News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि जेनजी शहीद दिवसको स्मृति सभामा गृहमन्त्री सुदन गुरुङ, मन्त्रीहरू, सांसद र शहीद परिवार उपस्थित भए।
- त्यस सभामा विवादित पृष्ठभूमि भएका विजय भण्डारी र श्रीनिवास आचार्य पनि मञ्चको अग्रभागमा अतिथि बनेर बसेका थिए।
- गृहमन्त्री गुरुङले कार्यक्रममा विभिन्न पार्टीका नेता र केही पत्रकारलाई 'अझै पनि समय छ, सुध्रिनुस् ।' भने।
२३ भदौ, काठमाडौं । जेनजी शहीद दिवसको अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि स्मृति सभा आयोजना गरियो । गत वर्ष आजकै दिन भएको जेनजी आन्दोलनको ठिक एक वर्षमा भएको स्मृति सभा रास्वपाका नेता, सांसददेखि मन्त्रीहरूसम्म उपस्थित भए ।
गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित भए भने कानुनमन्त्री सोबिता गौतम, मन्त्री महावीर पुन, मन्त्री सुनिल लम्साल, रास्वपा सांसद, पूर्वगृहमन्त्री ओमप्रकाश अर्याल लगायतको उपस्थिति रह्यो । जेनजी शहीदका परिवार तथा आफन्तहरू, जेनजी अगुवाहरूको पनि उपस्थिति रह्यो ।
शहीद परिवारका आफन्तदेखि जेनजी घाइते, मन्त्रीसम्म उपस्थित रहेको यो स्मृतिसभामा दुई जना विवादित पात्रको समेत प्रवेश भयो । उनीहरू त्यहाँ सहभागी हुनमात्रै पुगेका थिएनन्, अतिथिकै रूपमा गृहमन्त्री, भौतिक पूर्वाधार मन्त्रीसँगै मन्चको अग्रभागमा आसनग्रहण गरेका थिए ।
जबकि, अन्य मन्त्रीदेखि सांसद र पूर्वगृहमन्त्री अर्यालसमेत ती दुई विवादित पात्रको पछिल्तिर बसेका थिए । यसरी जेनजी स्मृति सभामा पाहुना बनेर पुगेका दुई विवादित व्यक्ति हुन्, विजय भण्डारी र श्रीनिवास आचार्य ।
आफूलाई धर्मगुरू भन्ने बालयोगेश्वर विजय कृष्णमूर्ति अर्थात् विजय भण्डारी र अर्का श्रीनिवास आचार्यले जेनजी स्मृति सभामा राम्रै मानमनितो र सत्कार पाए । उनीहरूले गृहमन्त्री गुरुङलाई पानसमा बत्ती बाल्ने बेला सहयोगका हातसमेत बढाएका थिए ।
जेनजी स्मृति सभामा अतिथि बनेर पुगेका यी दुवैको विगत भने निकै विवादित छ। दुई वर्षअघि २०८१ साउनमा पशुपतिमा एक महिनासम्म चलेको कोटिहोममा एकल आयोजक थिए भण्डारी । त्यो कोटिहोममा उठेको पैसाको विषयलाई लिएर ठूलो विवाद उठेको थियो ।
रिपोर्टिङ गर्न गएका पत्रकारहरूलाई समेत प्रवेश नदिई आक्रमण गरिएको भन्दै त्यतिबेला खुबै विरोध भएको थियो ।
यसअघि पोखरामा भएको महायज्ञमा पनि ठूलो विवाद भयो । महायज्ञका लागि भन्दै पोखराका सडक तथा ऐतिहासिक चौतारीमा रहेका रुखबिरुवाका हाँगाबिँगा काटेपछि विवादमा तानिएका थिए ।
त्यतिमात्रै होइन, भण्डारीविरुद्ध त थुप्रै मुद्दासमेत चलेका थिए । १५ वर्षदेखि धर्मको आवरणमा सर्वसाधारणलाई ठग्दै आएका विजय भण्डारीले झण्डै एक दशकदेखि ठगी मुद्दा झेलिरहेका थिए । २०८१ कात्तिकमा पीडितहरूको रकम फिर्ता गरेर मिलापत्रमार्फत मुद्दा टुंग्याएपछि पनि उनको ठगीको शृङ्खला रोकिएको छैन ।

भण्डारी विरुद्धको ठगी मुद्दा पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन थियो । ११ कात्तिक, २०८१ मा उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा मिलापत्र भयो । उनले ठगिएकाहरूलाई रकम फिर्ता गर्न तयार भए, अनि पीडितहरूसँग मिलापत्र गर्ने वातावरण बन्यो ।
गुल्मी धुर्कोट स्थायी ठेगाना भएका भण्डारीले काठमाडौंमा मानव कल्याण आध्यात्मिक परोपकार संघ, नेपाल नामक संस्था आवरण गरेर ठगी धन्दा सुरु गरेका थिए ।
मानव कल्याण आध्यात्मिक परोपकार संघ नामक संस्था गठन गरेर धार्मिक कार्यक्रमको आवरणमा अमेरिका पठाइदिन्छु भनी उनले २०६८ सालदेखि नै विभिन्न व्यक्तिसँग रकम उठाएका थिए । कतिपयसँग एक लाख रुपैयाँका दरले बैना मागेका थिए भने कतिपयले १० लाख रुपैयाँसम्म दिएका थिए ।
पीडितहरूको जाहेरीका आधारमा विष्णु भण्डारी, उनकी पत्नी सुलोचना भण्डारी, बाग्लुङका कमलनयन पौडेल भनिने कमल पौडेल लगायतविरुद्ध जाहेरी परेको थियो ।
