News Summary
Generated by OK AI. Editorially reviewed.- लेखले विकासलाई कार, घर, इन्टरनेट र स्मार्टफोनसँग जोड्ने सोचमाथि प्रश्न उठाउँदै प्रकृति र खेतीपाती जोगाउने चेत आवश्यक रहेको बताएको छ।
- लेखकले खेतीपाती गरेर टेस्ला चढ्ने सपना मृगतृष्णा भएको भन्दै किसानलाई शिक्षा, स्वास्थ्य र वृद्धावस्थाको सामाजिक सुरक्षा दिनुपर्ने उल्लेख गरेका छन्।
- लेखले जलवायु सङ्कट, माटोको क्षय र खाद्य सुरक्षाका लागि प्रकृतिसँगको सहकार्य र रैथाने ज्ञानको पुनर्जागरण अनिवार्य भएको निष्कर्ष निकालेको छ。
राम्रो जागिर वा राम्रो आम्दानी हुने काम, सुविधासम्पन्न कार, अग्लो घर, ठूलाठूला कलकारखाना, छिटो इन्टरनेट र नयाँ स्मार्टफोन- शायद अहिले विकासका मानक यिनै हुन्। यिनै विकास घरघर र ढोकाढोकामा भित्र्याउन सबै आतुर छन्। तर के यो साँचो अर्थमा विकास हो ? के यो विकास सबैले पाउन सम्भव छ ? आठ अर्ब मानिसका लागि यो विकास हो भने यी सब यो पृथ्वीमा अट्छन् ? मानौं अट्छन् रे, तर यी सब कसको र कस्तो मूल्यमा सम्भव होला ? हामी अरू जस्तै विकसित हुने अपेक्षा कतै मृगतृष्णा त होइन ? केही गरी यस्तो विकास भयो भने यो हाम्रो ढोकामा आइपुग्दा भविष्यका पुस्ताका लागि बाँकी के रहला ?
हाम्रा लागि विकासको प्रश्न झन् पेचिलो छ। हामी विकसित हुन छट्पटाइरहेका छौं, तर विकसित हुने हाम्रा अपेक्षाहरू असीमित छन्। अरूले गरेको भौतिक विकासको चमकधमक देखेका छौं, तर यो कसरी भयो र यो बाटोबाट हामी विकसित हुन सक्छौं त ? यो अर्थमा हामीलाई दुईवटा दबाब छ।
पहिलो : छिटो विकास गर्नुपर्छ। विकासले नै परिभाषित गरेको गरिबी हटाउनुपर्नेछ र युवालाई रोजगारी दिनुपर्नेछ। त्यसैले हामी ठूला कलकारखाना, ठूला बाँध, ठूला सडक र ठूला शहरप्रति अभिशप्त छौं। तर यसो गर्न हामीलाई हाम्रो भूगोल, अर्थतन्त्रको जग र स्रोतको प्रचुरताले पुग्दैन।
दोस्रो : निरन्तर दोहनमा परेर क्षत–विक्षत भएको प्रकृति जोगाउनुपर्नेछ। हिमाल, नदी र जैविक विविधता हाम्रा पहिचान हुन्। विश्वले हामीलाई ‘प्रकृतिको देश’ भनेर चिन्छ। यो जोगाएर अरूका सामु ‘अविकसित’ भइरहन हामीलाई मन छैन। तर जलवायु सङ्कट हिमताल र नदीको बाटो हुँदै हाम्रा बस्ती र खेतबारीमा आइपुगेको छ। यो यात्रा रोकिने छाँटकाँट छैन।
हामीले अहिले गरिरहेको हरित ग्यास उत्सर्जनले ल्याउने बाढी, खडेरी र हिमताल फुट्ने जस्ता कुराको भयावह असर त अहिले कल्पनाभन्दा बाहिर छ। त्यो हाम्रा नातिनातिनाले अझ धेरै भोग्नेछन्। अघिल्ला पुस्ताले बिगारेको हावा, पानी, माटो र विषाक्त खानाको मूल्य अहिले हामीले नसर्ने रोगको सामना गरेर तिरिरहेका छौं। हामीले प्रयोग गरेको रसायन विष, प्लास्टिक र हर्मोनको हिसाब हामी आफैं र हाम्रा सन्ततिले बुझाउनुपर्नेछ।
अहिलेसम्म गरिएको विकासले पहिरो गयो, नदीमा अति उत्खनन भयो, भूजलधार घट्दै गयो अनि काठमाडौं उपत्यका र अन्य मलिला फाँटहरू कङ्क्रिटको जङ्गल बने। अझै यस्तै विकास थोपरे हाम्रो हालत के होला ? विगत आठ दशकदेखि कहिले एशियाली मापदण्ड, कहिले स्विट्जरल्यान्ड त कहिले सिङ्गापुर बनाउने लहड बेच्यौं। तर हामीले यो सब किन गर्न सकेनौं ?
