+
+
Shares

पुनर्निर्माण हुँदै धनकुटाको बसपार्क : ४ तले संरचनासहित आधुनिक सुविधाको परियोजना

ईश्वर थापा ईश्वर थापा
२०८३ भदौ २७ गते ६:३७

२७ भदौ, धनकुटा । धनकुटा बजारको चहलपहलसँगै जोडिएको धनकुटा नगरपालिका वडा नं. ७ मा रहेको बसपार्क लामो समयदेखि जिल्लाको यातायात आवागमनको महत्वपूर्ण केन्द्रका रुपमा रहेको छ ।

बिहानैदेखि विभिन्न जिल्लातर्फ जाने र धनकुटा भित्रिने सवारीसाधनको चाप, यात्रुको आवतजावत, होटल तथा पसलको गतिविधिले बसपार्क क्षेत्र सधैँ व्यस्त देखिन्छ । तर, यही व्यस्त बसपार्कको भौतिक अवस्था भने समयअनुसार बदलिन सकेको छैन ।

पुराना संरचना, साना–साना पसल तथा होटल, व्यवस्थित पार्किङको अभाव र यात्रुका लागि पर्याप्त सुविधा नहुँदा बसपार्कले आधुनिक सहरको आवश्यकतालाई पूरा गर्न सकेको छैन । तर, अब भने धनकुटाको यही पुरानो बसपार्कको स्वरुप बदलिने भएको छ ।

करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कलाई आधुनिक, सुविधासम्पन्न र व्यवस्थित पूर्वाधारका रुपमा विकास गर्ने योजना अघि बढाइएको छ । सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत धनकुटा नगरपालिकाले अघि सारेको प्रस्ताव अनुसार सहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत बसपार्क स्तरोन्नति गर्न लागिएको हो । चालु आर्थिक वर्षमा यसका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।

बसपार्क मात्र होइन, बहुउद्देश्यीय संरचना

प्रस्तावित योजना कार्यान्वयनमा आए धनकुटाको बसपार्क अहिलेको जस्तो केवल सवारीसाधन रोकिने र यात्रु चढ्ने र ओर्लने स्थानमा सीमित नहुने भएको छ । यसलाई यातायात, व्यापार र विभिन्न सेवासुविधालाई एउटै संरचनामा जोड्ने बहुउद्देश्यीय पूर्वाधारका रुपमा विकास गर्ने तयारी गरिएको छ । योजना अनुसार बसपार्क क्षेत्रमा चारतले संरचना निर्माण गरिने भएको छ ।

संरचनाको अन्डरग्राउन्ड भागलाई मुख्य रुपमा बसपार्कका रुपमा प्रयोग गर्ने योजना बनाइएको छ । माथिल्ला तलामा व्यावसायिक गतिविधि र अन्य सेवासुविधा सञ्चालन गर्ने अवधारणा अघि सारिएको छ ।

प्रस्तावमा व्यावसायिक हल, सेमिनार हल, पार्टी प्यालेस तथा अस्पतालजस्ता संरचना निर्माण गर्ने योजना समेटिएको छ । यसले बसपार्कलाई यातायात केन्द्रसँगै व्यापारिक तथा सेवा केन्द्रका रुपमा विकास गर्ने उद्देश्य रहेको छ । यसका लागि करिब २६ करोड रुपैयाँ लागत अनुमानसहितको विस्तृत प्रस्ताव सहरी विकास मन्त्रालयमा पठाइएको नगरपालिकाका सब–इन्जिनियर कुशल मिश्रले जानकारी दिए ।

निर्माण सामग्रीको मूल्यवृद्धि तथा अन्य कारणले परियोजनाको लागत बढेर करिब ३२ करोड रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको उनको भनाइ छ । परियोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको मिश्रको भनाइ छ ।

१५ रोपनी जमिनको नयाँ उपयोग

धनकुटा बजारसँगै रहेको बसपार्कका लागि रहेको करिब १५ रोपनी क्षेत्रफलमा महत्वपूर्ण सार्वजनिक संरचना बनाउने तयारी गरिएको हो । लामो समयदेखि यातायात प्रयोजनमा प्रयोग हुँदै आएको यो क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्न सके नगरको आर्थिक गतिविधिमा समेत योगदान पुग्ने बताइएको छ । अहिले बसपार्कभित्र विभिन्न प्रकृतिका संरचना छरिएर रहेका छन् ।

साना होटल, पसल, कोसेली घर लगायतका व्यवसाय सञ्चालनमा भए पनि तिनको व्यवस्थापन एकीकृत र योजनाबद्ध भने रहेको पाइँदैन् । सवारीसाधनको आवतजावत र यात्रुको चापसँगै अव्यवस्थित संरचनाले बसपार्कको स्वरुपलाई थप अस्तव्यस्त बनाएको पाइन्छ ।

नयाँ संरचना निर्माण भएपछि अहिलेका यस्ता गतिविधिलाई निश्चित स्थान र मापदण्डभित्र व्यवस्थापन गर्ने बाटो खुल्नेछ भने यात्रु, व्यवसायी र नगरपालिकाका लागि समेत एउटै संरचनाबाट सेवा तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने बताइएको छ ।

