News Summary
Generated by OK AI. Editorially reviewed.- डेभिड वार्नर नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएपछि सातै टोलीका बलरको चुनौतीमा नजर छ ।
- वार्नरविरुद्ध सन्दीप लामिछानेको पुनः भेट विशेष हुनेछ, किनकि उनले यसअघि सीपीएलमा वार्नरलाई १४ रनमा आउट गरेका थिए ।
- तथ्यांकअनुसार वार्नरले बायाँहाते अर्थोडक्स स्पिनविरुद्ध १६१.० र लेग स्पिनविरुद्ध १५१.० को स्ट्राइक रेटमा खेल्दै आएका छन् ।
३१ भदौ, काठमाडौं । अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएपछि उनको ब्याटिङ हेर्न जति उत्साह छ, त्यति नै चासो उनीविरुद्ध बलिङ गर्ने नेपाली तथा विदेशी बलरलाई लिएर पनि छ ।
विश्व क्रिकेटमा लामो समयदेखि आक्रामक ब्याटिङका लागि परिचित वार्नरले एनपीएलमा सातवटै टोलीका फरक–फरक शैलीका बलरको सामना गर्नेछन् ।
नेपाली बलरमध्ये सन्दीप लामिछानेसँग भने वार्नरविरुद्ध खेलिसकेको अनुभव छ । सन्दीपले वार्नरको विकेट नै लिएका छन् । बाँकी नेपाली बलरका लागि वार्नरविरुद्धको प्रतिस्पर्धा नयाँ हुनेछ ।
टी–२० मा वार्नरले अहिलेसम्म १४ हजारभन्दा बढी रन बनाइसकेका छन् । उपलब्ध बलिङ प्रकारअनुसारको तथ्यांक हेर्दा उनी बायाँहाते अर्थोडक्स स्पिनविरुद्ध १६१.० को स्ट्राइक रेटमा खेलेका छन् ।
लेग स्पिनविरुद्ध १२०० भन्दा बढी रनसहित उनको स्ट्राइक रेट १५१.० छ । अफ–स्पीनविरुद्ध भने झन्डै २ हजार रन बनाएका वार्नरको १३०.० को स्ट्राइक रेट छ ।
यता बायाँहाते तीव्र गतिका बलरविरुद्ध उनको स्ट्राइक रेट १२६.७ छ भने दायाँहाते तीव्र गतिका बलरविरुद्ध १४२.० ।
यही तथ्यांकले एनपीएलमा वार्नरविरुद्धको बलिङ भिडन्तलाई थप रोचक बनाउँछ ।

स्पीनमा वार्नरलाई कसले चुनौती दिने ?
स्पीन विभागमा एनपीएलका लगभग सबै टोलीसँग वार्नरलाई फरक शैलीमा परीक्षण गर्न सक्ने बलर छन् ।
विराटनगर किङ्सका कप्तानसमेत रहेका सन्दीप लामिछाने वार्नरसँग पुरानो भेट भएका एकमात्र नेपाली बलर हुन् । उनले आईपीएल र सीपीएलमा वार्नर विरुद्ध खेलेका छन् भने बीपीएलमा एउटै टिमबाट खेलेका छन् ।
सन् २०१८ को सीपीएलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेल्दा सन्दीपले सेन्ट लुसिया किङ्सका डेभिड वार्नरलाई १४ रनमा आउट गरेका थिए । त्यसबेला बेन कटिङले क्याच लिएका थिए ।
यस्तै सन् २०१९ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दा सन्दीपले सनराइजर्स हैदराबादका वार्नरलाई बलिङ गरेका थिए । अप्रिल ४ को खेलमा वार्नरले सन्दीपको पहिलो ओभरका चार बल सामना गर्दा एक रन लिएका थिए भने त्यसपछि पनि सन्दीपको बलिङमा वार्नरले रन जोड्ने प्रयास गरेका थिए ।
सन्दीपले सो खेलमा वार्नरलाई आउट भने गर्न सकेनन् । वार्नर उक्त खेलमा १८ बलमा १० रन बनाएर कागिसो रबाडाको बलमा आउट भएका थिए ।