एकअर्कालाई धारेहात लगायौं, तर यस्तो विकास किन हुन सक्दैन भनेर कहिल्यै विचार गरेनौं। यदि विकासले हाम्रा पानीका मुहान सुकाउँछ, माटो बगाउँछ र हाम्रो जीवन नै बर्बाद पार्छ भने हामीले खोजेको त्यो कस्तो विकास हो ? भावी सन्ततिलाई यसको जवाफ दिनुपर्नेछ।
एउटा गाउँमा एक जना कृषि प्राविधिक किसानलाई आधुनिक खेतीपाती गर्न उत्प्रेरित गर्दैथिए। उनले ‘कृषि विकासले किसानको जीवन कायापलट भइहाल्छ’ भनेर लामो कुरा गर्दा पनि ती किसान सहमत भएनन्। उनले सहमतिको मुन्टो हल्लाउने छाँट नदेखेपछि, किसानको सम्भावित आम्दानीको फेहरिस्त पेश गर्दै भने, ‘तपाईंले राम्रोसँग खेती गर्नुभयो भने वर्षको १० लाख सजिलै कमाउन सक्नुहुन्छ।’
यो कुरा सुनेर किसानलाई झोंक चल्यो। उनले प्राविधिकलाई सोधे, ‘सर, तपाईंको तलब वर्षमा कति हुन्छ ?’
प्राविधिकले अक्मकाउँदै भने, ‘त्यस्तै ५ लाख जति होला।’
किसानले थपे, ‘त्यसो भए त खेती गरेर दोब्बर नै फाइदा हुने रहेछ, आफैं खेती गर्नुहोस् न त सर !’
यो कुनै काल्पनिक कथा होइन, यो नेपाली समाजको यथार्थ व्यथा हो। यहाँ खेतीपाती गर्न अर्ती दिने धेरै छन्, तर आफैं गर्ने आँट कोही गर्दैनन्।
यस्तो विकासे सोच अहिले एलन मस्कको ‘टेस्ला’ हुँदै कृषिकर्ममा प्रवेश गर्न आतुर छ। विकासे संसारमा, संसारकै धनी व्यक्तिको सूचीमा रहेका एलन मस्कको कम्पनी ‘टेस्ला’ ले बनाएका स्वचालित कारहरू विश्व बजारमा चर्चित छन्। यो कार चढ्ने धङधङी बोक्नेहरूको काठमाडौंमा पनि कुनै कमी छैन।
वैश्य युगको यो चमकधमकले कार चढ्ने धेरैलाई टेस्लातर्फ आकर्षित पनि गर्ला। हुनेखानेका लागि यो स्वाभाविक लाग्न सक्छ। तर, किसानले टेस्ला चढ्ने कुरा कति स्वाभाविक होला ? एआई र अल्गोरिदमको लतमा फसेका तथा आजै पैसा कमाएर सबै रहर पूरा गर्न कम्मर कसेका जमातलाई भने यो कुरा सामान्य लाग्छ होला। सपना न हो, यो देख्नेलाई त योभन्दा अर्को बाटो नै छैन जस्तो लाग्नु स्वाभाविकै हो। तर यस्तो मनको लड्डु बाँड्नेहरूको कुनै कमी छैन।
किसान उत्पादनका स्रोत–साधनको सहज उपलब्धता, बजारमा पहुँच र सरल प्रविधिको खोजमा छन्। उनीहरू रात–दिनको पसिनाले घामपानी नभनी गर्जो नटरेर चिन्तित छन्। भविष्यका सन्तति र आफ्नै भविष्यको जोखिमबाट बच्न सामाजिक सुरक्षाको खोजमा छन्।
