News Summary
Generated by OK AI. Editorially reviewed.- जेन–जी सहिद कल्याणकारी समाजको कार्यक्रममा गृहमन्त्री सुधन गुरुङको शैलीप्रति रास्वपाभित्रै चिन्ता, चासो र प्रश्न उठेको छ।
- विवादित धर्मगुरुहरूलाई मञ्चमा राखेर गुरुङले पत्रकार, विपक्षी र अन्य दललाई दुत्कारेपछि रास्वपा नेताहरू असन्तुष्ट देखिएका छन्।
- जेनजी घाइते पवन खड्कालाई कार्यक्रम परिसरबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएर समर्थकले दुर्व्यवहार गरेको र जेनजी परिवारले विरोध जनाएको छ।
२४ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङको शैलीबाट स्वयं रास्वपा नेताहरू दिक्दार देखिएका छन् । जेन–जी विद्रोह भएको एक वर्ष पुगेको अवसरमा जेन–जी सहिद कल्याणकारी समाजले भदौ २३ (हिजो) राखेको कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री गुरुङ शैलीप्रति रास्वपा चिन्ता, चासो सहित प्रश्न उठाएका छन् ।
विवादित धर्मगुरुहरूलाई मञ्चमा राखेर गृहमन्त्री गुरुङले अन्य दल, पत्रकार लगायतलाई दुत्कारेका थिए । आफ्ना समर्थकहरूको तालीबाट हौसिँदै गृहमन्त्री गुरुङले अरु दललाई राजनीति सिकाउने चुनौती दिए ।
गृहमन्त्री गुरुङको मंगलबारको शैली पार्टीले दिँदै आएको प्रशिक्षण विपरीत थियो । साथै, पार्टी सभापति रवि लामिछानेले बैठक र सार्वजनिक कार्यक्रममा पार्टी नेताहरूलाई अहंकार नदेखाउन गरिएको आग्रहको विपरीत गृहमन्त्री गुरुङको बोली थियो ।
अनुभवी पुस्तालाई सम्मान प्रदान गर्न नसकिएको महशुस भइरहेको सभापति लामिछानेले अन्तर्राष्ट्रिय युवा दिवसका दिनमा बताएका थिए ।
पार्टीदेखि सरकारमा युवा पुस्ताको वर्चश्व रहेको बेला सभापति लामिछानेले पाको उमेर समूहका पुस्तालाई अपहेलित नगर्न पार्टी पङ्तिलाई भनिरहेका हुन्छन् । ‘पाका भएका मानिसहरुलाई सम्भवतः अपमानित पनि गर्यौं । सम्भवतः हामीले अपहेलित पनि गर्यौं । अनुभवी पुस्तालाई हामीले सम्मान दिन सकेनौं कि भनेर म आज महशुस गर्नसक्छु,’ विगतको व्यवहारप्रति आत्माआलोचित हुँदै लामिछानेले अन्तराष्ट्रिय युवा दिवसको कार्यक्रममा भनेका थिए,‘तर अब हामीले कसलाई दोष लगाउने होला ? हामीले कसलाई भन्ने होला ? अपमान र अपहेलित त गर्न पाइँदैन । हामी गर्दैनौं पनि ।’
पुरानो पुस्ताका अनुभव रास्वपालाई आवश्यक रहेको सभापति लामिछानेले भनिरहँदा गृहमन्त्री गुरुङले अरुबाट नसिक्ने उद्घोष गरे ।
राजनीति सिक्दै गरेको नयाँ पुस्ता भएको विगतको आफ्नै बोलीबाट धेरै अघि बढेर गृहमन्त्री गुरुङले अरु दललाई सिकाउने अहंकार व्यक्त गरे ।
‘हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन । तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो । यो युवाहरूको पुस्ताको सरकार हो हामी सेवा गर्न सिकाउँछौँ,’ गृहमन्त्री गुरुङले भने । राजनीतिमा परिपक्व भनिँदै आएको परम्परा र सन्देशलाई भत्काउनकै लागि आफूहरू आएको गुरुङको दाबी छ ।
नीति, संगठन र नेतृत्व कार्यशाला अन्तर्गत केन्द्रीय सदस्यहरूलाई प्रशिक्षित गर्ने क्रममा सभापतिले राखेका दृष्टिकोणहरु पनि गृहमन्त्री गुरुङले मनन गरेनन् ।
विगतलाई देखाउन छोडेर भविष्यको योजना ल्याउन सभापति लामिछानेले आग्रह गरेका थिए । ‘बितेको ३५ वर्षलाई देखाएर उहाँहरूलाई कचकच गर्ने ठाउँमा छैनौं । जति सके गरे, धन्यवाद । अबको ३५ वर्ष कस्तो बनाउने ? यो त हाम्रै हातमा छ नि,’ सभापति लामिछानेले नेताहरूलाई प्रश्न गरेका थिए,‘हिजो हामीले दोष लगाउने कैयौं मानिसहरू थिए । कैयौं नेताहरू थिए । जसलाई दोष लगाउँदा पनि हुन्थ्यो । दोषै दोषको चाङमा आफूलाई अग्लो देखाउन सक्छौं । आज कसलाई दोष देखाउने ?’

