News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सको औपचारिक उद्घाटन असोज ३ गते हुने भए पनि बास्केटबल, फुटबल र महिला भलिबलका खेलहरू सुरु भइसकेका छन्।
- निरुता ठगुन्नाको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली महिला भलिबल टोलीले पहिलो खेलमा जापान र दोस्रो खेलमा १७ सेप्टेम्बरमा इन्डोनेसियासँग खेल्नेछ।
- मुख्य प्रशिक्षक जगदिश भट्टले लामो तयारीपछि विगतभन्दा राम्रो नतिजा ल्याउने र १४औं दक्षिण एसियाली खेलकुदका लागि आत्मविश्वास बढाउने लक्ष्य रहेको बताए।
३१ भदौ, काठमाडौं । २०औं एसियन गेम्सको औपचारिक उद्घाटन यही सेप्टेम्बर १९ अर्थात असोज ३ गते जापानको नागोयास्थित मिजुहो पार्क एथ्लेटिक स्टेडियममा हुने भएपनि विभिन्न खेलको प्रतिस्पर्धाहरू भने सुरु भइसकेको छ ।
औपचारिक उद्घाटन अघि नै बास्केटबल र फुटबलको खेलहरू सुरु भइसकेका छन् भने १६ सेप्टेम्बरदेखि भलिबल (महिला) खेल पनि सुरु हुनेछ ।
सेप्टेम्बर १० देखि बास्केटबलको खेलहरू सुरु भएको थियो भने सेप्टेम्बर १४ देखि महिला फुटबल सुरु भएको हो । यस्तै आजदेखि महिला भलिबलसँगै मोडर्न पेन्टाथलन पनि सुरु हुनेछ ।
नेपालबाट यस पटक एसियन गेम्समा विभिन्न २१ खेल सहभागी हुँदा भलिबलमा महिला टोली मात्र सहभागी छ ।
समूह ए मा रहेको नेपाली महिला भलिबल टोलीले पहिलो खेलमै बलियो टोली आयोजक जापानको सामना गर्नेछ । यस्तै समूहको दोस्रो खेल सेप्टेम्बर १७ मा इन्डोनेसियासँग खेल्नेछ ।
यस पटक एसियन गेम्समा उत्कृष्ट टोलीहरू मात्र छनोट भएका छन् । नेपालसहित एसियाका उत्कृष्ट १४ टोलीले एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन् ।
एफआईभीबी विश्व वरियतामा महिलातर्फ जापान छैटौं स्थानमा छ भने इन्डोनेसिया ५३औं र नेपाल ६९औं स्थानमा छ । एसियामा भने जापान पहिलो इन्डोनेसिया नवौं र नेपाल ११औं स्थानमा छ ।
नेपालको महिला भलिबल टोलील लगातार दोस्रो पटक एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा नेपालको महिला र पुरुष दुवै टोलीको सहभागिता थियो । त्यस बेला नेपालको महिला टोली ११औं भएको थियो ।
एसियाकै ठूलो खेलकुद मेलामा नेपाली भलिबलका लागि यो ठूला टिमसँग खेल्ने र एक्सपोजर लिने राम्रो अवसर हुनेछ । साथै यस पटक नेपालले १९औं एसियन गेम्स भन्दा राम्रो नतिजा ल्याउँदै वरियतामा सुधार गर्ने लक्ष्य राखेको छ ।
निरुता ठगुन्नाको कप्तानीमा रहेको १२ सदस्यीय नेपाली महिला टोली जापानको नागोया पुगिसकेका छन् । टोलीले मुख्य खेलअघि त्यहाँ प्रशिक्षण समेत गरेको छ ।
एसियाको मात्र नभएर विश्वकप भलिबलमा समेत बलियो टोलीको रुपमा रहेको आयोजक जापानसँग खेल्दै नेपाली महिला टोलीले २०औं एसियन गेम्सको यात्रा सुरु गर्नेछ ।
२०औं एसियन गेम्समा सहभागी खेलमध्ये नेपालबाट प्रतिस्पर्धा गर्ने पहिलो खेल नै भलिबल हुनेछ । फरक स्थान र माहोलमा पहिलो खेलमै बलियो टोलीसँग प्रतिस्पर्धा गर्न केही कठिन हुनेछ ।
तर नेपाली टोलीले जापान जानुअघि काठमाडौंमा लामो समयदेखि तयारी गरिरहेको छ । जसले गर्दा यस पटक एसियन गेम्समा महिला टोलीले राम्रो प्रदर्शन गर्ने मुख्य प्रशिक्षक जगदिश भट्टको विश्वास छ ।