एनपीएलमा फेरि आमनेसामने हुँदा सन्दीपसँग वार्नरको खेल केही हदसम्म परिचित हुनेछ । लेग स्पिनविरुद्ध वार्नरको टी–२० स्ट्राइक रेट १५१.० रहेकाले सन्दीपका लागि सही लाइन र लम्बाइ कायम राख्नु महत्वपूर्ण हुनेछ । विराटनगरकै नरेन साउद, सुवास भण्डारी र बसिर अहमद पनि स्पीन विकल्पका रूपमा छन् ।

जनकपुर बोल्ट्सका ललित राजवंशी भने बायाँहाते अर्थोडक्स स्पिनबाट वार्नरको सामना गर्नेछन् । वार्नरको तथ्यांकले यही बलिङ प्रकारविरुद्ध उनी निकै आक्रामक रहेको देखाउँछ ।
त्यसैले ललितका लागि वार्नरलाई सामान्य स्पिन बलिङभन्दा फरक योजनाबाट नियन्त्रण गर्ने चुनौती हुनेछ। जनकपुरले ललितलाई तेस्रो संस्करणका लागि निरन्तरता दिएको छ ।
सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी पनि वार्नरका लागि फरक किसिमको स्पीन चुनौती हुन् । दीपेन्द्र दायाँहाते अफ–स्पिन बलिङ गर्छन् र अफ–स्पिनविरुद्ध वार्नरको स्ट्राइक रेट १३०.० छ ।
लुम्बिनी लायन्सका रोहित पौडेल पनि आवश्यक परेको अवस्थामा बलिङमा प्रयोग हुन सक्छन् । उनीसँगै अभिशेष गौतम पनि लुम्बिनीको बलिङ विकल्पमा छन् । लुम्बिनीको टोलीमा वार्नरविरुद्ध स्पिनमार्फत विकल्प सिर्जना गर्ने जिम्मेवारी यी खेलाडीमा पनि आउन सक्छ ।
कर्णाली याक्सका बिपिन शर्मा, पवन सर्राफ र युवराज खत्री, चितवन राइनोजका कुशल मल्ल र रन्जित कुमार, पोखरा एभेन्जर्सका सागर ढकाल लगायत अन्य टोलीका स्पिन विकल्पले पनि वार्नरलाई फरक परिस्थितिमा सामना गर्नेछन् । युवा स्पीनरका लागि भने वार्नरजस्तो अनुभवी टी–२० ब्याटरविरुद्ध बलिङ गर्नु ठूलो परीक्षण हुनेछ ।
नेपाली बलर मात्र नभइकन विदेशी स्टारसँग पनि वार्नरको भिडन्त हुनेछ, त्यो पनि नेपालकै त्रिवि क्रिकेट मैदानमा ।
पोखरा एभेन्जर्समा शाकिब अल हसन थपिएपछि यो भिडन्त अझै रोचक बनेको छ । शाकिब बायाँहाते अर्थोडक्स स्पिनर हुन् । वार्नर र शाकिबबीच अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ ।

उपलब्ध हेड–टु–हेड तथ्यांकअनुसार टी–२० मा वार्नरले शाकिबको ३८ बलमा ६३ रन बनाएका छन् र शाकिबले उनलाई पाँचपटक आउट गरेका छन् । त्यसैले एनपीएलमा वार्नर–शाकिबको भेट भए त्यो लिगमा नयाँ नाम भए पनि उनीहरूका लागि व्यक्तिगत रूपमा नयाँ प्रतिस्पर्धा भने हुने छैन ।
चितवन राइनोजका सिकन्दर राजा पनि अफ–स्पिनबाट बलिङ गर्न सक्छन् । वार्नर र राजाबीच पनि अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटको लामो अनुभव छ । राजाले दायाँहाते अफ–स्पिनमार्फत वार्नरलाई बलिङ गर्दा उनीसँग बलको गति र कोण परिवर्तन गर्ने विकल्प हुनेछ ।
वार्नरको बलिङ प्रकारविरुद्धको तथ्यांक हेर्दा भने स्पिनरहरूले उनलाई सहजै रोक्ने अनुमान गर्न मिल्दैन। बायाँहाते अर्थोडक्स स्पिनविरुद्ध १६१.० को स्ट्राइक रेटले वार्नरको आक्रामकता स्पष्ट देखाउँछ ।
तीव्र गतिमा कसले थाम्ला वार्नरलाई ?
