२७ भदौ, काठमाडौं । मुस्लिम वर्ल्ड लिगले साउदी अरबको रियाद र मदिना क्षेत्रमा रहेको इस्ट-वेस्ट तेल पाइपलाइनमा भएको ड्रोन आक्रमणको कडा निन्दा गरेको छ।
साउदी प्रेस एजेन्सी एसपीएका अनुसार, मुस्लिम वर्ल्ड लिगका महासचिव शेख डा. मोहम्मद अल-इसाले यी आक्रमणहरूलाई विश्वासघाती र आपराधिक कार्यको संज्ञा दिएका छन्। यस्ता आक्रमणहरूले सबै धार्मिक मूल्यमान्यताका साथै अन्तर्राष्ट्रिय र मानवीय कानुनको गम्भीर उल्लङ्घन गर्ने उनले बताए।
महासचिव अल-इसाले मुस्लिम वर्ल्ड लिग र यसका सम्बद्ध एकाइहरूको तर्फबाट साउदी अरबप्रति पूर्ण समर्थनसमेत व्यक्त गरेका छन्।
‘साउदी अरबले आफ्नो सुरक्षा र सार्वभौमसत्ताको रक्षाका लागि चाल्ने जुनसुकै कदमलाई मुस्लिम वर्ल्ड लिगले समर्थन गर्नेछ,’ उनले भने, ‘साउदी अरबलाई आक्रमणकारीविरुद्ध कारबाही गर्ने र आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्ने पूर्ण अधिकार छ।’
जोर्डनद्वारा पनि आक्रमणको विरोध यसैगरी, जोर्डनले पनि साउदीमाथि भएको यस आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। जोर्डनको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यो आक्रमणलाई ‘अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन’ भनिएको छ।
स्मरण रहोस्, साउदी अरबको तेल पाइपलाइनमा इराकी भूमिबाट ड्रोन आक्रमण भएको दाबी गरिएको छ। इराक सरकारले यस विषयमा अनुसन्धान गरिरहेको जनाएको छ भने साउदी अरबले इराकको उक्त कदमलाई समर्थन गरेको छ।
प्रतिक्रिया 4