+
+
Shares

गुल्मीमा बाँदर र बँदेल आतंक : पाकेको बाली भित्र्याउनै पाउँदैनन् किसान

गुल्मीका ग्रामीण क्षेत्रमा प्रेम नेपाली र बाबुराम पन्थी मात्र होइन, यस्ता सयौं किसान छन् जो बाँदर र बँदेल आतंकबाट पीडित छन् । खेतबारीमा गरेको वर्षौंदेखिको श्रम र परिवारको आशा एकै दिनमा समाप्त हुँदा किसान मानसिक रूपमा समेत विक्षिप्त हुने अवस्था सिर्जना भएको छ ।

अनिल खत्री अनिल खत्री
२०८३ असार २ गते ६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा बाँदर र बँदेलको आतंकले बालीनाली नष्ट गरेपछि किसानहरू ठूलो मर्कामा परेका छन् ।
  • रेसुङ्गा नगरपालिका–६ का व्यावसायिक किसान प्रेम नेपालीले भाडाको जग्गामा लगाएको मकै बाली बँदेलले नष्ट गरिदिएको छ ।
  • इस्मा गाउँपालिका–१ का किसान बाबुराम पन्थीले बाँदरको बथानले आफ्नो मकै बाली उजाड बनाएको भन्दै दुःख व्यक्त गरे ।

२ असार, गुल्मी । किसानका खेतबारीमा बाँदर र बँदेल आतंकले सीमा नाघेको छ । वर्षभरि पसिना बगाएर लगाएको बाली भित्र्याउने बेलामा वन्यजन्तुले सखाप पार्न थालेपछि गुल्मीका किसानहरू पीडामा छन् ।

अहिले मकैमा घोगा लाग्ने र पाक्ने समय हो । तर, खेतबारीमा खटिएका किसानका लागि बाँदर र बँदेल ठूलो चुनौती बनेका छन् ।

सोमबार बिहानै गुल्मीको रेसुङ्गा नगरपालिका–६ सिमाघाटका किसान प्रेम नेपालीले आफ्नो खेतमा बँदेलले मकै सखाप पारेपछि सामाजिक सञ्जालमार्फत पीडा पोखे । बिहान ५ बजे नै फेसबुक लाइभमा आएका उनी वर्षौंदेखि गरेको मिहिनेत एकैछिनमा सखाप भएको भन्दै भावुक बने ।

सयौं रोपनी जग्गा भाडामा लिएर व्यावसायिक कृषि गर्दै आएका नेपालीले बेमौसमी मकै उत्पादन गरेर बजारमा बिक्री गर्ने तयारी गरेका थिए । तर, उत्पादन लिने बेलामा बँदेलले क्षति पुर्‍याएको उनले बताए ।

लाइभबाटै उनले जग्गाधनीलाई सम्बोधन गर्दै ‘अब घरभाडा नमाग्नु होला, माग्न नआउनु होला’ भनेका छन् । मिहिनेत, लगानी र आशा सबै एकैपटक समाप्त भएको गुनासो उनले गरेका थिए ।

कृषि पेसालाई व्यवसाय बनाउने सपना बोकेका नेपाली जस्ता किसान अहिले वन्यजन्तु आतंकका कारण निराश बनेका छन् । उनीहरूको भनाइमा खेती गर्ने बेला मल, बीउ, जोताइ, सिँचाइ र मजदुरीमा ठूलो खर्च हुने गरेको छ । तर, उत्पादन भित्र्याउने बेला बाँदर र बँदेलले खेतबारी उजाडिदिएपछि लगानीसमेत उठाउन मुस्किल हुने गरेको छ ।

इस्मा गाउँपालिका–१ का किसान बाबुराम पन्थीको अवस्था पनि फरक छैन । पाक्न थालेको मकै बाँदरले सखाप पारेपछि उनले भिडियोमार्फत आफ्नो दुःख सुनाएका छन् । एकै दिनमा बाँदरको हुल आएर खेतबारी उजाडेको उनले बताए ।

