+
+
Shares

प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : राष्ट्रसंघ जानुअघि सर्वदलीय परामर्श गर्नुहोस्

नेपाली कांग्रेसले संयुक्त राष्ट्रसंघ जानुअघि सर्वदलीय राष्ट्रिय परामर्श लिन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २५ गते १५:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले संयुक्त राष्ट्रसंघ जानुअघि जलवायु न्याय र राष्ट्रिय विपद् सहनशीलताबारे सर्वदलीय राष्ट्रिय परामर्श गर्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेको छ।
  • राष्ट्रिय सभामा सांसद रन्जित कर्णले सत्ता, विपक्ष, विज्ञ र प्रभावित क्षेत्रका नागरिकको साझा राष्ट्रिय धारणा बनाएर महासभामा जान सुझाव दिएका छन्।
  • संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री शाहको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल २४ सेप्टेम्बरमा सम्बोधन गर्न जानेछ।

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संयुक्त राष्ट्रसंघ जानुअघि सर्वदलीय राष्ट्रिय परामर्श लिन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेको छ। बिहीबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै सांसद रन्जित कर्णले यस्तो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई आग्रह छ, संयुक्त राष्ट्रसंघ जानुअघि जलवायु न्याय र राष्ट्रिय विपद् सहनशीलताका विषयमा सर्वदलीय राष्ट्रिय परामर्श गर्नुहोस् ।’

संयुक्त राष्ट्र संघ महासभामा प्रधानमन्त्री बालेन्द्र बालेन शाहको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुँदैछ। प्रतिनिधिमण्डलमा प्रधानमन्त्री शाह, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन लगायत रहनेछन् ।

टोलीमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्र संघ महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, शिष्टाचार महापाल कुमारराज खरेल, मन्त्रालयका दुई उपसचिव र एक शाखा अधिकृत छन् ।

प्रधानमन्त्री कार्यालयका प्रमुख सल्लाहकार बेनका अतिरिक्त प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार तथा प्रधानमन्त्रीको मिडिया टिममा रहेका एक स्वकीय उपसचिव पनि जाँदै छन् ।

प्रधानमन्त्रीको सुरक्षा टोलीमा रहेका नेपाली सेनाका दुई सैनिक अधिकारी तथा एक जना नेपाल प्रहरीका अधिकृत पनि भ्रमण टोलीमा सहभागी हुँदैछन् ।

परराष्ट्रमन्त्री खनाल, सचिव राई तथा महाशाखा प्रमुख राईसहित टोली २० सेप्टेम्बरमा न्युयोर्क प्रस्थान गर्ने छ । परराष्ट्रमन्त्री खनाल महासभामा हुने विभिन्न साइडलाइन मिटिङमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाह भने २२ सेप्टेम्बरमा नेपालबाट प्रस्थान गर्नेछन् भने उनले २४ सेप्टेम्बरमा महासभामा सम्बोधन गर्ने छन् । २४ सेप्टेम्बरका दिन दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म अवधिमा प्रधानमन्त्री शाहले राष्ट्र संघको महासभालई सम्बोधन गर्नेछन् ।

सोही दिन महासभालाई संसारका २४ राज्य प्रमुख÷सरकार प्रमुख वा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने र प्रधानमन्त्री शाहको पालो १७औं नम्बरमा रहेको छ । त्यसो हुँदा महासभामा उनले सम्बोधन गर्ने समय अपराह्न ३ देखि ९ बजेभित्र हुने छ ।

महासभामा सम्बोधन गर्ने विषयमा जलवायु न्याय र राष्ट्रिय विपद् सहनशीलताका विषय समेटिने र यो विषयमा तयारी गर्दै गर्दा प्रधानमन्त्री शाहले सर्वदलीय राष्ट्रिय परामर्श गर्न आवश्यक रहेको कांग्रेसले बताएको हो ।

‘सत्ता, विपक्ष, राष्ट्रिय सभा, प्रतिनिधिसभा, वैज्ञानिक, विज्ञ र प्रभावित क्षेत्रका नागरिकको साझा राष्ट्रिय धारणा अर्थात् राष्ट्रिय पोजिस बनाउनुस्’ कांग्रेस सांसद कर्णले प्रधानमन्त्री शाहलाई भनेका छन्, ‘सम्भव भए संघीय संसद्‌बाट साझा जलवायु न्यायसम्बन्धी राष्ट्रिय संकल्प पारित गर्ने पहल गर्नुस् । हामी साथ दिन तयार छौँ ।’

संसदीय राजनीतिमा बहुमत क्षणिक कुरा भएको भन्दै उनले बहुमतभन्दा ठूलो राजनीतिक शक्ति सहमति निर्माण गर्ने क्षमता भएको भनेर यस्तो सुझाव दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा रहँदा साइडलाइन वार्ता गर्न पनि उनको सुझाव छ ।

‘प्रधानमन्त्रीज्यू, संयुक्त राष्ट्रसंघमा भएको नेपालको एउटा कुर्सीमा तपाईँ नै बस्ने हो, महासभामा तपाईँले नै सम्बोधन गर्ने हो । त्यसमा दुई मत छैन’ उनले भने, ‘तर सँगसँगै परराष्ट्र मन्त्रीले विभिन्न द्विपक्षीय, बहुपक्षीय साइडलाइन वार्ताहरू गर्नुपर्यो। वैज्ञानिकले विपद्को कारण र क्षतिबारे प्रमाणसहित कुरा राख्नुपर्‍यो। जलवायु वित्तका विज्ञले वित्तीय साझेदारसँग कुरा गर्नुपर्यो ।’

विभिन्न राजनीतिक दलका प्रतिनिधिले आफ्ना राजनीतिक र संसदीय अन्तर्राष्ट्रिय सम्पर्क प्रयोग गरेर जलवायु न्याय र राष्ट्रिय एकताको सन्देश दिनुपर्नेमा उनको जोड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?