सपना देख्ने उसको टाउको रित्तो छ
त्यो कक्षमा अब
इतिहासको पराजित अहंकार मात्र बाँकी छ
इतिहास उसको अवसरवाद
इतिहास उसको व्यभिचार
वर्तमानमा उसको मुख
अवाञ्छित उन्माद,
कुआकांक्षा
सस्तो प्रतिक्रिया
र आत्ममुग्धताको
नरकमा गाडिएको छ ।
एक दिन दुर्घटना भएको थियो
त्यसपछि ऊ स्वप्नहीन बनेको हो
दुर्घटनामा उसको टाउकोबाट
स्वप्नकक्ष गायब भएको थियो ।
स्वप्नहीन हुनु कुनै मनोरोग होइन
यो एक भ्रष्ट बिलासिता हो ।
सपना देख्न छाडेपछि पनि
ऊ कविता लेख्छ,
उपन्यास लेख्छ,
अखबारमा लेख्छ,
राजनीति गर्छ
विरोध गर्छ,
समर्थन गर्छ
तर सपना देख्दैन
देख्छ–
फगत लुब्ध शुभलाभ
फगत पीत संवाद
फगत वर्ग स्वांग
फगत ओठे भक्ति
सपना देख्न छोडेपछि
ऊ अजिबअजिब चकचक गर्न थालेको छ ।
ऊ निदाउँदैन
पलपल छटपटिरहन्छ
छटपटीमा फेसबुक, टिकटक र एक्सहरू चलाउँछ
जेमिनाइ र एआइको संगत गर्छ
बान्ता बक्छ
उन्माद बक्छ
उपदेश बक्छ
तर उसको छटपटी
जीवनको सपनासित पटक्कै मिल्दैन ।
दिमागमा सपना देख्ने कोठा खाली भएपछि
उसको दिनचर्या बिग्रन थालेको छ
प्रातः भ्रमणमा जान्छ तर प्रकृतिसित उसको कुरा हुँदैन
रुखलाई बुझ्दैन
हरियो घाँसको भाषा बिर्सियो
चराको संगीत बुझ्दैन
पधेंरामा पानी भर्न आइरहेका बालकको बोली बुझ्दैन
धान गोडिरहेका गरिब आइमाइहरूको गीत बुझ्दैन
स्वप्न खोजिरहेका निर्माणज्यामीहरूको संगीत बुझ्दैन
मन्दिरतिर गइरहेका आमाहरूको प्रार्थना बुझ्दैन ।
ती आमाहरू आफ्नो प्रार्थनामा
गैरकानुनी युद्धमा गएका
र हराइरहेका आफ्ना छोराहरूको सम्झनामा
ईश्वरलाई आफ्नो दुःख सुनाइरहेका हुन्छन् ।
ऊ भर्खर पजनीमा परेको हो
बेरोजगार छ
विगतमा दिमागशून्य
अहिले पनि दिमागशून्य
तर पनि
दर्शन खोक्छ
सिद्धान्त कराउँछ
विचार चिच्च्याउँछ
जसमा कुनै सपना छैन
सपना असल हृदयको धड्कन हो भने
सपना इमान र विश्वसनीयताको परिचय हो भने
यस्तो पुष्पलालको के काम ?
जो सपना देख्दैन ।
हो,
अचेल पुष्पलाल सपना देख्दैन ।
…
प्रतिक्रिया 4