+
+
Shares

प्रधानमन्त्रीलाई पुनले भने : भ्रमबाट मुक्त हुन भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्रीहरूको फोटो हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १७:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारप्रति जनतामा बढेको असन्तोष संसद्मै व्यक्त अभिव्यक्तिबाट प्रस्ट भएको बताएका छन् ।
  • उनले प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूलाई दम्भी र अहंकारी शैली सुधारेर विनम्र हुन र सबैको अस्तित्व स्वीकार गर्न आग्रह गरे ।
  • पुनले सप्तरीमा उपचार नपाउँदा सडकपेटीमै शिशु जन्मिएको घटना, महँगी, ग्यास अभाव र निजी क्षेत्रलाई धम्क्याउने सरकारी शैलीले सरकारको नियत र क्षमता छर्लंग पारेको बताए ।

२६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारप्रति जनतामा कुन तहको असन्तोष र आक्रोश पैदा भएको छ भन्ने कुरा बुझ्न संसद्मा व्यक्त अभिव्यक्ति काफी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘सरकार सच्चियोस्, दम्भी र अहंकारी शैलीमा सुधार गरोस् ।’ बिनम्र हुन र सबैको अस्तित्व स्वीकार गर्न प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र मन्त्रीहरूलाई उनको आग्रह छ ।

डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै उनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जित हार भइरहने बताए ।

उनले भनेका छन्, ‘सधैंका लागि सत्तामा आएको भ्रममा नपर्नुस् । अरुका कुरामा विश्वास लाग्दैन भने तपाईंको कार्यालयको भित्तामा झुण्ड्याइएका पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूका तस्बिर एकपटक हेर्नुभयो भने पनि सत्य स्वीकार गर्ने शक्ति प्राप्त गर्नुहुनेछ ।’

उनका अनुसार लोकतन्त्र भनेको नागरिकको जीवनको सुरक्षा, प्रश्न गर्ने ग्यारेण्टी, जनाअधिकारको संरक्षण, कानुनको शासन र सरकारको जवाफदेहीता हो । करिब दुई तिहाइको वर्तमान सरकार यी विषयमा क्रमशः चुक्दै गएको उनले बताए ।

‘धान रोप्ने समयमा किसानले मल पाएनन्, अहिले खाना पकाउने ग्यासको चरम अभाव छ’ उनले भने, ‘नागरिकहरू रातदिन पानीमा रुझेर ग्यासको लाइनमा बसेको दृश्य ‘अब नो लाइन ओन्ली अनलाइन’ को नारा दिएर आएको सरकारकारले देख्नुपर्दैन ?’

बजारमा महँगीले आकाश छोएको भन्दलै उनले दैनिक उपभोग्य बस्तुको मूल्यले कीर्तिमान कायम गर्दा पनि सरकारले नदेखे झैं गरिरहेको बताए । ‘बजार अनुगमन छैन, कृत्रिम अभाव श्रृजना गर्ने र कालोबजारी गर्नेमाथि कारबाही छैन ।’ उनले भने, ‘अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् । धितोपत्र बजारले दुई तिहाइको सरकारलाई किन पत्याएको छैन ?’

निजी क्षेत्रको मनोबल थप गिर्दै गएको भन्दै उनले सरकार र निजी क्षेत्रको बलियो हातेमालो बिना अर्थतन्त्र माथि उठाउन असम्भव रहेको बताए ।

‘तर, सरकारका जिम्मेवार मन्त्रीको दैनिकी निजी क्षेत्रलाई तर्साउने र धम्काउने भएको छ । कोही मन्त्री खुट्टा भाँच्ने भन्नुहुन्छ, कोही थुन्ने भन्नुहुन्छ, कोही पाता कस्ने भन्नुहुन्छ । यस्तो त्रासपूर्ण वातावरणमा निजी क्षेत्रले कसरी मन फुकाएर लगानी गर्न सक्छ ?’ नेता पुनको प्रश्न छ ।

निजी क्षेत्रलाई तसार्उने काम बन्द गरेर सहकार्यको हात बढाउन सरकारलाई उनले आग्रह गरे । ‘सरकारको स्वेच्छारिता र नालायकीले सीमा नाघेको छ’ उनले भने ।

साथै, सप्तरीमा पैसा नभएको भन्दै संघीय सरकार मातहतको अस्पतालले बेदनामा रहेकी महिलाको उपचार नगर्दा सडकपेटीमै शिशु जन्मिएको घटनाले सरकारको नियत र क्षमता छर्लंग पारेको उनले बताए ।

‘म सत्तापक्षका साथीहरुलाई सोध्न चाहन्छु यदि तपाईंहरु अहिले प्रतिपक्षमा र अरु सत्तापक्षमा भएको भए तपाईंहरुले यो घटनालाई कुन रुपमा व्याख्या गर्नुहुन्थ्यो होला ?’ उनले प्रश्न गरे । चुनावी भाषणका बेला भोट मााग्न जाँदा प्रधामनन्त्री बालेनले मतदातासँग अब खल्तीमा पैसा नहुनेले निःशुल्क उपचार पाउँछ, पैसा नहुनेले पढ्न पाउँछ भनेको नेता पुनले स्मरण गरे ।

‘तर, सरकारमा गएपछि स्वास्थ्य, शिक्षा र घरेलु खपतको बिजुलीमा अतिरिक्त कर थोपरेर जनताको ढाड सेक्ने काम भयो’ नेता पुनले भने ।

उनले थप प्रश्न गरे, ‘प्रशव पीडामा रहेकी आफ्नी श्रीमती चढेको महानगरको गाडी ट्राफिक प्रहरीले रोक्दा सिंहदरबार जलाउँछु भन्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई एउटा गरिब मधेसी महिलाले पैसाको अभावमा सडक पेटीमै शिशु जन्माएको विषयमा किन मौन बसेको भन्दै आममानिसले प्रश्न गरिरहेको जानकारी छ कि छैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?