विडम्बना, खेतीपाती नगर्ने टाठाबाठा सबै देशको कृषि कमजोर भएको चिन्ता र चासो देखाउँदै आफ्नै दुनो सोझ्याउने दाउमा किसानलाई टेस्लाको सपना देखाउन व्यस्त छन्। यसले के देखाउँछ भने यस्तो सोच राख्नेहरू खेतीपातीको मर्म र अन्तर्य बुझ्ने धरातल नै राख्दैनन्।
खेतीपाती घाँसपराल नखाने र बच्चा पनि नजन्माउने यान्त्रिकीकरणको बाटो होइन। यो सामाजिक उद्यम र जीवन अस्तित्वको आधार हो। यो विशुद्ध पैसा फलाउने एलन मस्कको जस्तो औद्योगिक व्यापार होइन; यो सूत्रले खेतीपाती कहिल्यै सप्रँदैन।
वास्तविक किसानको टेस्ला चढ्ने रहर समेत हुँदैन र यो रहर हुनेले वास्तविक खेतीपाती गर्दैन। किसान त प्रकृतिमा रमाउने सामाजिक उद्यमी हुन्। तिनको ठाउँ ‘टेस्ला कृषक’ ले लिन सक्दैनन्।
यसको भेद राम्ररी नपाएकाले खेतीपाती गरेर टेस्ला चढ्ने सपना पत्याउनु स्वाभाविक होला, तर खेतीपाती गरेर टेस्ला चढ्ने सपना बाँड्नेहरू भने यस्तै भ्रमपूर्ण सपना बाँडेकै भरमा टेस्ला चढिरहेका छन्। यसमा अरू केही बिचौलिया र ‘कृषि उद्योगीहरू’ थपिनेछन्। यी केही अहिले नै टेस्ला चढ्छन्, अरू केहीको टेस्ला चढ्ने सपना पूरा हुने नै छ। अझ विडम्बना त के छ भने, आफ्नो जमिन बाँझो छाडेर शहर पसेको बेरोजगारले अर्को बेरोजगारलाई खेती गरेर कार चढ्ने सपना बेचिरहेको छ।
के टेस्ला कार वा बजारिया चमकधमक नै कृषिकर्म गर्ने किसानको अन्तिम लक्ष्य हो त ? कदापि होइन। यो त खेतीपाती नगर्नेको ‘सोम शर्माको सातु’ चिन्तन हो। झापाका उर्वर धानखेतदेखि मनाङ–मुस्ताङका स्याउबारीसम्म, अनि काभ्रे र धादिङका गोठबारीसम्म आज श्रम गर्ने निकै कम भेटिन्छन्। आफ्ना पुर्खाको थातथलो र मलिलो माटो बाँझो छाडेर श्रम बजार (खाडी वा शहर) मा आइपुगेका युवाहरू यस्तै सस्तो लोकप्रियता र बजारिया सपनाका शिकार भएका छन्।
यदि कृषिमा साँच्चै यस्तो रातारात कार चढ्ने सम्भावना हुन्थ्यो भने कृषिका प्रचारकहरू आफैं खेतमा कुटो–कोदाली र पसिना बगाइरहेका भेटिन्थे। केवल भाषण र युट्युब भिडियोमा नाफाको खेती गरिरहेका हुने थिएनन्।
तर विगत आठ दशकदेखि आधुनिक हुने भन्दै बाह्य चेतको फन्दामा परेर दुर्व्यसनी भएको हाम्रो खेती–चेत अझै फर्किने छाँटकाँट छैन। त्यसैले त अहिले पनि ‘टेस्ला कृषक’ कसरी बनाउने भन्नेमै सबै तल्लीन छन्। उनीहरू सबैलाई खेतीपाती गरेर टेस्ला चढ्न कसरी सकिन्छ भन्ने हिसाबकिताब गर्न भ्याइ–नभ्याइ छ।