२०६८ सालदेखि सुरु भएको यो ठगी धन्दा २०७१ सालमा विजय भण्डारी पक्राउ नपर्दासम्म जारी थियो । जाहेरीपछि अनुसन्धानका क्रममा प्रहरीले छाउनी हाउजिङभित्र विजय भण्डारी बस्ने घर नम्बर २१ मा छापा मार्यो । प्रहरीले उनी बस्ने घरबाट रजिस्ट्रर, चेक, चन्दा रसिद लगायतका कागजात बरामद गरेको थियो ।
उनले डाइनामिक डेरिमेरिम इन्भेस्टमेन्ट प्रालिका नाममा कम्पनी खोलेको भेटिएको थियो । प्रहरीले अरविन्द योग मन्दिरको नाममा रसिद प्याड र अरू कागजातलाई पनि ठगीको प्रमाण मानेको थियो ।
काठमाडौं प्रहरीले त्यतिबेला उनलाई पक्राउ गरी एक करोड २७ लाख रुपैयाँ ठगीको आरोपमा मुद्दासहित अदालतमा पेस गरेको थियो । उनले अदालतको बयानमा आफूले रकम लिएको स्वीकार गरे । आफूले लिएको सबै रकम दान भएको उनको जिकिर थियो ।
काठमाडौंमा मुद्दा चलेपछि विष्णु भण्डारीले आफ्नो धन्दा रोकेनन्। उनले चैत २०७५ सालमा गुल्मी दरबार गाउँपालिका–४ वीरबासस्थित रुन्खादह माविको भवन निर्माण गर्ने भनी महायज्ञ सञ्चालन गरेका थिए । करिब ५० लाख रुपैयाँ संकलन भएकोमा विद्यालय व्यवस्थापन समितिलाई थाहै नदिई उनले रकम बोकेर हिँडेका थिए ।
भण्डारीविरुद्ध ठगी बाहेक वैदेशिक रोजगारीको कसुर गरेको आरोपमा अर्को मुद्दा पनि चलेको थियो । उनले धार्मिक कार्यक्रममा सहभागी गराउने भन्दै ३ जनाबाट १२ लाख रुपैयाँ लिएका थिए । पछि रकम फिर्ता गरेनन् । ठगेको आरोपमा उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा चलेको थियो ।

२७ जेठ २०७५ मा वैदेशिक रोजगार न्यायाधीकरणले उनलाई डेढ वर्ष कैद र डेढ वर्ष जरिबानाको फैसला सुनायो । उनी २०६८, २०७१ र २०७६ सालमा गरी पटकपटक थुनामा परेका थिए । उनै विवादित पात्र भण्डारी अहिले जेनजी स्मृति सभामा अतिथि बनेर पुगेका छन् ।
उनीसँगै जेनजी स्मृति सभामा पुगेका अर्का श्रीनिवास आचार्य पनि विवादित पात्र हुन् । कतिसम्म भने, आफैंलाई गोली हान्न लगाएर साम्प्रदायिक हिंसा फैलाउनेसम्मको काम श्रीनिवासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । त्यसपछि उनी पक्राउ परेका थिए ।
यो घटना २०७५ सालको हो । आफैंलाई गोली हान्न लगाएर साम्प्रदायिकता फैलाउन खोजेपछि जिल्ला प्रहरी कार्यालय मोरङले श्रीनिवासलाई पक्राउ गरी मुद्दा चलाएको थियो । त्यतिबेला उनीविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा मुद्दा चलेको थियो ।
त्यतिबेला मोरङका एसपी अरुण बीसी थिए । हिन्दु राष्ट्रको आन्दोलन उछाल्न श्रीनिवासले आफूमाथि गोली हान्न माधव चौधरीलाई लगाएको अनुसन्धानबाट खुलेको थियो । चौधरी र लक्ष्मीराज अधिकारी पक्राउ परेपछि यो रहस्य खुलेको थियो । त्यसपछि श्रीनिवास पक्राउ परेका थिए ।
यो घटनापछि पनि श्रीनिवास पक्राउ पर्ने शृंखला भने रोकिएन । गौहत्या गर्नेलाई हत्या गर्ने भन्दै उनले भाषण दिएका थिए । त्यसपछि २०८० असोजमा उनी सुनसरीमा पक्राउ परेका थिए । त्यतिबेला उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलेको थियो ।
त्यसपछि छुटेका श्रीनिवास २०८० मंसिरमा पनि पक्राउ परे । दुर्गा प्रसाईंको नेतृत्वमा त्यतिबेला गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि श्रीनिवास पक्राउ परेका थिए ।
प्रसाईं नेतृत्वमा भएको आन्दोलनमा आफ्ना समर्थकसहित पुगेका उनले भिडलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका थिए । त्रिशूलसहित पुगेको उनको टोलीले प्रहरीलाई आक्रमण गर्न थालेपछि पक्राउ गरिएको हो ।
गेरुवस्त्रमा त्रिशूलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अवरुद्ध पार्न खोजेपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको थियो । त्यतिबेला पनि उनी छुटेका थिए । पटकपटक विवादमा पर्ने, पक्राउ पर्ने अनि छुट्ने गर्दै आएका उनै दुई विवादास्पद पात्रहरु अहिले जेनजी स्मृति सभामा मानसम्मानसहित मन्चमा आसीन बनेका छन् ।
यही कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले विभिन्न पार्टीका नेता, केही पत्रकारलगायतलाई धम्कीपूर्ण शैलीमा भनेका छन्– ‘अझै पनि समय छ, सुध्रिनुस् ।’
प्रतिक्रिया 4