News Summary
Generated by OK AI. Editorially reviewed.- आर्या फार्मा ल्याबले चितवन मेडिकल कलेजसँगको सहकार्यमा नुवाकोटको विदुर नगरपालिकामा भदौ ३१ गतेदेखि सातदिने निःशुल्क सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
- शिविर विदुर–७ सुलोचना स्कुल, वडा नं. ५ वरिपुली विद्यालय र वडा नं. ९ भैरमकोटमा सञ्चालन हुनेछ।
- शिविरमा चिकित्सकीय परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि र विभिन्न रोगको परीक्षण निःशुल्क उपलब्ध गराइनेछ।
२९ भदौ, नुवाकोट । बाढी प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरको औषधिजन्य सामग्री सहयोग गरिसकेको आर्या फार्मा ल्याबले अब नुवाकोटको विदुर नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।
ल्याबले चितवन मेडिकल कलेजसँगको सहकार्यमा विदुर नगरपालिकाका बाढी प्रभावित समुदायका लागि सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।
स्वास्थ्य शिविर भदौ ३१ गते बुधबारदेखि सञ्चालन हुनेछ। शिविर विदुर नगरपालिका–७ स्थित सुलोचना स्कुल, वडा नं. ५ स्थित वरिपुली विद्यालय र वडा नं. ९ स्थित भैरमकोटमा सञ्चालन हुनेछ।
शिविरमा बाढी प्रभावित स्थानीयवासीलाई चिकित्सकीय परामर्श, स्वास्थ्य परीक्षण, आवश्यक औषधि तथा विभिन्न रोगको परीक्षणलगायत स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराइने आर्या फार्माले जनाएको छ।
थप उपचार आवश्यक पर्ने बिरामीको पहिचान गरी आवश्यक चिकित्सकीय सल्लाह तथा थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने व्यवस्था समेत गरिनेछ।
आर्या फार्मा ल्याब र चितवन मेडिकल कलेजले बाढीपछि स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रभावित समुदायमै विशेष स्वास्थ्य सेवा पुर्याउने योजना बनाएका हुन्।
प्रतिक्रिया 4