यो पुस्ताले जीवनमा अनेकौँ संकट र विपद् देख्यो, भोग्यो र पार गर्यो। विभिन्न राजनीतिक आन्दोलनदेखि १० वर्षे जनयुद्ध, २०७२ सालको विनाशकारी भूकम्प र कोभिड–१९ महामारीसम्मका घटनाले यो पुस्ताको स्मृतिमा गहिरो र नमिठो छाप छाडेका छन्। गत वर्ष भदौ २३ र २४ को जेनजी आन्दोलन तथा पटकपटक आउने बाढी, पहिरो र अन्य प्राकृतिक विपत्तिले पनि यस पुस्ताको निरन्तर परीक्षा लिइरहेको छ।
यस्तै उतारचढावबीच यो पुस्ताले कहिल्यै कल्पना नगरेको अर्को भयावह दृश्य आफ्नै आँखाले देख्नुपर्यो, भोटेकोसीको विनाशकारी बाढी।
आज उक्त बाढी आएको आधा महिना नाघिसकेको छ। तर विपद्ले छाडेको पीडा र क्षतिको प्रभाव अझै उस्तै छ। बाढीमा १३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। कैयौँ घाइते छन् भने कतिका आफन्त अझै बेपत्ता छन्। रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा बस्ती, सडक, पुललगायतका संरचनामा ठूलो क्षति पुगेको छ। हिजोसम्म मानिसको दैनिकी र चहलपहलले भरिएका कतिपय ठाउँ अहिले बगरमा परिणत भएका छन्।
यतिबेला नेपाली सेना तथा सुरक्षाकर्मी ज्यान जोखिममा राखेर खोज तथा उद्धारमा खटिएका छन्। विपद् व्यवस्थापनका लागि राज्यका विभिन्न निकाय परिचालित छन्। यही क्रममा नेपाली मिडियाले पनि सूचना प्रवाह, पूर्वसूचना सम्प्रेषण, खोज तथा उद्धारका गतिविधिको जानकारी र प्रभावित नागरिकका समस्या सम्बन्धित निकायसम्म पुर्याउने काम गरिरहेको छ।
भोटेकोसी बाढीले मानिसको जीवन र भौतिक संरचनामा क्षति पुर्यायो। यससँगै विपद्का बेला सूचना कति महत्त्वपूर्ण हुन्छ र सूचना प्रवाह गर्ने मिडियासामु कस्ता चुनौती हुन्छन् भन्ने प्रश्नलाई पनि थप गम्भीर बनाएको छ।
भदौ १० गते फर्केर हेर्दा, भोटेकोसी नदीमा ठूलो बाढी आइसकेको थियो। जलविज्ञान तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका अनुसार त्यस दिन बिहान ८:४० बजे प्राप्त अन्तिम तथ्यांकमा भोटेकोसी नदीको जलसतह १.६२ मिटर मात्रै देखिएको थियो। उक्त केन्द्रमा सतर्कता तह ६ मिटर र खतरा तह ७ मिटर निर्धारण गरिएको छ।
स्वचालित जलमापन केन्द्रले त्यसपछि सूचना देखाएन, किनकि जलमापन केन्द्र नै बाढीले बगाइसकेको थियो। बिहान ९ बजेतिर जिल्ला प्रशासन कार्यालय, रसुवा तथा बेत्रावतीमा रहेका जलमापन केन्द्रका कर्मचारीमार्फत बाढी पूर्वानुमान महाशाखालाई भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गर्न लागेको सूचना पुगेको थियो।

यही घटनाक्रमले विपद्का बेला सूचना प्रवाहको अर्को महत्त्वपूर्ण पाटो देखाउँछ। पूर्वसूचना आफैँमा पर्याप्त हुँदैन, त्यसलाई समयमै र सही ढङ्गले प्रभावित समुदायसम्म पुर्याउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यहीँबाट विपद् पत्रकारिताको भूमिका र त्यससँग जोडिएका चुनौती सुरु हुन्छन्।
