News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीले तीन स्वास्थ्य संस्था बगाएपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन सडक अवरोधका कारण चुनौती भएको छ।
- बाढीपीडितमा डर, त्रास, अनिद्रा, एन्जाइटी र मानसिक आघात बढेको चिकित्सकहरूले बताए, र केहीले आत्महत्याको प्रयाससमेत गरेको उल्लेख गरे।
- स्वास्थ्य मन्त्रालयले त्रिशूलीसम्म सडक र त्यसपारि हेलिकोप्टरबाट औषधि तथा स्वास्थ्य सामग्री पठाइरहेको र १२५ जनाभन्दा बढी जनशक्ति परिचालन गरेको जनाएको छ।
२४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक सञ्जालदेखि स्वास्थ्य संस्थासम्म क्षतविक्षत बनाएपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन चुनौती भएको छ ।
बाढीले तीन वटा स्वास्थ्य संस्था नै बगाएको छ । सडक भत्किएका कारण सबै ठाउँमा सहज आवतजावत हुन सकेको छैन । घरसँगै औषधि बगाएको र दीर्घरोगीले नियमित सेवन गर्ने औषधिको पुर्जासमेत गुमाएका छन् ।
मिर्गौला, क्यान्सरलगायत नसर्ने रोगका बिरामीलाई नियमित उपचार र औषधि निरन्तर दिनुपर्ने हुन्छ ।
त्यसमाथि बाढीमा आफ्नै आँखाअगाडि आफन्त गुमाएका नागरिक मानसिक आघातमा छन् । कतिपयमा त्रास, बेचैनी र मनोसामाजिक समस्या देखिन थालेको छ । बाढीपछि छालासम्बन्धी समस्या तथा सरुवा रोगको जोखिमसमेत बढेको छ ।
बाढी प्रभावित क्षेत्रमा भौतिक क्षतिसँगै मानसिक स्वास्थ्य समस्या पनि गम्भीर बन्दै गएको चिकित्सकहरूले बताएका छन् । राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. दीपेन्द्र पाण्डेका अनुसार प्रभावित क्षेत्रमा डर, त्रास, एन्जाइटी, अनिद्रा र भविष्यप्रतिको चिन्ताले धेरै मानिसलाई सताइरहेको छ ।
बाढी प्रभावित क्षेत्रमा हेल्थ क्याम्पमा स्वास्थ्य सेवा दिएर फर्किएका डा. पाण्डेले मानसिक स्वास्थ्य समस्या पर्याप्त रूपमा बाहिर नआएको बताए । उनका अनुसार अधिकांश पीडितलाई मनोपरामर्श दिन आवश्यक छ ।
‘कसैको परिवारका सबै सदस्य गुमेका छन्, कसैका श्रीमती वा श्रीमान् गुमेका छन् । अब म मात्रै किन बाँच्ने भन्ने खालको अवस्था देखिएको छ,’ उनले भने, ‘केही ठाउँमा दुई–तीन जनाले आत्महत्याको प्रयाससमेत गरेको मैले पाएँ ।’
उनका अनुसार अहिले धेरै प्रभावितमा अत्यधिक डर, एन्जाइटी, निद्रा नलाग्ने, मुटु ढुकढुक हुने, शरीर काँप्ने र भोलि के हुने हो भन्ने ? चिन्ता देखिएको छ ।

‘अहिले मानिसहरू भोलि के होला, कसो होला भनेर एकदमै आत्तिएका छन् । निद्रा नलाग्ने, डर लाग्ने, मुटु ढुकढुक हुने जस्ता समस्या देखिएका छन्,’ डा. पाण्डेले भने ।
नियमित मानसिक स्वास्थ्यको औषधि सेवन गरिरहेका बिरामीको औषधि पनि बगाएको छ । तर अन्य दीर्घरोगका औषधि माग्न सहज भए पनि मानसिक स्वास्थ्यसम्बन्धी औषधि माग्न प्रभावितहरू हिच्किचाउने गरेको डा. पाण्डेको अनुभव छ।
‘दमको औषधि बग्यो भनेर बिरामीले सबैको अगाडि भन्न सक्छन् । तर मानसिक रोगको औषधि खाइरहेको छु भनेर सबैको अगाडि भन्न सक्दैनन्,’ उनले भने, ‘एक्लै भेट्दा आएर खुसुक्क आफ्नो समस्या सुनाउँछन् ।’
मानसिक स्वास्थ्यसम्बन्धी केही औषधि चिकित्सकीय निगरानी र अभिलेखबिना शिविरमा वितरण गर्न नमिल्ने भएकाले तत्काल औषधि उपलब्ध गराउन पनि चुनौती रहेको उनले बताए । त्यसैले अहिलेको अवस्थामा औषधिभन्दा पनि मनोसामाजिक परामर्श र निरन्तर फलोअप बढी आवश्यक रहेको उनको भनाइ छ ।
