News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीले ३ हजार ६ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ।
- नेपाल एपीएफ अस्पतालबाट खटिएको चिकित्सक टोलीले रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका विभिन्न स्थानमा हेल्थ क्याम्प राखेर सेवा दिएको छ।
- सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा ४ हजार २ सयभन्दा बढी कर्मचारी परिचालन गरी खोज तथा उद्धार, उपचार, होल्डिङ सेन्टर व्यवस्थापन र राहत वितरण गरिरहेको छ।
२५ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १० भदौमा रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रका ३ हजार ६ सय भन्दा बढीको स्वास्थ्य उपचार गरेको छ । बाढी प्रभावित क्षेत्रहरूमा सशस्त्र प्रहरीले हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हो ।
नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको दक्ष चिकित्सकसहितको टोलीले बाढी प्रभावित क्षेत्रको विभिन्न ठाउँमा हेल्थ क्याम्प खडा गर्नुकासाथै कारागार तथा होल्डिङ सेन्टरमा रहेकाहरूको स्वास्थ्य उपचार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।
अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले बाढी प्रभावित क्षेत्रमध्ये रसुवाको अस्पताल धुन्चे र टिमुरे, नुवाकोटको आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय, नुवाकोट स्वास्थ्य चौकी लगायतका ठाउँहरूमा हेल्थ क्याम्प खडा गरी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी धादिङको गलछी र काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भदौ १० गतेदेखि नै हेल्थ क्याम्प खडा गरी सेवा प्रदान गर्दै आइरहेको हो ।
नुवाकोटस्थित केन्द्रीय कारागार भित्र फैलनसक्ने सम्भावित सरुवा रोग तथा स्वास्थ्य समस्यालाई ध्यानमा राखी सशस्त्र प्रहरी बल नेपालको चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गरेको छ ।
उक्त कारागारमा भाद्र १७ गते १ सय ८५ जना र २४ गते २ सय १७ जना गरी ४ सय २ जना कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरेको छ । कैदीबन्दीहरूको स्वास्थ्य परिक्षण गर्नुकासाथै आवश्यक स्वास्थ्य सम्बन्धी परामर्श समेत प्रदान गरेको हो ।
सशस्त्र प्रहरी बल नेपालको चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले विरामीको उपचारमा मात्र सिमित नरही वातावरणीय स्वच्छता कायम तथा विपद् पश्चात फैलन सक्ने महामारी नियन्त्रणको लागि नुवाकोटको देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार नुवाकोट क्षेत्रमा किटनाशक औषधी छरेको छ । त्यसैगरी नुवाकोट कै क्रियापुत्री भवन क्षेत्रमा सरसफाई कार्यक्रम समेत गरेको छ ।
नेपाल एपीएफ अस्पतालबाट दक्ष चिकित्सकसहित खटिएको टोलीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत बालबालिका, वृद्धवृद्धा तथा कैदीबन्दी लगायतलाई स्वास्थ्य उपचार सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको छ ।
सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा घाइते भएकाहरूको उद्धार र सहयोगका लागि मास्क क्याजुअल्टी भेइकल समेत परिचालन गर्नुकासाथै बाढीमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको ट्रमा सेन्टर समेत बेड तयारी अवस्थामा राखेको छ ।
बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँहरूमा खोज तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपालले ४ हजार २ सय भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरू परिचालन गरेको छ । सो टोलीले बाढीमा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य सेवा, आपतकालिन औषधी उपचार, होल्डिङ सेन्टरको व्यवस्थापन तथा राहत सामग्री वितरण लगायतका कार्यमा समेत निरन्तर रुपमा खटिदै आइरहेको छ ।
प्रतिक्रिया 4