+
+
Shares
अर्काइभ :

जेनजी विद्रोहका दुई दिन : सडकबाट यसरी भएको थियो सत्तापलट (भिडियो टाइमलाइन)

वर्षौंदेखि शासन चलाइरहेका दल र तीनका नेताहरूलाई एकैपटक सत्ताबाट बढार्ने दुई दिनको आन्दोलन नेपालका राजनीतिक आन्दोलनहरूको इतिहासमै नौलो हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते १४:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ २३ र २४ गते जेनजी युवाहरूको विद्रोह र आन्दोलनपछि ७६ जनाको ज्यान गएको र सयौं घाइते भएका थिए ।
  • बानेश्वरमा सुरु भएको आन्दोलन संसद् भवनतर्फ बढ्दै गोली चलेपछि पहिलो दिन १९ जनाको मृत्यु भएको थियो ।
  • भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, पार्टी कार्यालय र निजी संरचनामा आगजनी तथा तोडफोड भएको थियो ।

शासकीय अव्यवस्था, भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी युवाहरूले २०८२ भदौ २३ गते नेपालमा विद्रोह गरे । नवजवान युवाहरूको यो विद्रोहले नेपालमा मौलाइरहेको नेतातन्त्रको सत्तापलट भएको थियो ।

वर्षौंदेखि शासन चलाइरहेका दल र तीनका नेताहरूलाई एकैपटक सत्ताबाट बढार्ने दुई दिनको आन्दोलन नेपालका राजनीतिक आन्दोलनहरूको इतिहासमै नौलो हो ।

आन्दोलन र सुरक्षाकर्मीगरि ७६ जना निहत्था नागरिकको ज्यान गयो । सयौं नागरिक घाइते भए । राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायापालिका मात्र होइन, राष्ट्रपति कार्यालयका मुख्य भवनहरू पनि जले ।

प्रहरी चौकीहरूमा आगो लागे । प्रहरीका हतियार र बर्दी खोसिए । नेताहरूका घर छानी छानी तोडफोड र आगो लगाइए । नागरिकमाथि दमन गर्ने शासकको आदेशअनुसार सुरक्षाकर्मीहरूले गोलीका बर्षा गराए । सडकमा एम्बुलेन्स जले । आगो लागेका भवन जोगाउन दमकल गुड्न सकेनन् । केही घण्टा राज्यविहीनताको भयभित अवस्था सिर्जना भयो ।

इतिहासमा विरलै देखिने यस्तो घटना कसरी भएको थियो ? अनलाइनखबरका क्यामेराले सबैजसो दृश्य कैद गरेको थियो ।

कुन समयमा के भएको थियो ?

भदौ २३ गते

-बिहान ९ :७ बजे माइतीघरमा जेनजी युवाहरु जम्मा भएका थिए । त्यहाँ भिडभाड बढ्न थाल्यो ।

– १०: ४५ पछि माइतीघरबाट नयाँ बानेश्वरतर्फ जुलुस अघि बढ्यो ।

– ११: १५ बजे इन्द्रेणी कम्प्लेक्स अगाडी राखिएको प्रहरीको ब्यारिकेटमा जुलुस पुग्यो । त्यहाँ प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सी भयो । आन्दोनलकारीले ब्यारिकेट तोडे र बानेश्वर चोकतर्फ अघि बढे ।

– ११: ४५ बज्दा भिड बानेश्वर चोकमा जम्मा भइ संसद् भवनको मुख्यतर्फ गयो र संसद् भवनभित्र छिर्न खोज्यो ।

– १२ बजेसम्म ठूलो भिड बानेश्वर चोकमा जम्मा भयो । संसद् भवनको गेटमा रहेका सुरक्षाकर्मीले अश्रु ग्यास हाने । त्यहीबीचमा केही आन्दोनकारी संसद् भवन गेटको छतमा चढे ।

– १२: ३७ मा प्रहरीले गेटको भवनमाथि रहेकाहरुलाई गोली हान्यो । आन्दोलनकारीको प्रहारमा प्रहरी पनि घाइते भए ।

– २ बजे गोली चल्न थालेपछि बानेश्वर क्षेत्रमा ठूलो भिड जम्मा भयो । संसद् भवन गेट अगाडि एक जनाको मृत्यु भयो । गोली लागेका घाइते लिन आएको एम्बुलेन्समै आगजनी भयो । आन्दोलनकारी प्रहरीका गोली छल्न डिभाइडर र रुखविरुवामा छलिएर बसे ।

– साँझ आन्दोलन केही मत्थर भयो । पहिलो दिन नै १९ जनाको ज्यान गयो ।

भदौ २४ गते

-अघिल्लो दिन १९ जनाको ज्यान गएपछि त्यसको आक्रोश थियो । बिहानैदेखि काठमाडौंका सडकमा ठूलो समूह जम्मा भयो ।

– बिहानदेखि नेताहरुका घर पार्टी कार्यालय आन्दोलनकारीको निशानामा थिए । १२ बजे एमाले पार्टी कार्यलय भवन जल्यो । कांग्रेस, माओवादीका कार्यालय पनि जलाइए ।

– १:८ मा नयाँ बानेश्वरको सडक विभाग जल्यो ।

– १:५३ बजे सिंहरदरबारको मुख्य भेटमा आगजनी र तोडफोड भयो । आन्दोलनकारी भित्र प्रवेश गरे ।

-२:५६ बजे नयाँ बानेश्वर पुग्दा संसद भवन चल्न थालिसकेको थियो ।बबरमहलमा रहेको जिल्ला अदालतमा पनि आगजनी भयो । कागजातहरू जलाइए ।

-यो ३:१० बजेको दृश्य हो । यहाँ सिंहरदरबारको मुख्य भवन, मन्त्रालयहरू सर्बोच्च अदालत, महान्यायाधिवक्ता कार्यालयको भवन पनि जले ।

– ६:३० बजे दमकलहरु कहिँ पुगेनन् । ठूला ऐतिहासिक धरोहरहरु, भाटभेटनी, हिल्टन, एनसेल लगायतका निजी संरचनाहरू पनि रातभर जलिरहे ।

भिडियो : कमल प्रसाईं/अनलाइनखबर

स्क्रिप्ट : दुर्गा खनाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?