । यो मेसोमा दीपकलाई हामीले सोध्यौं- जेनजी आन्दोलनपछिको एक वर्षलाई कसरी हेर्नुभएको छ ?
अभिनेता गिरी हरेक ठूला परिवर्तनपछि एजेन्डा संस्थागत हुन केही समय चाहिने बताउँछन् । अहिले पनि आन्दोलनपछि स्थापित र विस्थापित शक्तिबीच शक्ति संघर्ष देखिएको बताउँदै गिरी देश विकासपथमा अघि बढ्ने हो भने यी दुई शक्ति मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउँछन् ।
भन्छन्- ‘यी दुई शक्ति मनोवैज्ञानिक रुपमा संघर्षमा देखिन्छ । देश विकास गर्ने हो भने मिलेर अघि बढ्नुपर्छ । नत्र, द्वन्द्वतिर मुलुक अघि बढ्छ । अब स्थापित र विस्थापित शक्ति सँगै अघि बढ्नुपर्छ ।’ दीपक अहिलेको सरकार र शक्तिसँगको आशा भने जीवितै रहेको बताउँछन् ।’
अहिलेको स्थितीमा स्थापित शक्तिले विस्थापितलाई शक्तिलाई सँगै लिएर हिँड्ने सम्भावना कम देखिएको बताउँदै गिरी जेनजी आन्दोलन किन भएको थियो भन्ने कुरा दुवै पक्षले बुझ्नुपर्ने बताउँछन् । ‘जनताको वितृष्णा हाइ लेभलमा थियो अनि विस्फोट भयो भन्ने कुरा स्थापितले बुझ्नुपर्छ’ भन्छन्, ‘पुरानाले पनि विषयान्तर गर्ने हिसाबले सत्ताको अपहरण गरिएको भन्ने अर्थमा जेनजी मुभमेन्टलाई बुझ्नुभएन ।’
उनले १७ हजारको ज्यान गएपछि पनि प्राप्त गणतन्त्रको उपलब्धि संस्थागत हुन समय लागेको बताए । ‘गणतन्त्र स्थापित हुन एउटा संविधान सभाको चुनावले पनि पुगेन । हामीले अर्को चुनाव गर्नुपर्यो’ उनी भन्छन्, ‘ठूलो आन्दोलनपछि भएको त्यसपछिको घटनाक्रमलाई एकदुईवर्ष सामान्यीकरणको लागि समय लाग्छ । त्यो क्रान्तिबाट आएको मान्छेलाई सिक्नै समय लाग्छ ।’
दीपक जनतामा अभिलाषाको ठूलो चाङ रहेको बताउँछन् । ‘झट्टै जादू हुनेवाला त छैन । समस्या छ’ उनी भन्छन् ।
गायक प्रमोद खरेल अहिलेको सरकारप्रति आफू आशावादी रहेको बताउँछन् । ‘अहिलेको स्थिती हेर्दा एकथरीलाई चित्त नबुझेको र अर्कोथरीलाई राम्रो भन्ने छ । जनताले आशा राखेका छन् । परिवर्तन होस्, देश राम्रो होस् भन्ने लागेको छ, रिजल्टले बताउला । हामी आशावादी छौं’ खरेल भन्छन् ।
अभिनेत्री ऋचा शर्मा जेनजी आन्दोलनको एक वर्षमा आएको नयाँ सरकारले आशावादी बनाएको बताउँछिन् । ‘यो एक वर्षमा भित्रभित्र गुम्सिएको निराशा बाहिर आयो । जेनजीको भावनलााई बुझ्न सरकार आयो । जेनजीलाई मनपर्ने व्यक्ति प्रधानमन्त्री बने’ ऋचा भन्छिन्, ‘तर, म कुनै पनि दलको समर्थक होइन । अहिले पनि सदस्यता पनि लिएकी छैन । म यो देशको नागरिक हुँ ।’
नागरिकको नाताले सरकारलाई यो ठीक र यो बेठिक गरिस् भन्ने पाइएको उनको भनाइ छ । ‘यो सरकारलाई ढुक्कसाथ भन्न पाइयो’ शर्मा भन्छिन्, ‘कतिपय कुरामा शंकाको सुविधा पनि दिनुहुँदैन । अहिलेको लागि सरकारलाई विश्वास गरौं । भोटेकोशी विपत्तिपछि चाइल्ड र हुमन ट्राफिकिङ अनि मानसिक स्वास्थ्यको कुरा पनि आउला, यो सम्भावित चुनौतीलाई सरकारले डिल गर्नुपर्छ । यसकारण अहिले सरकारलाई विश्वास गरौं ।’
यो परिस्थिती बालेन शाह नेतृत्वको सरकारको परीक्षाको घडी पनि भएको शर्मा बताउँछिन् । ‘उहाँहरूसँग लिबर्टी पनि छैन । जुनसुकै सर्तमा उहाँहरूले काम गर्नुपर्छ । आशावादी बनौं र सरकारलाई साथ दिऊँ’ उनी भन्छिन् ।
अभिनेत्री नीति शाहको कुरा पनि उस्तै छ । उनी वर्तमान सरकारसँग सन्तुष्ट सुनिइन् । ‘नयाँ सरकारमा आएको बदलाव राम्रो छ । प्राकृतिक विपत्तिपछिको उद्धार र सहयोगमा सरकारको सक्रियता राम्रो छ’ नीति भन्छिन्, ‘जुन किसिमले पीएम फन्डमा रकम उठेको छ, यो कुराले देश बन्छ भन्ने लाग्छ । यो विश्वासको कुरा हो ।’ नीति स्वयम पनि भोेटेकोशी बाढीको विपत्तिपछि प्रभावितलाई राहत दिने कार्यमा सक्रिय देखिएकी छिन् ।
वर्तमान सरकारको नेतृ युवा भएकाले आफू आशावादी भएको उनी बताउँछिन् । ‘अहिलेको सरकारलाई प्रश्नभन्दा सहयोग गर्नुपर्छ’ पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी नीति भन्छिन् ।
प्रतिक्रिया 4