२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले महाविपद्का बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर टीकाटिप्पणी र कटाक्ष गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
‘यो महाविपद्को समयमा सर्वस्व गुमाएका स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोकचौतारोमा तुच्छ टीकाटिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिल्यै बन्द गरौं,’ लामिछानेले भने ।
उनले सरकारसँग पनि विपद्मा परेका नागरिकलाई दुर्व्यवहार गर्ने व्यक्तिमाथि कारबाही गर्न आग्रह गरे । ‘सरकारलाई मेरो स्पष्ट आग्रह छ– पीडामा रहेका नागरिकलाई यस्ता दुर्व्यवहार भएका छन् भने हामी निर्मम हुन्छौं भनेर विज्ञप्ति निकाले मात्रै पुग्दैन्,’ उनले भने, ‘राज्य साँच्चै निर्मम छ र पीडितको पक्षमा उभिन्छ भन्ने कुरा नागरिकले महशुस गर्नेगरी देखाउने हो । देखाइदिनुहोला ।’
रास्वपालाई त्यस्ता सदस्य र अन्ध समर्थक पनि नचाहिने उनले बताए । ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई विपद्मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन,’ लामिछानेले भने, ‘हामीलाई त शोक र पीडामा परेका भुइँमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्यहरू चाहिएको छ ।’
पार्टीको कुनै पनि तहको सदस्य, पदाधिकारी जोकोही पनि विपद्मा परेका नागरिकलाई सामाजिक सञ्जालमा तुच्छ तवरले टिप्पणी गर्ने र साइबर बुलिङ गर्ने कार्यमा संलग्न भएको पाइए कारबाही गर्ने उनले बताए ।
प्रतिक्रिया 4