+
+
Shares

बहिनीलाई छाउगोठमा राख्न खोजेपछि एक किशोरमा पलाएको विद्रोह

उनमा छाउगोठ बसेका महिला देख्दा असन्तुष्टि पलाउँदै गएको थियो । जब आफ्नै बहिनीको पालो आयो, अनि भने उनमा भएको त्यो विद्रोह बिष्फोट भयो ।

रामहरि ओझा रामहरि ओझा
२०८३ भदौ २३ गते २१:२३

२३ भदौ, डोटी । बहिनी पहिलो पटक महिनावारी भइन्, परिवार र समाजले सल्लाह गर्‍यो– २२ दिनसम्म गोठमा राख्ने ।

उक्त कुरा डोटीको दिपायल सिलगढी नगरपालिका–८, लडगडाका १८ वर्षीय किशोर टेकेन्द्र कडायतलाई मन परेन । उनले चर्को विरोध गरे ।

‘मलाई त्यो कुरा मन परेन । बहिनीलाई गोठमा होइन, सुरक्षित घरैमा राख्नुपर्छ भनेर आवाज उठाएँ,’ उनी भन्छन्, ‘म कडा रूपमा प्रस्तुत भएपछि गोठमा राख्न दबाब दिने आँट कसैले गरेनन् ।’

टेकेन्द्रले परिवारभित्रै गरेको त्यो विद्रोहले बहिनी ‘छाउपडी’ बारेर गोठमा बस्नुपर्ने बाध्यताबाट बचिन । ‘मलाई आमा र अरू गाउँका महिला पनि गोठमा अहसज भएर बसेको देख्दा अप्ठेरो लाग्थ्यो । झन् सानै उमेरकी बहिनी त्यहाँ एक्लै कसरी बस्नसक्छ भन्ने लाग्यो,’ उनी भन्छन् ।

छाउगोठ घरभन्दा टाढा एकान्तमा हुने, असुरक्षित र सानो हुने भएकाले खुट्टा पनि तान्न नमिल्ने, न बन्द गर्ने झ्याल–ढोका हुने देख्दा आफूलाई साह्रै नराम्रो लाग्ने गरेको उनी बताउँछन् ।

उनमा छाउगोठ बसेका महिला देख्दा असन्तुष्टि पलाउँदै गएको थियो । जब आफ्नै बहिनीको पालो आयो, अनि भने उनमा भएको त्यो विद्रोह बिष्फोट भयो ।

उसो त उनले छाउगोठमा महिलाको मृत्यु भएका समाचार सुन्ने गरेका थिए । त्यसबाट उनको मनमा आफ्नै गाउँघरमा गोठका दृश्य आउँथे । जब गोठमा बसिरहेका महिला देख्थे, तिनै समाचार मनमा घुम्थे । ‘सानै उमेरकी बहिनीलाई एक्लै गोठमा राख्नुपर्ने सुनेपछि म झस्किएको थिएँ । अनि राख्दै नदिने अड्डी कसेँ,’ उनले भने ।

टेकेन्द्र कडायत

बहिनीलाई छाउगोठमा बस्न रोक्ने टेकेन्द्रको आँटलाई गाउँका अरू किशोर–किशोरी र सामाजिक अगुवाहरूले साथ दिए । अरूको पनि साथ पाएपछि उनले आफ्नो बहिनीलाई मात्र नभई अन्य महिलाको पनि छाउगोठको बासबाट मुक्ति दिलाउन छाउगोठ भत्काउने अभियान चलाइरहेका छन् ।

खुसीको क्षण

टेकेन्द्रको बुझाइमा छोरी पहिलो पटक महिनावारी हुनु खुसीको कुरा हो । तर, एक बालिकाका लागि त्यो क्षण मानसिक र शारिरीक रूपमा भने केही असन्तुलन पैदा गर्ने हुनसक्छ । ‘त्यस्तो बेला झन् घरपरिवारको साथ चाहिन्छ । तर, समाजले नै सल्लाह गरेर एक्लै छाउगोठमा राख्ने भनेपछि मैले आफूलाई सम्हाल्न सकेको थिएन,’ उनी सम्झन्छन् ।

जब उनले विद्रोह गरेर बहिनीलाई गोठबाट निकाल्न सफल भए, त्यो क्षण निकै खुसीको रहेको उनी बताउँछन् । ‘त्यो दिन सवैभन्दा खुसी महसुस गरेँ । बहिनी पनि खुसी भएको पाएँ,’ उनी भन्छन् ।

आलोचना र साथ

टेकेन्द्र गाउँका छाउगोठ भत्काउने अभियनतिर लाग्दा गाउँकै बुढापाका र अभिभावक समेतले चर्को आलोचना गरे । उनलाई परम्परा तोड्न लागेको, देवता विरुद्ध लागेको जस्ता आरोपहरू लागे ।

तर, उनले हिम्मत हारेनन् । उनको हिम्मतमा अरूले पनि साथ दिन थालेपछि त्यो अभियानकै रूप लिएर गाउँभरि फैलियो । अचेल लडागडाका गाउँगाउँसम्म छाउगोड भत्काउने अभियान चलिरहेको छ ।

अचेल टेकेन्द्रले थाहा पाएका छन्, त्यो छाउगोठ भत्काउने कामले महिलामाथि हुने विभेदको अन्त्य मात्र नभई महिलामाथि हुने हिंसाजन्य तथा हानिकारक अभ्यास र ज्यानकै जोखिमको खतराबाट जोगाउने काम पनि भएको छ ।

टेकेन्द्रले सुरु गरेको अभियानले छाउगोठ भत्काएपछि महिलाहरू अहिले घरभित्रै बस्न थालेका छन् । तर, बुढापाकाले भनेजस्तो कुनै समस्या भएको छैन । उनलाई अचेल लाग्छ– समस्या छाउगोठमा होइन, सोचमा रहेछ ।

टेकेन्द्रको अभियानलाई हातेमालो गर्न सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमले पनि सघाइरहेको छ । जसमा दिपायल सिलगढी नगरपालिकाको पनि योगदान छ ।

टेकेन्द्रको सहासिक विद्रोहले गाउँमा जकडिएको छाउपडी प्रथा अन्त्य गर्न योगदान पुग्ने विश्वास स्थानीय अधिकारकर्मी रमा भण्डारीको छ ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?