२५ भदौ, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर चासो जनाउँदै अस्पतालसँग स्पष्टीकरण मागेको छ ।
स्वास्थ्यमन्त्री निशा मेहताले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै स्वास्थ्य मन्त्रालयले तत्काल छानबिन टोली राजविराज पठाएको बताएकी छन् ।
उनका अनुसार अस्पताल परिसरबाहिरै महिलाले बच्चा जन्माएको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली पठाइएको हो ।
‘हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्छन्,’ मन्त्री मेहताले भनेकी छन्, ‘त्यसैले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ ।’
मन्त्रालयले घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याउने जनाएको छ । छानबिनका क्रममा अस्पताल वा सम्बन्धित स्वास्थ्यकर्मीको गल्ती तथा लापरबाही देखिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्री मेहताले बताएकी छन् ।
मन्त्री मेहताले स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय संवेदनशील र प्रतिबद्ध रहेको पनि उल्लेख गरेकी छन् ।
प्रतिक्रिया 4