पेस बलिङतर्फ पनि एनपीएलका सातै टोलीमा वार्नरलाई नयाँ चुनौती दिने नाम छन् । कर्णाली याक्सका सोमपाल कामी र नन्दन यादव, सुदूरपश्चिम रोयल्सका हेमन्त धामी र अविनाश बोहरा, पोखरा एभेन्जर्सका आकाश चन्द, चितवन राइनोजका रिजन ढकाल, जनकपुर बोल्ट्सका विकास आग्री, विराटनगर किङ्सका प्रतिश जिसी मुख्य नेपाली पेस बलरका रूपमा छन् ।
कर्णाली याक्सका कप्तान तथा राष्ट्रिय टोलीका अनुभवी पेस बलर सोमपाल कामी वार्नरविरुद्ध नेपाली पेस बलिङको अनुभवी विकल्प हुन् । सोमपाल दायाँहाते फास्ट–मिडियम बलर हुन् । नयाँ बलमा स्विङ र लम्बाइ मिलाउन सके सोमपालका लागि वार्नरविरुद्ध सुरुवाती ओभर महत्वपूर्ण बन्न सक्छन् । यस्तै नन्दन यादव र गुद्शन झाले पनि शर्ट लेन्थ बलमा वार्नरलाई फसाउन सक्छन् ।
नेपाली मात्र नभएर विदेशी पेस बलिङको विकल्प पनि थुप्रै छन् । जनकपुर बोल्ट्सका जिम्मी नीशम तीमध्ये फरक नाम हुन् । न्युजिल्यान्डका अलराउन्डर नीशमले यसअघि पनि एनपीएल खेलिसकेका छन् र तेस्रो संस्करणका लागि जनकपुरमा फर्किएका हुन् । उनले पहिलो संस्करणमा ९ खेलबाट २४७ रन बनाउनुका साथै सात विकेट लिएका थिए ।
वार्नरविरुद्ध नीशमको बलिङ तीव्र गतिको बलरको जस्तो मात्र नभएर गति र लाइन परिवर्तनमा आधारित हुनेछ । वार्नरलाई सुरुवाती चरणमै नियन्त्रणमा राख्न सके नीशमको बलिङ जनकपुरका लागि उपयोगी हुन सक्छ ।

सुदूरपश्चिम रोयल्सका स्कट कुगेलेइन भने वार्नरलाई गति र उचाइबाट परीक्षण गर्न सक्ने विदेशी पेसर हुन् । न्युजिल्यान्डका तीव्र गतिका बलर कुगेलेइन एनपीएलमा लगातार तेस्रो सिजन सुदूरपश्चिमबाट खेल्दैछन् । पहिलो संस्करणमा उनले नौ खेलमा १७ विकेट लिएका थिए भने दोस्रो संस्करणमा नौ खेलमा १० विकेट लिए ।
चितवन राइनोजका रवि बोपारा पनि वार्नरविरुद्ध प्रयोग हुन सक्ने अनुभवी अलराउन्डर हुन् । बोपाराको लामो फ्रेन्चाइज अनुभवका कारण उनीसँग वार्नरको आक्रामक ब्याटिङलाई योजनाबद्ध रूपमा सामना गर्ने अनुभव हुनेछ ।
लुम्बिनी लायन्सका रुबेन ट्रम्पेलमन भने वार्नरका लागि विशेष चुनौती हुन सक्छन् । नामिबियाका बायाँहाते तीव्र गतिका बलर ट्रम्पेलमन नयाँ बलमा गति र कोणबाट ब्याटरलाई समस्यामा पार्न सक्ने शैलीका बलर हुन्। लुम्बिनीले उनलाई तेस्रो संस्करणका लागि पुनः टोलीमा राखेको छ ।
