+
+
Shares

बंगलादेशमा शेख हसिनाको पार्टीका सात शीर्ष नेतालाई मृत्युदण्ड सुनाइयो

बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका ७ शीर्ष नेताहरूमाथि मृत्युदण्डको सजाय सुनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १९:४०

३० भदौ, काठमाडौं । बंगलादेशको इन्टरनेसनल क्राइम्स ट्रिब्युनलले मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका ७ शीर्ष नेताहरूमाथि मृत्युदण्डको सजाय सुनाएको छ ।

सन् २०२४ को विद्यार्थी आन्दोलनका क्रममा मानवताविरुद्धका अपराध गरेको ठहर गर्दै उनीहरूमाथि मृत्युदण्डको सजाय सुनाइएको हो ।

सातै जना नेताहरूमाथि आन्दोलनका क्रममा हिंसा भड्काउन, त्यसको निर्देशन दिन वा हिंसालाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लगाइएको छ ।

यो मुद्दाका लागि तीन सदस्यीय ट्रिब्युनल (आईसीटी–२) को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए ।

सातै अभियुक्तविरुद्ध उनीहरूको अनुपस्थितिमै मुद्दा चलाइएको थियो । उनीहरू फरार रहेको भनिएको छ ।

मृत्युदण्ड सुनाइएका नेतामा अवामी लिगका महासचिव ओबैदुल कादेर, संयुक्त महासचिव एएफएम बहाउद्दिन नसीम र मोहम्मद अली अराफात छन् ।

यस्तै, जुबो लिगका अध्यक्ष शेख फजले शाम्स पराश, महासचिव मैनुल हुसेन खान निखिल, बंगलादेश छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ एनान रहेको बंगलादेशी सञ्चारमाध्यम ढाका ट्रिब्युनले जनाएको छ ।

अदालतले सातै अभियुक्तका तर्फबाट सरकारी वकिल नियुक्त गरेको थियो ।

यसअघि सन् २०२४ कै विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा १० महिनाअघि पूर्वप्रधानमन्त्री शेख हसिनालाई पनि मृत्युदण्ड सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?