उनीहरूको नजरमा किसानलाई २ करोडको सहुलियत ऋण, कृषिको यान्त्रिकीकरण, मल कारखाना, अर्गानिक निर्यात- यी सब टेस्ला चढ्न सक्ने किसान बनाउने सपनाका साधन हुन्।
यसरी हेर्दा, टेस्ला चढ्ने आडम्बर खन्चुवा चेतको सहउत्पादन हो। यस्तो चेतले खेतीपातीको प्राकृतिक लय समात्दैन। धैर्यका साथ गर्नुपर्ने खेतीकर्म र टेस्ला चढ्ने अधीर मानसिकता बीच कुनै साइनो हुँदैन। प्रकृतिका सीमा हुन्छन् र यसको आफ्नै सुस्त तथा स्वाभाविक लय हुन्छ।
छिटो, धेरै र सस्तोको प्रतिस्पर्धात्मक दौडले थाकेको मानिसले देखेको टेस्ला सपना मृगतृष्णा हो। घाँस नखाने र बच्चा नजन्माउने टेस्ला यन्त्र मात्र होइन, यान्त्रिकीकरणको सोच भित्र्याउने वाहक पनि हो। हामीलाई टेस्ला बनाउने कारखाना जस्तो यान्त्रिक खेतबारी होइन, जीवनले भरिएको समृद्ध खेतबारी बनाउने चेत चाहिएको छ।
अर्को कुरा, खाना विना जीवन सम्भव छैन। यो थाहा नपाएको कोही छैन, तर यो बुझेर व्यवहार गर्ने विरलै छन् भन्दा अतिशयोक्ति हुँदैन। किनकि आफूले साँझ–बिहान खाने खाना कस्तो खाँदैछु भन्ने हेक्का नभएको जमातलाई, यो उत्पादन गर्ने माटो र बोटबिरुवाले के खाँदैछन् भन्ने पत्तो हुने कुरै भएन। यो खानाको बन्दोबस्त गर्ने बहुसङ्ख्यक किसानको दैनिक गुजारा कसरी चलिरहेको छ भनेर हेक्का हुने त झन् कुरै आएन।
अन्त्यमा, अहिलेका सबै नीति, योजना र कार्यक्रम खेतीपातीको गलत बाटो फेर्नेभन्दा किसानको सपनाको टेस्ला गुडाउने बाटो फराकिलो बनाउनै उद्यत छन्। खाना उत्पादन गर्न प्रकृतिसँगको सहकार्य, माटोको पुनरुत्थान र रैथाने ज्ञानको पुनर्जागरण गर्न अनिवार्य छ भन्ने चेत नफर्किएसम्म केही थान ‘टेस्ला कृषक’ उम्रिएलान्, फल्लान्, फुल्लान्; तर हाम्रो खेतीपाती उन्नत भएर खाद्य सुरक्षा हुँदैन।
यदि हामीले पृथ्वी र खेतीपाती जोगाउने हो भने खेतीपाती र यो कर्म गर्ने सामाजिक उद्यमी किसानको परिभाषा नै फेर्नुपर्छ। किसानलाई शिक्षा, स्वास्थ्य र वृद्धावस्थाको सामाजिक सुरक्षा दिन सके मात्र भविष्यका किसानलाई खेतीपातीमा टिकाउन सकिन्छ। खेतीपाती भनेको प्रकृतिको पुनरुत्पादन चक्रसँग जोडिने जीवनपद्धति हो। के यो कटु सत्यमाथि प्रश्न उठाउन ढिला भएन र ?
प्रतिक्रिया 4