महाशाखाले तल्लो तटीय क्षेत्रमा मोबाइल एसएमएस पठाउन नभ्याउँदै विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियामा ठूलो बाढी आएको खबर प्रकाशन तथा प्रसारण भइसकेको थियो।
पहिले पत्रकारिता गर्ने, खबर सङ्कलन गर्ने, समाचार बनाउने, सम्पादन गर्ने तथा प्रकाशन वा प्रसारण गर्ने व्यक्तिलाई मात्र पत्रकारका रूपमा बुझिन्थ्यो। अहिले मोबाइलमार्फत जोकोहीले फोटो, भिडियो, लेख वा आवाजमार्फत सूचना प्रवाह गर्न सक्छन्। यसलाई नागरिक पत्रकारिताको एउटा स्वरूपका रूपमा बुझ्न सकिन्छ।
भोटेकोसी नदीमा बाढी आएको सूचना महाशाखाले दियो। तर बाढी कति भयानक थियो भन्ने दृश्य पत्रकार तथा नागरिकले खिचेका भिडियोले देखाए। जहाँ पत्रकार पुग्न सम्भव हुँदैन, त्यहाँ नागरिकले भिडियो खिचेर सूचना दिइरहेका थिए। बाढीको भयावह दृश्य कैद गरी तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सचेत गराउन नागरिक पत्रकारिताले पनि महत्त्वपूर्ण भूमिका निभायो।
बाढी आइरहेको बेला केन्द्रका मिडियालाई तत्काल स्थलगत रिपोर्टिङमा जान सम्भव नभए पनि स्थानीय पत्रकार परिचालन गरिए। स्थानीय पत्रकारले पनि ज्यान जोखिममा राखेर बाढीसम्बन्धी खबर निरन्तर पठाइरहे। सामाजिक सञ्जालमा भयानक बाढी आएको, मानिस बगाएको, बस्तीलाई बगर बनाएको तथा सडक, पुल र अन्य संरचना बगाएको दृश्य सार्वजनिक भए। यसले विपद्को भयावहता देशभित्र मात्र होइन, विदेशमा रहेका नेपाली तथा विश्वभरका मानिससम्म पुर्यायो।
देशदेखि विदेशसम्मका मानिसले यो विपद्लाई टेलिभिजन, अनलाइन मिडिया, युट्युब, फेसबुक, टिकटक, एक्सलगायतका माध्यमबाट नियालिरहेका थिए। प्रविधिको विकास नभएको भए सायद हामी ‘बाढी गएको थियो रे’ भन्ने खबर मात्र सुन्थ्यौँ होला। तर अहिले त्यही विपद्का दृश्य तत्काल हेर्न सम्भव भयो।
बाढी पूर्वानुमान महाशाखाले पठाएको पूर्वसूचनालाई प्रभावकारी रूपमा फैलाउन मिडियाले पनि भूमिका खेले। त्यस दिन अधिकांश मिडियाले पूर्वसूचनालाई प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरेका थिए।
इन्टरनेट र डिजिटल माध्यमको विकासले मिडियाले तयार पारेको सामग्री तल्लो तटीय क्षेत्रसम्म तत्काल पुर्याउन सम्भव बनाएको छ। मिडियामार्फत पूर्वसूचना एकैपटक ठूलो समुदायसम्म पुग्न सक्यो।
कतिपयले पूर्वसूचनालाई नपत्याएर बेवास्ता गरे वा बाढीको खतराबारे समयमै थाहा पाएनन्। भोटेकोसीले चट्टान, ढुङ्गा, माटो र लेदोसहितको बाढी बोकेर आएको दृश्य समयमै सार्वजनिक नभएको भए क्षति अझ बढ्न सक्ने अवस्था थियो।
बाढीको पूर्वसूचना, त्यसबाट जोगिने उपाय र तत्काल के गर्ने भन्ने जानकारी सर्वसाधारणसम्म पुर्याउन मिडियाले भूमिका निभायो। राज्यका विभिन्न निकायलाई विपद् व्यवस्थापनमा खबरदारी गर्ने र उनीहरूको कामको निगरानी गर्ने काममा पनि मिडियाको भूमिका रह्यो।