गृहमन्त्री गुरुङको हिजोको शैलीले रास्वपा पार्टी पङ्ति तरंगित भएको छ । पदाधिकारी, केन्द्रीय सदस्यहरू गुरुङको व्यवहारबाट असन्तुष्ट देखिएका छन् ।
महामन्त्री विपिन आचार्यले गृहमन्त्री गुरुङको नाम नलिई उनी लक्षित टिप्पणी सामाजिक सञ्जालमा लेखेका छन् । महामन्त्री आचार्य भन्छन्,‘अहङ्कारः विनाशस्य मूलम् । अर्थात्, अहङ्कार नै विनाशको मूल कारण हो ।’
नयाँ बानेश्वरस्थित बीआइसीसी परिसरमा भएको कार्यक्रममा दृश्यहरू बिझाउने खालका थिए । गृहमन्त्री गुरुङ दम्भ सहितको भाषण गरिरहँदा जेनजी आन्दोलनका शहीद परिवार, जेलमा रहेका जेनजी, घाइते, जेनजी परिवारका सदस्य लगायतले सरकारसँग आक्रोशित देखिएका थिए ।
गृहमन्त्री गुरुङले कार्यक्षमता माथि प्रश्न उठाएका जेनजी घाइते पवन खड्कालाई कार्यक्रम परिसरबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । गृहमन्त्री गुरुङका समर्थकले खड्का माथि हातपातको प्रयास गरेका थिए । खड्का माथि गृहमन्त्री गुरुङका समर्थकले दुर्व्यवहार गरेपछि उनी आक्रोशित भएका थिए ।
जेनजी आन्दोलनको पहिलो वार्षिकीमा गृहमन्त्री गुरुङले सरकार र आफ्नो बखान गरेपनि त्यसलाई जेनजीका परिवारले पत्याएनन् । जेलमा रहेका जेनजी, घाइते, अपाङ लगायतले कार्यक्रममै विरोध गरेका थिए ।
जेलमा रहेका परिवारका सदस्य रिहाको माग सहित जेनजीका अभिभावकहरु उक्त कार्यक्रममा पुगेका थिए । एक जेनजी अभिभावकले आक्रोश पोखे,‘हाम्रा बच्चाहरू किन रिहा भएनन् ? उनीहरू आतंककारी होइनन् । जनआन्दोलनका सहभागी थिए ।’
गृहमन्त्री गुरुङको शैली, कार्यक्रम परिसरको परिदृश्य सहित रास्वपा संगठन विभागका प्रमुख प्रमोद न्यौपाने कर्कश र विझाउने भनी टिप्पणी गर्छन् । संगठन विभाग प्रमुख न्यौपाने हिजोको परिदृश्यप्रति भन्छन्,‘श्रव्य– कर्कस । दृश्य– बिझाउने । ‘बदल्छौं’ भन्नेहरू नै बदलिँदै त छैनौं ?’
दलहरूप्रति धम्कीपूर्ण अभिव्यक्ति दिएका गृहमन्त्री गुरुङले पत्रकारलाई समेत चेतावनी दिएका थिए । केही पत्रकारलाई एउटा सुझाव दिन चाहेको बताउँदै गृहमन्त्री गुरुङले भने,‘र, यो ३/४ जना, २/३ जना छन् । तपाईंहरूको पार्टी सहित तपाईंहरू पनि सुध्रिनुस् भन्न चाहन्छु ।’
गृहमन्त्री गुरुङले पत्रकार लक्षित टिप्पणी गरिरहँदा कार्यक्रममा रहेका उनका समर्थकले ‘हो/हो’ भन्दै समर्थन जनाउँछन् ।
पत्रकार लक्षित गृहमन्त्री गृहमन्त्री गुरुङको बोलीप्रति आपत्ति जनाउँदै रास्वपा केन्द्रीय सदस्य एवं सचेतक क्रान्तिशिखा धितालले आफ्नो दलले गरेको प्रतिबद्धता स्मरण गराइन् ।
‘पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको ? हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ,’ धिताल भन्छिन्,‘अहिले हामीमाथि प्रश्न गर्नेहरुलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौं ? त्यो बेलाको सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भनेर सडकमा गएका थियौं हामी । के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौं ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौं ?’
