+
+
Shares

कार्यदलमा कुरा नमिलेपछि गुन्डु पुगे थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १७:२८

३१ भदौं, काठमाडौं । नेकपा एमाले कार्यदलको प्रतिवेदनमा उत्पन्न समस्या हल गर्न गठित सम्पादन समितिमा पनि नेताहरुबीच कुरा मिल्न सकेन ।

कार्यदलका संयोजक रामबहादुर थापा र सदस्य सचिव शंकर पोखरेल आ–आफ्नै अडानमा रहेपछि सहमति जुट्न सकेन । स्रोतका अनुसार थापाले पोखरेलको प्रतिवेदन फिर्ता लिएर जानुपर्ने प्रस्ताव राखेका थिए ।

तर महासचिव पोखरेलले पार्टीको सचिवालय र कार्यदलले दिएको कार्यादेश बमोजिम आफूले प्रतिवेदन तयार पारेकाले फिर्ता नहुने अडान लिएका थिए । ‘नेता तथा कार्यकर्ताहरुको सुझावहरु समेटेर प्रतिवेदन लेख्ने जिम्मा कार्यदलले मलाई दिएको हो, त्यसैअनुसार लेखेको छु,’ पोखरेलले अडान लिएका थिए ।

बरू कार्यदलको प्रतिवदेनमा थापाले लेखेको खण्डन फिर्ता गर्दा सहमति जुट्ने पोखरेलको प्रस्ताव थियो । ‘कार्यदलको प्रतिवेदनमा उपाध्यक्ष कमरेडको खण्डन हो, यसलाई फिर्ता गर्दा राम्रो हुन्छ,’ पोखरेलले भनेका थिए ।

यसपछि उपाध्यक्ष थापाले गुन्डु जाने प्रस्ताव राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श लिन गुन्डु जानुपर्ने थापाको प्रस्तावलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेलले अस्वीकार गरे ।

‘विष्णु पौडेल र शंकर पोखरेलले गुन्डु जाने प्रस्ताव अस्वीकार गर्नुभएपछि बादल एक्लै जानु भयो,’ एमालेका एक नेताले भने ।

पोखरेलको प्रतिवेदनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेपछि शनिबारदेखि तीन दिनसम्म काभ्रेको बल्थलीमा आवासीय बैठक बसेको थियो । उक्त बैठकमा पनि कुरा नमिलेपछि तीन सदस्यीय सम्पादन समिति बनेको छ ।

–यसअघि प्रकाशित समाचारमा त्रुटि भएकाले सच्याइएको *

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?