हालसम्म पनि मिडियाले खोज, उद्धार तथा राहतका विषयमा समाचार दिइरहेको छ। राज्यका कमीकमजोरी औँल्याएको छ र प्रभावितका समस्यालाई निरन्तर उठाइरहेको छ।
स्थानीयस्तरका समस्या राज्यका सम्बन्धित निकायसम्म पुर्याउने तथा राज्यका कामकारबाहीबारे स्थानीय नागरिकलाई जानकारी दिने काममा पनि मिडिया लागिरहेको छ। यससँगै जलवायु न्यायका सवाललाई सार्वजनिक बहसमा ल्याउने जिम्मेवारी पनि मिडियाको हो।
भोटेकोसी बाढीजस्ता विपद् व्यवस्थापनमा पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ। तर यो सकारात्मक पक्षसँगै विपद् पत्रकारितामा रहेका चुनौतीलाई पनि हेर्न जरुरी छ।
विपद्का बेला पत्रकारका चुनौती
मिडिया अनेकौँ चुनौतीका बीच विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा खटिएको छ। भोटेकोसी बाढीका क्रममा पनि पत्रकारले जोखिम मोलेर सूचना सङ्कलन गरेका छन्।
बाढी गएको दिन धेरै पत्रकारले ज्यानकै जोखिममा फिल्ड रिपोर्टिङ गरे। ‘सुरक्षित स्थानमा रहौँ’ भन्ने सूचना दिने पत्रकार आफैँ असुरक्षित ठाउँमा पुगेर रिपोर्टिङ गरिरहेका थिए। केही पत्रकारले ज्यान गुमाएका छन्, केही अझै बेपत्ता छन्। केहीका घरखेत बगेका छन्, केहीले प्रियजन गुमाएका छन्। यस्तो मानसिक तनावका बीच पनि कतिपय पत्रकार समाचार संकलनमा खटिनुपरेको थियो।
तर कतिपय मिडियाहाउसमा ब्रेकिङ कन्टेन्टलाई प्राथमिकता दिँदा पत्रकारको सुरक्षालाई पर्याप्त ध्यान दिइएको देखिएन। आफ्ना पत्रकार कति सुरक्षित छन् ? उनीहरूको मनोबल कस्तो छ ? फिल्डमा जाँदा सम्भावित जोखिम के छ ? कहाँ बस्ने, के खाने र कसरी सुरक्षित फर्किने ? यस्ता विषयमा पर्याप्त ध्यान दिन नसकिएको अवस्था पनि देखियो।
केही ठूला मिडियाहाउसले हेलिकोप्टर प्रयोग गरेर रिपोर्टिङ गरे। कतिपयले गाडी रिजर्भ गरेर पत्रकारलाई फिल्ड पठाए। तर सडक प्रभावित भएकाले कतिपय बाटोमै अड्किए। खान, बस्न र सुत्नसमेत समस्या भयो। सडकको अवस्थाका कारण चाहेर पनि सबै प्रभावित क्षेत्रमा पुग्न सम्भव भएन।

साना मिडियासँग आर्थिक स्रोत सीमित भएकाले चाहेर पनि फिल्डमा गएर विपद् पत्रकारिता गर्न नसक्ने अवस्था रह्यो। कतिपय पत्रकारले फिल्ड रिपोर्टिङ गर्न चाहँदाचाहँदै पनि मिडियाले लगानी नगरेको गुनासो गरे। महिनौँसम्म तलब नपाएका पत्रकारका लागि सापटी खोजेर फिल्डमा जानु पनि सहज थिएन।
प्रभावित क्षेत्रमा सञ्चार र यातायात संरचना पनि अवरुद्ध भए। घटनास्थलमा पुग्न कठिन भयो। मोबाइल तथा इन्टरनेट अवरुद्ध भए। आधिकारिक सूचना आउन ढिलाइ भयो। अर्कोतर्फ मिडियालाई समाचार ‘ब्रेक’ गर्ने हतार थियो। युट्युबर तथा सामाजिक सञ्जाल प्रयोगकर्तामा पनि भ्युज बढाउने दबाब थियो।
यस्तो अवस्थामा मुख्य प्रश्न उठ्छ, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्ताले कसरी छिटो मात्र होइन, विश्वसनीय सूचना दिन सक्छन् ?
