+
+
Shares

रसुवा बाढीमा कति मानिस हराइरहेका छन् ?

बेपत्ता भएका भनी दर्ता भएकामध्ये कतिपयको उद्धार भएको हुनसक्ने र केहीको नाम दोहोरिएको हुनसक्ने भएको रसुवागढी बाढीबाट मृत्यु भएका र हराएकाहरूको यकिन संख्या निर्क्यौल हुन अझै केही समय लाग्ने देखिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवागढी बाढीमा ५ हजार १३० जना बेपत्ता र १ हजार ३८५ जनाको शव भेटिएको प्राधिकरणले शुक्रबार बिहान सार्वजनिक गरेको छ।
  • प्राधिकरणका अनुसार भेटिएका शवमध्ये १ सय ४ जनाको मात्र सनाखत भएको छ, र प्रहरीको बेपत्ता संख्या ४ हजार ८९ छ।
  • प्राधिकरणले १३ हजार ६७६ जनाको उद्धार भएको, ५ सय ८७ जना हराएको, र क्षेत्रभर करिब १२ हजार टेलिफोन नम्बर सक्रिय रहेको जनाएको छ।

२६ भदौ, काठमाडौं । रसुवागढीको बाढीबाट ५ हजार १३० जना बेपत्ता भएका छन् । १३ सय ८५ जनाको शव भेटिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बिहान सार्वजनिक गरेको विवरण अनुसार, भेटिएकामध्ये सनाखत भएका शवहरूको संख्या १ सय ४ मात्रै छ, अरुको सनाखत हुन सकेको छैन ।

प्राधिकरणका कर्मचारीहरूले दिनहुँजसो बेपत्ताहरुको आँकडा केलाइरहेका छन् । अहिलेसम्मको आँकडामा केहीको संख्या घट्नसक्ने देखिएको छ भने अरु थप केही व्यक्ति बेपत्ता भएको हुनसक्ने आशंका छ ।

‘सुरुमा जसले आफ्ना मान्छे बेपत्ता भएका छन् भनेर नाम टिपाउनुभयो, कयौंको उद्दार भइसकेको छ,’ प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्, ‘उद्दार भइसकेपछि टिपाइएका ती नाम हटेका छैनन् कि भन्ने हाम्रो अनुमान हो । उद्दार भएकाहरूको नाम समेत बेपत्ताको सूचीमा रहेको भए पछि रुजु गर्दा संख्या केही घट्नसक्छ ।’

नेपाल प्रहरीले सार्वजनिक गरेको बेपत्ताहरूको आँकडा भने फरक छ । प्रहरीले बिहीबार राति ८ बजे सामाजिक सञ्जालबाट सार्वजनिक गरेको विवरण अनुसार, ४ हजार ८९ जना बेपत्ता भएका छन् । प्राधिकरण र प्रहरीकै आँकडामा करिब एक हजार जनाको संख्या फरक छ ।

 किन फरक पर्‍यो ?

प्रहरीले आफ्नो हटलाइन १०० मा फोन गरेर ‘व्यक्ति बेपत्ता भएको’ सूचना टिपाउनेहरूको विवरण संकलन गरेको हो । तर प्राधिकरणले जिल्लाहरूको आँकडा संकलन गरेको हो ।

जिल्लास्थित इमर्जेन्सी अपरेसन सेन्टर र गृह मन्त्रालयको इमर्जेन्सी अपरेसन सेन्टरको एकमुष्ट आँकडाका आधारमा प्राधिकरणले बेपत्ताहरूको विवरण संकलन गरिरहेको हो ।

विपत व्यवस्थापन प्राधिकरणका कर्मचारीहरूका अनुसार, बेपत्ता भएका व्यक्तिहरूको एकमुष्ट आँकडा प्रशोधन हुने क्रममा छ ।

बाढीपछि बेपत्ता भएका व्यक्तिका आफन्त एवं नातेदारहरूले खोजतलासका क्रममा नुवाकोट र रसुवा जिल्लामा दुवैतिर नाम टिपाएका छन् । कतिपयले फरक नाम टिपाएका छन् ।

सुरुमा दिनहरूमा उद्दार हुनेहरूको विस्तृत विवरण संकलन हुन नसकेकाले केही नाम दोहोरिएको हुनसक्ने कर्मचारीहरूको आशंका छ ।

कतिको उद्धार भयो ?

प्राधिकरणको पछिल्लो विवरण अनुसार, १३ हजार ६७६ जनाको उद्दार भएको छ । तर प्रहरीले ९ हजार २८७ जनाको मात्रै उद्दार गरिएको जनाएको छ । प्राधिकरणले भने प्रहरी बाहेक सशस्त्र प्रहरी बल र नेपाली सेनाले गरेको उद्दारको विवरण पनि संकलन गरिरहेको छ ।

प्राधिकरणका कर्मचारीहरूका अनुसार, उद्दार नहुँदासम्म सम्बन्धित व्यक्ति हराएकाले ठूलो संख्यामा आफन्त एवं नातेदारहरूले प्रहरी वा प्रशासनमा खबर गरेका थिए ।

तर, उद्दार भएपछि मानिसहरुले बेपत्ताको सूचीबाट नाम हटाउन तदारुकता नदेखाउने स्वभावले पनि केही संख्या ‘एरर’ हुनसक्ने प्रवक्ता महतले बताइन् ।

