News Summary
Generated by OK AI. Editorially reviewed.- चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका ६ जनाको उद्धारका लागि पावरहाउसतर्फ पुग्ने प्रयास भइरहेको छ।
- रास्वपा सांसद श्रीराम न्यौपानेले सुरुङभित्र करिब ९० मिटर दूरी पार भएको र बुधबारसम्म पहुँच मार्ग पुर्याउने लक्ष्य रहेको बताए।
- न्यौपानेका अनुसार पावरहाउसको माथिल्लो भागमा २ देखि ८ मिटर खुला सुरक्षित स्थान र आवश्यक खाद्यान्न तथा पानी रहेको छ।
२३ भदौ, काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको उद्धारका लागि करिब २०० मिटर अगाडि रहेको पावरहाउस क्षेत्रमा पुग्ने प्रयास भइरहेको छ । उक्त पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको रहेको छ ।
चिलिमे आयोजना स्थलमा उद्धारका लागि पुगेका रास्वपा सांसद एवं टनेलका जानकार श्रीराम न्यौपानेले सुरुङभित्र करिब ९० मिटरको दूरी पार गरिएको जानकारी गराए । न्यौपानेका अनुसार, पावरहाउसको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया तथा ब्याट्री लगायत आवश्यक खाद्य सामग्री रहेको जानकारी प्राप्त भएको छ ।
‘सुरुङको डिजाइन, संरचना र लेदो मिसिएको पानीको सतहको अवस्थालाई प्राविधिक रूपमा विश्लेषण गर्दा पावरहाउसको माथिल्लो भागमा कम्तिमा २ मिटर र बढीमा ८ मिटर सम्मको खुला सुरक्षित स्थान रहने देखिन्छ,’ न्यौपानेले भने ।
उक्त स्थानमा भान्सा सहित आवश्यक खानेपानी तथा खाद्यान्नको व्यवस्था भएकाले सबै व्यक्तिहरू त्यहाँसम्म पुगेको भए सुरक्षित अवस्थामा रहेको विश्वास गरिएको छ ।
बुधबारसम्म (भोलि) एक्स्काभेटर मार्फत पहुँच मार्ग पुर्याउने लक्ष्य सहित काम भइरहेको र कार्य प्रगति सन्तोषजनक रहेको न्यौपानेले जानकारी गराए ।
सुरुङको डिजाइन, ड्रइङ तथा प्राविधिक पक्षहरूको अध्ययन र विश्लेषणका आधारमा पावरहाउसको माथिल्लो भाग सुरक्षित रहेको न्यौपानेले विश्वास व्यक्त गरे । उनी भन्छन्, ‘यही विश्वासका साथ आज हामी चिलिमे जलविद्युत आयोजनामा सुरक्षित, सफल र जिवित उद्दारको प्रतीक्षामा बसिरहेका छौं ।’
पावर हाउसमा जीवित रहने सम्भावना कति दिनसम्म रहन्छ ?
सुरुङ भित्र थुनिएको अवस्थामा पानी, व्यक्ति सुरक्षित स्थानमा बस्ने अवस्था, शारीरिक गतिविधि कम गरेर ऊर्जा बचत गरिरहेको भए व्यक्ति उद्धार गर्न सकिने न्यौपाने बताउँछन् । शरीरले केही समयसम्म सञ्चित बोसो प्रयोग गरेर बाँच्न सक्ने अवस्था हुने उनी बताउँछन् ।
१४ दिन वा अझ बढी समय बाँच्न सम्भव रहेको बताउँदै न्यौपाने भन्छन्, ‘टनेलमा विश्वमा १७ दिन र ३९ दिन बाँचेका उदाहरण पनि छन् ।’
सुरुङभित्रको हावाको गुणस्तरमा हने न्यौपाने बताउँछन् । अक्सिजनको मात्रा, कार्बन डाइअक्साइडको बढेको मात्र, सहन सकिने तापक्रम लगायतले व्यक्तिको अवस्था निर्धारण हुने न्यौपाने बताउँछन् ।
यो आयोजनाको २२.१ मेगावाट क्षमता छ । १० भदौमा आएको बाढीबाट यस आयोजनाको सुरुङमा ६ जना फसेका छन् ।
प्रतिक्रिया 4