सामाजिक सञ्जालका भिडियो : सूचना कि भ्रम ?
भोटेकोसी बाढीपछि विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा भिडियो, फोटो र ‘ब्रेकिङ’ सूचना तीव्र रूपमा फैलियो। तर कतिपय पुराना वा अर्कै स्थानका भिडियो पनि भोटेकोसीकै भनेर प्रसारित भए। कतिपय भिडियो एआईमार्फत परिमार्जन गरेर भ्रम फैलाइएको देखियो। त्यस्ता सामग्रीका विषयमा प्रेस काउन्सिलले आवश्यक कारबाहीसमेत गरेको छ।
तथ्य र सत्य सूचना दिनुभन्दा कसरी पहिला दिने र कसरी धेरै भ्युज पाउने भन्ने प्रतिस्पर्धा पनि देखियो। विपद्का बेला पहिले सामग्री दिनेभन्दा पहिले पुष्टि गर्ने संस्कार आवश्यक हुन्छ। तर पुष्टि गर्नमा कतिपय मिडिया चुके।

संवेदनशीलतामा चुकेको पत्रकारिता
पत्रकार, युट्युबर, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा नागरिक पत्रकारितामा संलग्न व्यक्तिबाट भएका कमजोरी पनि स्वीकार गर्नुपर्छ।
कतिपय हेर्नसमेत कठिन हुने मृतक तथा घाइतेका फोटो र भिडियो सार्वजनिक भए। त्यसैलाई आधार बनाएर समाचार बनाइयो र सामाजिक सञ्जालमा पोस्ट गरियो।
जो सामग्री सामान्य दर्शकलाई हेर्न गाह्रो हुन्छ, त्यस्तो सामग्री मृतकका आफन्तले हेर्नुपर्दा कस्तो असर पर्ला ? हराएका वा मृत्यु भइसकेका बालबालिकाका फोटो सार्वजनिक गर्दा कतिपयले अनुहारसमेत ब्लर गरेका थिएनन्। यस्तो संवेदनशीलतामा विशेष ध्यान दिनुपर्छ।
मृतक, बेपत्ता, गर्भवती महिला, बालबालिका, वृद्ध तथा परिवारबाट छुट्टिएका व्यक्तिका कथा लेख्दा पत्रकारले तथ्य र मानवीय संवेदनाबीच सन्तुलन मिलाउनुपर्छ।
कतिपय अवस्थामा एउटा युट्युबरले कसैको अन्तर्वार्ता लिन्छ, फिल्डमा नगएका मिडियाले स्रोत नखुलाई त्यही भिडियो सेयर गर्छन् र त्यसलाई तोडमोड गरेर समाचार बनाउँछन्। एउटै व्यक्तिको आवाज धेरै मिडियामा दोहोरिन्छ, तर अन्य पीडितका आवाज ओझेलमा पर्छन्।
कतिपय पीडित आफैँ गहिरो पीडामा थिए। उनीहरू बोल्न चाहँदैनथे। यस्तो अवस्थामा जबर्जस्ती अन्तर्वार्ता लिनु उनीहरूमाथि थप मानसिक हिंसा हुन सक्छ। कतिपयको अनुमति नै नलिई उनीहरूको भनाइ सार्वजनिक गरिएको देखियो।
भदौ १३ गते अर्को बाढी आएको समाचार एउटा मिडियाले ढिला गरी युट्युबमा पोस्ट गरेछ। युट्युब हेर्ने नारायणगढका एक आफन्तले मलाई आत्तिँदै फोन गर्नुभयो। ‘बाढी फेरि आउँछ रे ? नारायणगढ आसपासका क्षेत्रमा सुरक्षित हुन भनिएको छ, खतरा छ रे’ भन्दै उहाँ आत्तिनुभएको थियो।
