News Summary
Generated by OK AI. Editorially reviewed.- मकालु मुभिज प्रालिले ‘द हिमालय भिल्ला’ नामक नयाँ टिभी रियालिटी शो २५ कात्तिकमा प्रसारण हुने जनाएको छ।
- शोमा ५ युवती र ८ युवाले पहिलो ‘भिल्ला क्विन’ र ‘भिल्ला किङ’ बन्न प्रतिस्पर्धा गर्नेछन्।
- २७ भदौदेखि डिजिटल अडिसन सुरु हुने र प्रशान्त ताम्राकार तथा सोफिया भुजेल शोका प्रस्तोता हुनेछन्।
काठमाडौं । प्रेम, सम्बन्ध, प्रतिस्पर्धा, चुनौति र रणनीतिको कथावस्तुले भरिएको नयाँ टिभी रियालिटी शो ‘द हिमालय भिल्ला’ आउने भएको छ । मकालु मुभिज प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको शोमा ५ जना युवती र ८ जना युवाले पहिलो ‘भिल्ला क्विन’ र ‘भिल्ला किङ’ बन्न प्रतिस्पर्धा गर्नेछन् ।
‘जहाँ निर्णय महिलाको हुनेछ’ भन्ने अवधारणामा आधारित शोमा सहभागीले एक-अर्कासँग सम्बन्ध स्थापित गर्ने, मन जित्ने तथा विभिन्न चुनौतीको सामना गर्दै आफ्नो क्षमता प्रस्तुत गर्ने प्रेषित विवरणमा उल्लेख छ । प्रेम र सम्बन्धसँगै प्रतिस्पर्धा, ड्रामा तथा रणनीतिलाई समेत प्राथमिकता दिइने भएकाले शो रोचक बन्ने निर्माण पक्षको दाबी छ ।
शोलाई केवल मनोरञ्जन र प्रतिस्पर्धामा मात्र सीमित नराखिने निर्माताले जनाएका छन् । ‘महिलामाथि हुने कुरीति, विभेद र असमानताविरुद्ध महत्वपूर्ण सन्देश प्रवाह गर्दै महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य समेत शोले बोकेको छ’ विज्ञप्तिमा भनिएको छ ।
शोको मुख्य प्रस्तोताका रूपमा फेसन कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार हुनेछन् । त्यस्तै, ‘मिस युनिभर्स नेपाल २०२२’ विजेता सोफिया भुजेलले सह-प्रस्तोताको भूमिका निर्वाह गर्नेछिन् ।
२७ भदौदेखि डिजिटल अडिसन सुरु हुने निर्माण पक्षले जनाएको छ । अडिसनमार्फत छनोट भएका प्रतिस्पर्धीबीचको यात्रा नै शोको मुख्य कथावस्तु बन्नेछ । शो प्रसारण २५ कात्तिकमा हुने उल्लेख छ । तर, कुन प्रसारण माध्यममा आउन लागेको हो, त्यो खुलाइएको छैन । शो निर्देशन डीआर पाण्डेले गर्नेछन् ।
प्रतिक्रिया 4