करिब छ सय विदेशी

विपत व्यवस्थापन प्राधिकरणको विवरण अनुसार, ५ सय ८७ जना हराएका छन् । त्यो तथ्यांक नेपाल पर्यटन बोर्ड र कतिपय ट्राभल एजेन्सीहरूको विवरणमा समेत आधारित हो ।

ट्राभल एजेन्सीहरूले त्यो क्षेत्रमा विदेशी पर्यटकका साथ १ सय ६४ जना नेपालीहरू पनि गएको भनी विवरण टिपाएका थिए ।

विपत व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको भारतीय दूतावासले आफ्ना १९४ जना नागरिक हराइरहेको भनी विवरण टिपाएको छ ।

उसले त्यो सूचीमा ६०–६५ जना थपिएको हुनसक्ने जानकारी दिएको छ । प्रहरीले ६१० जना विदेशी नागरिक बेपत्ता भएको भनी विवरण टिपाएको छ ।

स्थानीय बासिन्दा कति ?

प्राधिकरणका अनुसार, १ हजार ३९३ जना रसुवाका बासिन्दा हराइरहेका छन् भने नुवाकोबाट ६४१ जना बेपत्ता छन् । दुवै जिल्लाका गरी करिब दुई हजारभन्दा बढी मानिस हराएका छन् ।

अन्य जिल्लाबाट रसुवा पुगेका १ हजार २८६ जना हराएका छन् । त्यही संख्या नुवाकोटमा १ हजार १३६ छ । प्रहरी, सशस्त्र र सेना, सरकारी जागिरे, बैंकका कर्मचारी र विदेशी नागरिकहरू रसुवाबाट मात्रै हराइरहेका छन् ।

रसुवाबाट २८६० जना बेपत्ता भएका छन् भने नुवाकोटबाट १ हजार ७८७ जना हराएका छन् । प्राधिकरणले बेपत्ता भएका विदेशी नागरिकको आँकडालाई जिल्ला अनुसार छुट्याएको छैन ।

चितवनमा धेरै शव

१३ सय ८५ जनाको शव भेटिएकोमा ३६४ शव चितवनमा फेला परेका हुन् । नवलपरासी पूर्व र पश्चिम(सुस्ता) मा गरी ४५० शव भेटिएका छन् ।

नुवाकोटमा १९९ र रसुवामा १८५ शव फेला परेका छन् । गोरखा, धादिङ र तनहुँमा गरी १ सय ८५ शव फेला परेका छन् ।

प्रहरीले केही बाहेक सबैजसो शवको नमुनाबाट डीएनए संकलन गरेको छ । १७ सय १२ जना बेपत्ताको आफन्तबाट नमुना संकलन भएको छ । अहिलेसम्म व्यक्तिगत पहिचान एवं डीएनएबाट १ सय ४ जनाको शव पहिचान भएको छ ।

 १२ हजार नम्बर सक्रिय

नेपाल दूरसञ्चार प्राधिकरणले गरेको एक अध्ययनले रसुवागढी बाढीका बेला त्यो क्षेत्रमा करिब १२ हजार टेलिफोन नम्बरहरू सक्रिय रहेको भेटिएको छ ।

बाढीबाट बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका क्रममा सरकारले दुई टेलिकम कम्पनीहरूसँग त्यो क्षेत्रमा सक्रिय मोबाइल फोन प्रयोगकर्ताहरुको विवरण संकलन गरेको थियो ।

त्यसक्रममा एनसेलका करिब सात हजार र नेपाल टेलिकमको पाँच हजार गरी करिब १२ हजार प्रयोगकर्ताहरू त्यो क्षेत्रमा सक्रिय रहेको खुलेको प्राधिकरणका एक कर्मचारीले बताए ।

घटनापछि नेपाल टेलिकम र एन्सेलले रसुवागढी, टिमुरे र स्याफ्रुबेंसी क्षेत्रका टावरसँग सम्पर्कमा रहेका फोन नम्बर(सिमकार्ड)हरूको डाटा विश्लेषण गरेको थियो ।

‘कतिपय प्रयोगकर्ताहरूले एउटै मोबाइल सेटमा दुईवटा सीमकार्ड राखेर दुवै नम्बर सक्रिय बनाएका हुन्छन्’ नेपाल टेलिकमसम्बद्ध एक कर्मचारी भन्छन्, ‘त्यसले विवरणको विश्लेषण गर्न सहयोग भएपछि बाढीमा हराइरहेकाहरूको यकिन संख्या खुल्दैन ।’

बाढीपछि भने कतिपय टावरहरू बगेकाले कति प्रयोगकर्ताहरू त्यहाँ थिए र कति बाढीले बेपत्ता भए भन्ने खुल्दैन ।

अर्कोतर्फ, खोलानजिकको बजारमा रहेको टावरसँग सम्पर्कमा रहेका तर बाढीको प्रभावक्षेत्र बाहिरका फोन नम्बर पनि यो संख्यामा समावेश हुने भएकाले हराइरहेकाहरुको यकिन संख्या खुलाउन कठिन भइरहेको हो ।

‘यो आँकडाले त्यो क्षेत्रमा कति मानिस थिए भन्ने मोटामोटी संख्या निस्किएला, तर अरु सहयोग हुँदैन’ विपद् व्यवस्थापन प्राधिकरणका एक कर्मचारी भन्छन्, ‘बेपत्ता भएकाहरू अन्तिम समयमा कहाँ थिए भनेर पहिचान गर्न सहयोग हुने बाहेक फोन प्रयोगकर्ताहरूको विवरणले खोजतलासमा अरु सहयोग पुर्‍याएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?