तर त्यतिबेला बाढीको तत्काल खतरा टरिसकेको र नदीको पानीको सतह घटिसकेको थियो। त्यसबारे अर्को अपडेट दिइएन। बाढी आयो भनेर मात्र सूचना दिएर पुग्दैन, खतरा टरिसकेको जानकारी दिनु पनि उत्तिकै आवश्यक हुन्छ। सर्वसाधारणले पनि पुरानो र नयाँ सामग्री छुट्याउन नसक्दा सूचनाको गलत बुझाइ हुन सक्छ।
घटनाकेन्द्रित पत्रकारिता
भोटेकोसी क्षेत्रमा गत वर्ष पनि लेन्दे खोलामा आएको बाढीले असर गरेको थियो। त्यसबेला मिडियाले ठूलो मिहिनेत गर्यो। धेरै मिडियाको मुख्य हेडलाइन नै विपद् बन्यो।
तर समय बित्दै जाँदा हामी बिर्संदै गयौँ। विपद्पछिको प्रतिकार्य, त्यसपछिका सम्भावित जोखिम र पुनर्निर्माणका विषयमा निरन्तर समाचार आएनन्। आए पनि धेरै मिडियाले त्यसलाई प्राथमिकता दिन सकेनन्।
अहिले भोटेकोसी बाढीसम्बन्धी समाचार अधिकांश मिडियामा देखिन्छन्। केही समयसम्म यस्ता समाचार आइरहनेछन्। तर बिस्तारै हाम्रो ध्यान अन्यत्र जानेछ। समय बितेपछि विपद्सम्बन्धी समाचारले प्राथमिकता नपाउन सक्छ।
यहीँ घटनाकेन्द्रित पत्रकारिताको सीमितता देखिन्छ।
भोटेकोसी बाढी जलवायुजन्य जोखिमको एउटा ज्वलन्त उदाहरण हो। त्यसैले यस घटनालाई तत्कालको समाचारमा मात्र सीमित नगरी दीर्घकालीन बहसको विषय बनाउन आवश्यक छ। जलवायु न्यायका लागि मिडियाले निरन्तर आवाज उठाउनुपर्छ। जबसम्म दिगो रूपमा विपद् व्यवस्थापन हुँदैन, तबसम्म यस्ता विषयलाई सार्वजनिक बहसमा ल्याइरहनुपर्छ।
मिडियासँग पनि स्रोत र साधनका सीमा छन्। तर त्यसका बाबजुद विपद् पत्रकारितालाई प्राथमिकता दिन सक्नुपर्छ।
विपद् पत्रकारितामा चुनौती छन्, तर समाधानका बाटा पनि छन्। पत्रकारको सुरक्षा र प्रभावकारी रिपोर्टिङका लागि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म स्पष्ट समन्वय संयन्त्र, एकीकृत आधिकारिक सूचना प्रणाली, आपत्कालीन सञ्चार उपकरण तथा पत्रकारका लागि सुरक्षित पहुँच र उद्धारसम्बन्धी प्रोटोकल आवश्यक छन्।
सम्बन्धित सरकारी निकाय र मिडियाले पत्रकारलाई विपद्का बेला कसरी सुरक्षित रहने, उपलब्ध स्रोत र उपकरण कसरी प्रयोग गर्ने तथा विश्वसनीय सूचना कसरी पहिचान गर्ने भन्ने विषयमा नियमित तालिम दिनुपर्छ। फोटो तथा भिडियोको डिजिटल प्रमाणीकरण र पत्रकारिता आचारसंहिताको पालनामा पनि उत्तिकै ध्यान आवश्यक छ। यसले विपद्का बेला छिटो मात्र होइन, जिम्मेवार र विश्वसनीय पत्रकारिता गर्न मद्दत गर्छ।
(लेखक विगत डेढ दशकदेखि वातावरण पत्रकारितामा सक्रिय छिन्।)
प्रतिक्रिया 4