डा. पाण्डेका अनुसार बाढी प्रभावितलाई एक पटक स्वास्थ्य शिविर सञ्चालन गरेर मात्रै मानसिक स्वास्थ्य सेवा दिन सम्भव छैन । विपद्पछि देखिने मानसिक समस्यालाई दीर्घकालीन रूपमा सम्बोधन गर्न कम्तीमा ६ महिनादेखि एक वर्षसम्म निरन्तर मनोसामाजिक सहयोग र फलोअप आवश्यक हुन्छ ।
‘आज हेल्थ क्याम्प लगेर काउन्सिलिङ गर्ने र औषधि दिने भनेर मात्रै मानसिक स्वास्थ्य समस्या समाधान हुँदैन,’ उनले भने, ‘मानसिक परामर्श निरन्तर समय दिएर गर्नुपर्छ । कम्तीमा ६ महिना वा एक वर्षसम्म फलोअप आवश्यक हुन्छ ।’
उनले अहिले प्रभावित क्षेत्रमा गरिने मनोसामाजिक सहयोगलाई मानसिक स्वास्थ्यको ‘फर्स्ट एड’का रूपमा लिनुपर्ने बताए । त्यसपछि आवश्यकता पहिचान गरी मनोचिकित्सक तथा मानसिक स्वास्थ्य विशेषज्ञको सेवा समुदायमै पुर्याउनुपर्ने डा. पाण्डेको सुझाव छ ।
स्वास्थ्य मन्त्रालय भन्छ– चिकित्सक र औषधि पठाइरहेका छौं
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीका अनुसार सडक अवरुद्ध भए पनि प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति रोकिएको छैन ।
‘नियमित कार्यक्रमका औषधि तथा औषधिजन्य सामग्री पठाइरहेका छौं,’ अधिकारीले भने, ‘त्रिशूलीसम्म सडकबाट र त्यसपारि हेलिकोप्टरमार्फत सामग्री पठाइएको छ । नुवाकोट र रसुवाका विभिन्न पालिकामा पनि हेलिकोप्टरमार्फत औषधि पठाइएको छ । जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थामा पनि सामग्री पुर्याइएको छ ।’
उनका अनुसार सडक केही ठाउँमा अस्थायी रूपमा खुल्न थालेका छन् । मुख्य सडकसमेत चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ । अहिले औषधि आपूर्तिमा ठूलो समस्या नरहेको मन्त्रालयको दाबी छ ।
‘अहिलेसम्म औषधि सप्लाइमा केही समस्या छैन । नसर्ने रोगका नियमित सेवाका औषधिहरू पनि पुगेका छन्,’ अधिकारीले भने ।
तर, चनौती बाढीपछि औषधि पुर्याउनेमा मात्रै सीमित छैन । प्रभावित क्षेत्रमा सरुवा रोगको जोखिमसँगै दीर्घरोगीको नियमित उपचार, मानसिक स्वास्थ्य र आधारभूत सरसफाइ व्यवस्थापनसमेत उत्तिकै महत्वपूर्ण बनेको छ ।

मन्त्रालयले त्यसका लागि विभिन्न प्रकारका स्वास्थ्य टोली परिचालन गरेको जनाएको छ । सरुवा तथा नसर्ने रोगको उपचार, मनोसामाजिक परामर्शलगायतका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ ।
मनोसामाजिक सहयोगका लागि मात्रै १२५ जना स्वास्थ्यकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको अधिकारीले बताए । विभिन्न चरणमा २५० भन्दा बढी स्वास्थ्यकर्मी मेडिकल टोलीमार्फत प्रभावित क्षेत्रमा पुगिसकेको मन्त्रालयको दाबी छ ।
बाढीपछि स्थापना गरिएका होल्डिङ सेन्टरमा पनि आवश्यकताअनुसार स्वास्थ्यकर्मीको टोली खटाइएको छ । केही टोलीलाई नियमित रूपमा परिवर्तन गर्दै नयाँ जनशक्ति पठाइएको छ ।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रका स्वास्थ्य संस्थाहरू पनि क्रमशः नियमित सेवा सञ्चालनतर्फ फर्किन थालेका छन् । स्वास्थ्य सामग्रीसमेत आवश्यकताअनुसार पुर्याउने व्यवस्था गरिएको छ।
तर, बाढीपछि फैलिन सक्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथामलाई प्राथमिकता दिनुपर्ने अवस्था छ । प्रभावित नागरिकको बसोबास, खानेपानी, शौचालय, सरसफाइ र खाद्यान्नको व्यवस्थापन कमजोर भए छालासम्बन्धी समस्या मात्रै होइन, पानीजन्य तथा खाद्यजन्य रोग र अन्य सरुवा रोग फैलिने जोखिम हुन्छ ।
मन्त्रालयले प्रभावित क्षेत्रमा रोगको जोखिम कम गर्ने, सम्भावित संक्रमणको चाँडो पहिचान गर्ने र संक्रमण देखिए तत्काल उपचार गर्ने संयन्त्र परिचालन गरेको जनाएको छ ।
प्रतिक्रिया 4