२५ भदौ, गोरखा । इलाका प्रहरी कार्यालय मनकामनाको आफ्नै जग्गा संरक्षणका लागि लगाइएको घेरबार भत्काइएको छ । गृहमन्त्री सुधन गुरुङको ठाडो निर्देशनमा उक्त घेरबार भत्काइएको हो ।
शहीद लखन गाउँपालिका–२ को वडा कार्यालय नजिकै रहेको ३२९.८९ वर्ग मिटर जग्गामा इप्रकाको नयाँ भवन बनाउने योजनासहित गतवर्ष प्रहरीले घेरबार लगाएर आफ्नो जग्गा संरक्षण गरेको थियो ।
प्रहरी कार्यालयको स्वामित्वमा रहेको उक्त जग्गा आफू अनुकुल प्रयोग गर्दैआएका केही स्थानीयले घेरबार हटाउन गृहमन्त्री गुरुङसमक्ष माग राखेका थिए ।
त्यसपछ् िगृहमन्त्रीले फिल्डबाटै उक्त घेरबार हटाउन निर्देशन दिएपछि प्रहरी अन्योलमा थियो । सोही क्रममा प्रहरी प्रधान कार्यालयसँग समन्वय गरेर आवश्यक निर्णय लिने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अनिलकुमार खड्काले बताएका थिए ।
तर, अहिले प्रधान कार्यालयसँग समन्वय नै नगरी केही दिनअघि घेरबार हटाइएको छ ।
‘हेडक्वार्टरसँग छलफल भएन,’ एसपी खड्काले भने, ‘गृहमन्त्रीले हटाउनू भनेपछि हामीले आदेश पालना गर्यौं ।’ उक्त घेरबार प्रहरी चौकीकै जग्गामा रहेपनि गृहमन्त्रीको निर्देशनपश्चात भत्काइएको एसपी खड्काले बताए ।
चौकीको जग्गा संरक्षणका लागि लगाइएको घेरबार हटाएकोप्रति जनप्रतिनिधिले भने आपत्ति जनाएका छन् । निजी स्वार्थका लागि केही व्यक्तिहरुले गृहमन्त्रीलाई गलत बिफ्रिङ गरेको भन्दै शहीद लखन गाउँपालिका अध्यक्ष रमेश थापाले घेरबार भत्काउनु गलत भएको बताए ।
‘प्रहरी कार्यालयको स्वामित्वमा रहेको सरकारी जग्गाको तारवार किन भत्कायो ? के का लागि भत्कायो ? कसैको व्यक्तिगत स्वार्थका लागि हट्यो की ? हामीलाई थाहा भएन,’ उनले भने ।
वडा नम्वर २ की अध्यक्ष सकुन थापाले चौकीले आफ्नो जग्गा संरक्षणका लागि घेरबार लगाउनु स्वभाविक भएको बताइन् । ‘चौकीको नम्बरी जग्गा हो, चौकीले आफ्नो जग्गा संरक्षण गर्न घेरबार लगाउनु राम्रै हो,’ उनले भनिन्, ‘त्यो घेरबार अहिले भत्काइएछ, नम्बरी जग्गा खोसेर पछि जग्गा चाहियो भने कहाँ खोज्ने ?’
प्रतिक्रिया 4