३० भदौ, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५० वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ ।
ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले फेला परेका सवारीसाधन आज आयोजित कार्यक्रममा सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका सवारीसाधनमा २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर छन् ।
सवारीसाधन हस्तान्तरण गर्दै एसएसपी काफ्लेले आफ्नो सवारीसाधनको सुरक्षामा विशेष ध्यान दिन सवारी धनीलाई आग्रह गरे । उनले ह्विल लक, डिस्क लक तथा जीपीएस प्रणालीजस्ता सुरक्षा उपकरण प्रयोग गर्न सुझाव दिए ।
सवारीसाधन चोरी वा हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराउन पनि उनले आग्रह गरे ।
ट्राफिक प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले सवारीसाधन सुरक्षाका लागि प्राविधिक निगरानीसहितको सुरक्षित स्मार्ट पार्किङ व्यवस्थापन पनि आवश्यक रहेको बताए । उनले सवारीसाधन चोरीबाट जोगाउन भौतिक तथा डिजिटल दुवै प्रकारका सुरक्षा प्रविधि प्रयोग गर्नुपर्नेमा जोड दिए ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म १६६ वटा हराएका तथा चोरी भएका दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकेको जनाएको छ ।
फेला परेको सवारीसाधन बुझ्दै धनीले ट्राफिक प्रहरी कार्यालयले गुमेको सम्पत्ति र खुसी दुवै फिर्ता गराएको प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया 4