+
+
Shares

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

रासस रासस
२०८३ भदौ २९ गते ६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँदरले अन्नबाली नष्ट गरेपछि भोजपुरका किसान वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन् ।
  • भोजपुर नगरपालिका–५ का किसानका अनुसार बेसार बाँदरले नखाने र स्थानीय बजारमा कुरुवा १०० देखि १२० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।
  • किसानले स्थानीय तह र कृषि ज्ञान केन्द्रसँग उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गर्न आग्रह गरेका छन् ।

२९ भदौ, भोजपुर । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन् ।

विशेषगरी तल्लो भेग र जंगल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान नवराज फुँयालले बताए । बाँदरबाट बचाउन बेसार सुरक्षित र आयआर्जनको भरपर्दो माध्यमका बन्दै गएको उनको भनाइ छ ।

‘मकै, कोदा जस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,’ उनले भने, ‘बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ । पछिल्लो समय बाँदरको समस्या रहेको ठाउँमा बेसार खेती गर्ने चलन बढ्न थालेको छ ।’

बेसार खेतीबाट किसानले आम्दानी पनि राम्रो गरिरहेका छन् । भोजपुर नगरपालिका–५ की अर्की किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ । हाल स्थानीय बजारमा बेसार, पीठोप्रति कुरुवा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको न्यौपानेले जानकारी दिए ।

उत्पादित बेसार बिक्रीका लागि बजारको कुनै समस्या नरहेकाले किसानहरू थप उत्साहित भएका हुन् । जङ्गल नजिकका खेतबारीमा अन्य बाली लगाउँदा स्याहार्नै नपाई बाँदरले सखाप पार्ने समस्या वर्षौंदेखि रहँदै आएको थियो । स्थानीय किसान भीमप्रसाद न्यौपानेका अनुसार बाँदरको समूहले खेतबारी लगाएको अन्य अन्नपात नष्ट गर्ने भए पनि बेसार जमिन मुनि फल्ने तथा बाँदरले मन नपराउने कारण सुरक्षित बाली रहेको बताए । बाँदर प्रभावित क्षेत्रका लागि बेसार वैकल्पिक खेती बन्न थालेको उनको भनाइ छ ।

कम लगानी र थोरै मिहिनेतमा तयार हुने, औषधीय गुणले युक्त रहने तथा दीर्घकालीन रूपमा भण्डारण गर्न सकिने भएकाले पनि बेसार खेतीप्रति किसानको चासो बढेको छ । बाँदरको प्रकोप बढेसँगै बाझिन थालेका खेतबारीमा बेसार रोपेर पुनः हरियाली र आम्दानी बढाउन सकिने सम्भावना रहेको किसानले बताएका छन् ।

स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले बेसारको उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिए भोजपुरमा बेसार राम्रो उत्पादन हुने किसानको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?