‘हिजो एकै दिनमा बाँदरले सबै बाली सखाप पारेछन्,’ पन्थीले दुःखी हुँदै भनेका छन् । खेतबारीमा मकै हुर्काउन आफूले करिब दुई महिनासम्म बिहान–बेलुका मल बोकेको स्मरण गर्दै उनले आफ्नो मिहिनेत खेर गएको बताए ।

पन्थीले आफू र श्रीमती जमुना पन्थीले २ महिना मल बोकेर गरेको दुःख सम्झँदै भावुक अभिव्यक्ति दिएका छन् । ‘मेरै करले करिब दुई महिनासम्म बिहान र बेलुका मल बोक्यौं, हृदयदेखि क्षमा चाहन्छु’, उनले भनेका छन् ।

श्रीमतीले छुट्टीको समयमा पर्म तिरेर गरेको मिहिनेत आज सबै खेर गएकोप्रति उनले दुःख व्यक्त गरेका छन् । उनले आफ्नो भिडियोमा भावुक हुँदै भनेका छन्, ‘अब यी पोस्कर लिएर घरमा कसरी लैजाऊँ ? छोरा–बुहारीको त्यो दुःख र आजको यो हालत देखेर आमालाई कस्तो पीडा होला ।’

पन्थीको यो अभिव्यक्तिले ग्रामीण किसानको वास्तविक अवस्था झल्काउँछ । पेसाले शिक्षकसमेत रहेका उनी फुर्सदको समयमा कृषि पशुपालन गर्दै आएका छन् ।

खेतबारीमा गरेको वर्षौंदेखिको श्रम र परिवारको आशा एकै दिनमा समाप्त हुँदा किसान मानसिक रूपमा समेत विक्षिप्त हुने अवस्था सिर्जना भएको छ । ग्रामीण क्षेत्रमा प्रेम नेपाली र बाबुराम पन्थी मात्र होइन, यस्ता सयौं किसान छन् जो बाँदर र बँदेल आतंकबाट पीडित छन् ।

कतिपयले खेतबारीमा रातभरि बस्ने, ड्रम बजाउने, कुकुर पाल्ने र विभिन्न उपाय अपनाउने गरेका छन् । तर वन्यजन्तुको संख्या बढ्दै जाँदा ती उपाय प्रभावकारी हुन सकेका छैनन् ।

स्थानीय किसानहरूका अनुसार विगत केही वर्षयता बाँदर र बँदेलको समस्या विकराल बन्दै गएको छ । उत्पादन लिने बेलाका मकै, तरकारी, फलफूल, आलु लगायतका बालीमा ठूलो क्षति पुग्ने गरेको छ ।

परिणामस्वरूप धेरै किसानले खेतीयोग्य जमिन बाँझै छाड्न थालेका छन् भने केहीले गाउँ नै छाडेर अन्यत्र बसाइँ सर्न थालेका छन् । कृषि उत्पादन बढाउने र युवालाई गाउँमै स्वरोजगार बनाउने सरकारी नीतिको चर्चा भइरहे पनि किसानहरू भने वन्यजन्तुको समस्याबाट जोगिन नसकेको गुनासो गर्छन् ।

उनीहरूका अनुसार बाली नष्ट हुँदा क्षतिपूर्ति पाउने व्यवस्था छैन भने दीर्घकालीन समाधानका लागि पनि पर्याप्त पहल हुन सकेको छैन ।

गाउँमा खेती गर्न चाहने किसान दिन प्रतिदिन घट्दै जानु, खेतीयोग्य जमिन बाँझिनु र युवा पुस्ता गाउँ छाड्न बाध्य हुनुका पछाडि बाँदर र बँदेलको बढ्दो आतंक प्रमुख कारणका रूपमा देखिन थालेको छ ।

 

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?