वार्नरको उपलब्ध टी–२० तथ्यांकमा बायाँहाते तीव्र गतिका बलरविरुद्ध उनको स्ट्राइक रेट १२६.७ छ, जुन दायाँहाते तीव्र गतिका बलरविरुद्धको १४२.० भन्दा कम हो । त्यसैले ट्रम्पेलमनसँगको सम्भावित भिडन्त तथ्यांकका हिसाबले पनि चासोको विषय बन्न सक्छ ।
विराटनगर किङ्सका प्रतिश जीसी बायाँहाते मिडियम–फास्ट बलर हुन्। त्यसैले ट्रम्पेलमनजस्तै प्रतिशको बायाँहाते कोण पनि वार्नरविरुद्धको बलिङमा फरक पक्ष बन्न सक्छ ।
वार्नरका लागि कुन बलिङ शैली कठिन ?

आठ टोलीका बलरलाई हेर्दा वार्नरले एनपीएलमा एउटै प्रकारको बलिङ मात्र सामना गर्ने छैनन् । सन्दीपको लेग स्पीनदेखि दीपेन्द्रको अफस्पीन अनि ललित राजवंशीको बाँयाहाते स्पीन र शेर मल्लको मिस्ट्री स्पीन, जो बलर भएपनि वार्नर नेपाली क्रिकेटका युवा स्टारको सामना गर्न तयार रहनेछन् ।
लेग/अफ–स्पिनदेखि ललित र शाकिबको बायाँहाते स्पिन, दीपेन्द्रको अफ–स्पिन, सोमपाल र कुगेलेइनको पेस तथा ट्रम्पेलमन र प्रतिशको बायाँहाते पेससम्म फरक विकल्प हुनेछन् ।
तर तथ्यांकले एउटा रोचक तस्वीर देखाउँछ । वार्नर बायाँहाते अर्थोडक्स स्पिनविरुद्ध १६१.० र लेग स्पिनविरुद्ध १५१.० को स्ट्राइक रेटमा खेल्दै आएका छन् । अफ–स्पिनविरुद्ध भने १३०.० र बायाँहाते तीव्र गतिविरुद्ध १२६.७ छ । दायाँहाते तीव्र गतिविरुद्ध उनको स्ट्राइक रेट १४२.० छ ।
यसले एनपीएलका बलरका लागि एउटा स्पष्ट सन्देश दिन्छ- वार्नरलाई रोक्ने कुरा केवल बलरको नाम वा शैलीमा निर्भर हुने छैन । टीयू मैदानको अवस्था, नयाँ बलको प्रयोग, बलिङको कोण, लम्बाइ र फिल्डिङ योजना पनि उत्तिकै महत्वपूर्ण हुनेछन् ।
तर सबैभन्दा बढी प्रतीक्षा भने वार्नर र सन्दीपको पुनः भेटको हुनेछ । ७ वर्षअघिको आईपीएलमा एकअर्काको सामना गरिसकेका यी दुई खेलाडी अब नेपालको सबैभन्दा ठूलो घरेलु टी–२० प्रतियोगिताको मैदानमा आमनेसामने हुनेछन् ।
बाँकी बलरका लागि भने विश्व क्रिकेटका अनुभवी ब्याटरविरुद्ध आफ्नो योजना परीक्षण गर्ने अवसर हुनेछ। वार्नरको ब्याट र एनपीएलका अन्य टोलीका बलरबीचको यो प्रतिस्पर्धाले उनको नेपाल आगमनलाई मैदानमै अर्को तहको चासो दिने निश्चित छ ।
प्रतिक्रिया 4