News Summary
Generated by OK AI. Editorially reviewed.- क्यान र बीसीबीको संयुक्त पहलमा सन् २०२७ मार्च २६, २८ र ३० मा कीर्तिपुरमा नेपाल–बंगलादेशबीच तीन खेलको टी–२०आई शृङ्खला हुने भएको छ।
- उक्त शृङ्खला हालै नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाको स्मृतिमा समर्पित गरिने क्यानले जनाएको छ।
- बीसीबीले नेपालको महिला क्रिकेट, उमेर समूह क्रिकेट र क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्ने तथा नेपाल ‘ए’ टोलीका भ्रमणलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ।
३१ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) को संयुक्त पहलमा आगामी मार्चमा नेपाल र बंगलादेशबीच तीन खेलको ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला कीर्तिपुरमा आयोजना हुने भएको छ ।
नेपाल र बंगलादेशबीच सन् २०२७ मार्च २६, २८ र ३० मा तीन खेलको टी-२०आई शृङ्खला आयोजना हुने भएको क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो ।
कुनैपनि टेस्ट राष्ट्रले नेपालमा आएर शृङ्खला खेल्न लागेको यो पहिलोपटक हुनेछ । यसकारण यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो शृङ्खला हुनेछ ।
उक्त शृङ्खला हालै नेपालमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिको स्मृतिमा समर्पित गरिनेछ । शृङ्खलामार्फत दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार र विपद्प्रभावित समुदायप्रति ऐक्यबद्धता व्यक्त गरिने जनाइएको छ ।
क्यान र बीसीबीले क्रिकेटलाई दुई देशका जनतालाई जोड्ने महत्वपूर्ण माध्यमका रूपमा उल्लेख गर्दै यो शृङ्खलालाई मित्रता, मानवीय संवेदना र सहकार्यको विशेष सन्देश बोकेको प्रतियोगिताका रूपमा अघि बढाउने निर्णय गरेका छन्।
विज्ञप्तिअनुसार दुवै बोर्डबीचको सहकार्य केवल अन्तर्राष्ट्रिय शृङ्खलामा सीमित रहने छैन । बीसीबीले नेपालको महिला क्रिकेट, उमेर समूह क्रिकेट तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
साथै, भविष्यमा नेपाल ‘ए’ टोलीका भ्रमण र द्विपक्षीय ‘ए’ टोली शृङ्खलालाई पनि प्रोत्साहन गरिनेछ।
क्यान र बीसीबीले संयुक्त रूपमा क्रिकेटमार्फत दुःखको घडीमा एकता, सहानुभूति र दुई छिमेकी राष्ट्रबीचको ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुका साथै नेपालको क्रिकेट विकासमा दीर्घकालीन सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया 4