‘एसियन गेम्स हाम्रो लागि मिनी ओलम्पिक जस्तै हो । लामो समयदेखि प्रशिक्षण भइरहेको छ । यद्यपी पछिल्लो एसियन गेम्स खेलेका ९ खेलाडी अहिले छैनन्, भट्टले जापन जानुअघि भनेका थिए, ‘विगतमा भन्दा राम्रो प्रदर्शन गर्दै नतिजा राम्रो ल्याउने र आउँदै गरेको १४औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने लक्ष्य छ ।’
तीन वर्षअघि हान्झाउमा १९औं एसियन गेम्स खेलेका कप्तान अरुणा शाही सहित ९ खेलाडी टिममा फेरिएका छन् । त्यसबेला खेलेका निरुता ठगुन्ना, उषा भण्डारी र सलिना श्रेष्ठ मात्र हाल २०औं एसियन गेम्स खेल्ने टोलीमा छन् । निरुता टोलीको कप्तान नै छिन् भने उनीसहित उषा र सलिना टिमको सिनियर खेलाडीको रूपमा छन् ।
अन्य खेलाडीहरूले पनि काभा महिला भलिबलको विभिन्न प्रतियोगिताहरू खेलेको अनुभव छ तर एसियन गेम्समा भने उनीहरूको लागि यो पहिलो सहभागिता हुनेछ ।
पुरानो र नयाँ खेलाडीहरूको मिश्रणले राम्रो नतिजा ल्याउने प्रशिक्षक भट्टले बताए । ‘१९औं एसियन गेम्स खेलेको ३ खेलाडी मात्र छ । पुरानो भन्दा राम्रो छ टिम । तर अनुभवले म्याटर गर्छ कि जस्तो लाग्छ । तर हामीले जुन तरिकाले मोटिभेट गरेका छौँ त्यसबाट राम्रो हुने अपेक्षा छ ।’
प्रशिक्षक भट्टले विगतमा भन्दा राम्रो नतिजा ल्याउने लक्ष्यका साथ तयारी गरिरहेको बताए । साथै एसियन गेम्समा राम्रो गर्न सके नेपाली भलिबलको आउने दिनका लागि पनि फाइदा पुग्ने बताए । ‘खेलाडीले राम्रो प्रदर्शन गर्छन र विगतमा भन्दा राम्रो नतिजा आउँछ भन्ने आशा छ । अहिले राम्रो नतिजा ल्यायो भने भोलि नेपाली भलिबलले राम्रो फड्को मार्न सक्छ ।’
यस्तै कप्तान निरुता ठगुन्नाले पनि लामो समयको तयारीले टिममा सुधार आइरहेको र टिम कम्बिनेसन राम्रो बनेको बताएकी छन् ।
‘लामो समयको तयारी छ । पहिला भन्दा अहिले सुधार भाछ । सिनियर जुनियर खेलाडीको कम्बिनेसन मिलिराको छ । पहिला नयाँ खेलाडीहरू हुँदा अली गाह्रो भइराथ्यो । अहिले लामो समय ट्रेनिङ गर्दा सहज भाछ’ जापन जानुअघि निरुताले भनेकी थिइन् ।’
प्रशिक्षक भट्टले भनेजस्तै कप्तान निरुताले पनि ठूला प्रतियोगिताअघि फ्रेण्ड्ली म्याच खेल्न पाएको भए अझ राम्रो हुन सक्ने बताइन् ।
नेपाली महिला भलिबल टोलीले मिसन २०२६ अन्तर्गत रहेर निरन्तर प्रशिक्षण गरिरहेपनि यसबीचमा अन्तर्राष्ट्रिय एक्सपोजर भने धेरै लिन पाएन । घरेलु कोर्टमै भएको काभा महिला भलिबल च्याम्पियनसिपमा इरान र भारतसँग खेल्नु नै नेपालको लागि सबैभन्दा ठूलो एक्सपोजर रह्यो ।
यद्यपी २०औं एसियन गेम्समा पहिलो खेलमै जापानसँग खेल्न लागेको महिला टोलीले दोस्रो खेलमा भने इन्डोनेसिया विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्ने लक्ष्य राखेको छ ।
नेपालले कम्तीमा इन्डेनसियालाई पराजित गर्न सकेमा समूहको शीर्ष दुईमा रहेर क्वाटरफाइनल प्रवेश गर्नेछ । यसो हुन सके नेपालको वरियता शीर्ष ८ भित्र पर्नेछ र अझ बलिया टिमहरूसँग थप खेल खेल्ने अवसर पाउनेछ ।
यदि समूहको दुवै खेलमा पराजित भएमा भने नेपालले नवौं देखि १४औं स्थानसम्मका लागि क्लासिफिकेसन म्याच खेल्नुपर्नेछ ।
प्रतिक्रिया 4