स्रोतका अनुसार उनलाई ह्वाट्सएपको एक ग्रुपमा पनि गृहमन्त्री गुरुङले स्टाटसप्रति आपत्ति जनाउँदै प्रतिप्रश्न गरेका छन् । जहाँ धिताललाई गुरुङले ‘जेनजी आन्दोलनको फल खान आएको’ आरोप लगाउँदै ‘मलाई तमिज सिकाउन पर्दैन’ भनेर रिप्लाई गरेको उक्त ग्रुपमा रहेका एक सदस्यले बताए । ‘क्रान्तिशिखा जेनजी आन्दोलनमा सहभागी एक नेता हुन्, तर सुधनजीले आफ्नै मात्रै जस लिन खोज्नुभयो,’ ती सदस्यले भने, ‘जेनजी शहीद र घाइते परिवारहरुबाट आएका सांसदहरुले पनि यस्तो ज्यादतिविरुद्ध आवाज उठाउनुपर्ने हो । तर गृहमन्त्री सुधनले उनीहरुलाई आफ्नो नजिक राख्नुभएको हामीलाई महसुस भयो ।’
विवादित दुई धर्मगुरू विजय भण्डारी र श्रीनिवास आचार्यलाई मञ्चमै राखेर गृहमन्त्री गुरुङले विपक्षी र पत्रकारसँग खनिएका थिए ।
विवादित भण्डारी र आचार्य सहभागी भएको कार्यक्रमका प्रमुख अतिथि बनेका गृहमन्त्री गुरुङको यतिबेला उनकै दलभित्र पनि आलोचना भइरहेको छ । धर्मगुरु भनिसक्दा मानिसहरुको मनमा श्रद्धाको भावना आउनुपर्नेमा विगतमा पटक पटक हिरासत गइसकेका, सामाजिक भड्काउ अभिव्यक्ति दिइसकेका पात्रलाई धर्मगुरुको नाममा मञ्चमा ससम्मान राखेको विषय सांसदहरुको आक्रोशको केन्द्रमा छ ।
उनीहरुमाथि छानबिन चलाउनुपर्ने पुलिसका आइजीपी दानबहादुर कार्कीलाई उनीहरुको पछाडि राखिएको अनि विवादास्पद विगत भएकाहरुलाई गृहमन्त्रीले पुरस्कृतको हैसियत दिएको विषयमा रास्वपा सांसदहरुले आवाज उठाएका छन् ।
आक्रोशित रास्वपा सांसद अमरेशकुमार सिंह भन्छन्,‘विवादित धर्मगुरुहरुलाई जेन्जी सहिदको मञ्चमा अगाडि राखेर र मन्त्रीहरुलाई पछाडी राखेर सरकारले के भन्न खोजेको छ ? संविधान, समावेशीको धज्जी उडाउने र देशको लागि सहि काम गर्नेहरुलाई पाखा लगाउने यो सरकारले के संदेश दिन खोजेको छ ? आफ्नै निर्णयमा टिक्न नसक्ने अनि विवादै विवादको काम गर्ने सरकारलाई छुट छैन ।’
गृहमन्त्री गुरुङको शैलीलाई लिएर यसअघि पनि पार्टीभित्रैबाट प्रश्न उठेको थियो । गरिमा चौधरीको हत्या प्रकरणमा सहमति पछि उनका बुबा र आमाप्रति गरिएको व्यवहारमा संसदमै प्रश्न उठाइएको थियो ।
३ वर्षीय गरिमाको हत्याको विरोधमा बारा र काठमाडौंमा विरोध प्रदर्शन भएको थियो । गृहमन्त्री गुरुङ उपस्थित भई गरिमाका बुबा–आमालाई गृह मन्त्रालय बोलाएर ७ भदौमा सहमति भएको थियो ।
सहमतिपछि पीडितको जबरजस्ती भिडियो खिचिएको भन्दै गृहमन्त्रीप्रति प्रश्न उठेको थियो । सहमतिको एक दिनपछि (भदौ ८ गतें) महामन्त्री आचार्यले संसदमा उक्त प्रसंग निकाल्दै आपत्ति जनाएका थिए । ‘हामी सबै जनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेका छौं ? जहाँ मृतकको बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ । यस्तो समाज बन्द गरिनुपर्छ ।’
पार्टीभित्रै आक्रोशको शिकार बन्न थालेपछि गृहमन्त्रीले सांसदहरुलाई चेतावनीपूर्ण अभिव्यक्ति दिन थालेका छन् । गृहमन्त्रीको मनपरीले सीमा नाघेको भन्दै सांसदहरुले प्रधानमन्त्री बालेन शाह र पार्टी सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4