News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सचेतक निश्कल राईले रसुवाको भोटेकोशी बाढीपीडितको तत्काल पुनर्स्थापना र पुनर्निर्माण कार्ययोजना ल्याउन सरकारसँग माग गरे।
- उनले विपद् प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी, सरसफाइ, सङ्क्रामक रोग नियन्त्रण र मनोसामाजिक परामर्शका लागि एकीकृत योजना तत्काल सञ्चालन गर्नुपर्ने बताए।
- राईले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको र पीडितले भाषण होइन, परिणाम खोजेको बताए।
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद्को समयमा अहङ्कारभन्दा संवाद, धम्कीभन्दा जिम्मेवारी र प्रचारभन्दा परिणाममा जोड दिन सरकारलाई आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढीपीडित पुनर्स्थापना र नागरिकको पुनर्निमाणको कार्ययोजना तत्काल ल्याउन पनि सरकारसँग माग गरे ।
बाढीबाट घर तथा आफन्त गुमाएका नागरिकको पुनर्स्थापना कहिले र कहाँ हुन्छ ? भन्नेबारे सरकारले तत्काल जवाफ दिनुपर्ने समेत उनले बताए ।
‘सरकारसँग म सोध्न चाहन्छु, पीडित नागरिक अब कहिले, कहाँ बास पाउँछन् ? अनि कति लामो समयपछि तिनको आफ्नै घर हुनेछ ? त्यो समयसम्म ती नागरिकलाई कहाँ र कसरी पुनर्स्थापित गरिनेछ ? हामीसँग पीडामा परेका नागरिकको जिम्मेवारी छ । सरकारलाई म अझै पनि जिम्मेवार हुन र सचेत र संवेदनाका साथ पुनर्स्थापना र पुनर्निर्माणमा जुट्न अनुरोध गर्न चाहन्छु । स्वच्छ खानेपानी र सरसफाइको अभाव, सङ्क्रमण रोग, खाद्य सङ्कट र सबैभन्दा महत्त्वपूर्ण विषय प्रभावित सबैको मानसिक स्वास्थ्यको नाजुक अवस्थातर्फ संवेदनशील बन्नुपर्दछ,’ सांसद राईले भने ।
सचेतक राईले बाढी प्रभावित क्षेत्रमा स्वच्छ खानेपानी र सरसफाइको अभाव, सङ्क्रामक रोगको जोखिम, खाद्य सङ्कट तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्न सक्ने भन्दै तत्काल एकीकृत स्वास्थ्य तथा पुनर्स्थापना सञ्चालन गर्नुपर्ने बताए ।
बाढीमा घर र आफन्त गुमाएका परिवार, रोजगारी गुमाएका युवा तथा महँगीबाट प्रभावित नागरिकले सरकारसँग भाषण र आश्वासन नभई परिणाम र उत्तरदायित्व खोजिरहेको भन्दै सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने उनले बताए ।
विपद् व्यवस्थापनमा शुरुदेखि नै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रतिकार्यमा समस्या भएको पनि बताए ।्
‘जसले आफ्ना परिवारका सदस्य गुमायो, आफ्नो घर गुमायो, आफ्नै आँखा अगाडि आफ्नै सिर्जित सम्पत्ति बगाएर लग्यो, उसको पीडा केवल आर्थिक होइन । त्यसैले स्वास्थ्य मन्त्रालय, स्थानीय तह र सम्बन्धित निकायले तत्काल मनोसामाजिक परामर्श, स्वास्थ्य शिविर, सरसफाइ, सुरक्षित खानेपानी र रोग नियन्त्रणको एकीकृत योजना बनाइनुपर्छ,’ उनले भने, ‘त्यसको सञ्चालन र व्यवस्थापनमा कुनै कसर नहुने गरी राज्यको अधिकतम क्षमता परिचालन हुनुपर्दछ । रोशीको बाढीमा घर गुमाएका नागरिकले, आफन्त गुमाएका परिवारले, रोजगारी गुमाएका युवाले, महङ्गीले थिचिएका परिवारले, न्याय खोजिरहेका नागरिकले र भविष्य खोजिरहेको नयाँ पुस्ताले सरकारसँग भाषण होइन, अब परिणाम खोजेको छ ।’
प्रतिक्रिया 4