पूर्वी पहाडी जिल्लाको यातायात केन्द्र

धनकुटा बसपार्कको महत्व केवल धनकुटा जिल्लासँग मात्र सीमित भने रहेको छैन । धनकुटा हुँदै तेह्रथुम, भोजपुर, संखुवासभालगायत पूर्वी पहाडी जिल्लातर्फ जाने यातायातका साधनका लागि यो महत्वपूर्ण केन्द्र बनेको छ । सानाठूला सार्वजनिक यातायातका साधन नियमित रुपमा सञ्चालन हुने भएकाले दैनिक ठूलो संख्यामा यात्रुको आवतजावत हुने गरेको छ । पहाडी जिल्लाबाट धनकुटा हुँदै तराई तथा अन्य क्षेत्रतर्फ जाने यात्रुका लागि पनि बसपार्क महत्वपूर्ण सम्पर्क स्थल बनेको छ ।

यही कारण बसपार्कको भौतिक संरचना व्यवस्थित हुनु केवल धनकुटा नगरवासीका लागि मात्र नभई आसपासका जिल्लाका यात्रु तथा यातायात व्यवसायीका लागि समेत महत्वपूर्ण विषय रहेको स्थानीय गोपाल तामाङले बताए । प्रतीक्षालय, व्यवस्थित टिकट तथा व्यावसायिक सेवा, पार्किङ, शौचालयलगायतका आधारभूत सुविधाको पर्याप्त व्यवस्था हुन सके यात्रुले अहिले भोग्दै आएका धेरै समस्या समाधान हुने उनको भनाइ छ ।

‘बसपार्कको अनुहार बदलिन्छ’

नयाँ संरचना निर्माण भएपछि बसपार्क क्षेत्रको व्यापारिक गतिविधि विस्तार हुनुका साथै नगरको आम्दानी बढ्ने र समग्र धनकुटाको सौन्दर्यमा समेत सकारात्मक प्रभाव पर्ने धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रोषेश श्रेष्ठले बताए ।

पुराना र अव्यवस्थित संरचनाका कारण बसपार्कको आकर्षण र उपयोगितामा असर परेको उनको भनाइ छ । आधुनिक बसपार्क बनेपछि यातायात व्यवसायी र यात्रुलाई प्रत्यक्ष सुविधा पुग्नुका साथै बसपार्क आसपासको व्यापारिक सम्भावना पनि बढ्ने उनको भनाइ छ । नयाँ संरचना निर्माण तथा विस्तारका क्रममा आइपर्ने समस्या समाधान गर्न र आवश्यक समन्वय गर्न वडा कार्यालयले सहजीकरण गर्ने वडाध्यक्ष श्रेष्ठले बताए ।

नगरको आम्दानी बढाउने अपेक्षा

बसपार्कलाई व्यवस्थित गर्ने योजनाको अर्को महत्वपूर्ण पक्ष नगरको आन्तरिक आम्दानीसँग जोडिएको छ । अहिले छरिएर रहेका व्यापारिक गतिविधिलाई योजनाबद्ध रुपमा व्यवस्थापन गर्न सके नगरपालिकाले विभिन्न व्यावसायिक संरचनाबाट नियमित आम्दानी गर्न सक्ने बताइएको छ । व्यावसायिक हल, सेमिनार हल, पार्टी प्यालेस तथा अन्य सेवामूलक संरचनाले बसपार्क क्षेत्रलाई दिनभर सक्रिय राख्न सकिने बताइएको छ ।

यसले यातायात सञ्चालन हुने समयबाहेक पनि बसपार्क क्षेत्रमा आर्थिक गतिविधि भइरहने वातावरण बनाउने नगरपालिकाको अपेक्षा रहेको छ । स्थानीय व्यवसायीका लागि नयाँ अवसर सिर्जना हुनुका साथै रोजगारीका सम्भावना पनि बढ्ने नगरपालिकाको भनाइ छ । तर, व्यापारिक संरचना निर्माण गर्दा हाल बसपार्कभित्र व्यवसाय गरिरहेका साना व्यवसायीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि महत्वपूर्ण रहेको छ । पुन:स्थापना, स्थान निर्धारण, भाडा दर र व्यवसाय सञ्चालनका मापदण्ड स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको व्यवसायीहरुको भनाइ छ ।

बजेट आए पनि काम सुरु हुन सकेन

परियोजनाका लागि बजेट विनियोजन भए पनि निर्माण कार्य भने अझै प्रारम्भ भएको छैन । कार्यविधि स्वीकृत नहुँदा निर्माण कार्य सुरु नभएको हो । परियोजनाको कार्यविधि स्वीकृतिको चरणमा रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए । कार्यविधि स्वीकृत भएर आएपछि निर्माणसम्बन्धी थप प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख घनश्याम श्रेष्ठले पनि कार्यविधि स्वीकृत भएपछि ठेक्का प्रक्रियामा जाने तयारी गरिएको बताए । भदौको पहिलो साताभित्रै कार्यविधि स्वीकृत भएर आउने अपेक्षा गरिएको भए पनि भोटेकोशीमा आएको बाढीपछिको परिस्थितिका कारण सहरी विकास मन्त्रालयको जनशक्ति विपद् व्यवस्थापनमा केन्द्रित हुँदा प्रक्रिया केही ढिलो भएको श्रेष्ठले बताए ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?