३१ भदौ, काठमाडौं । एक अर्ब ३४ करोडभन्दा बढीको अवैध हुन्डी कारोबारमा संलग्न भएको आरोपमा एक २४ वर्षीय युवक पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले धनुषाको शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखियालाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार मुखियाविरुद्ध विभिन्न समयमा मलेसियालगायत विभिन्न मुलुकहरूबाट अवैध रूपमा हुन्डी कारोबारमा संलग्न भएको सूचना आइरहेको थियो ।
सोही क्रममा सूचनालाई थप सूक्ष्म अनुसन्धान तथा विश्लेषण गर्ने क्रममा विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरूको प्रयोग गरी हालसम्म १ अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको अवैध हुन्डी कारोबार गरेको पुष्टि हुनआएको सीआईबीले जनाएको छ ।
त्यसपछि धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय, धनुषाको संयुक्त प्रहरी टोलीले मंगलबार धनुषाबाटै मुखियालाई पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) अनुपमशमशेर जबराले जानकारी दिए ।
उनलाई पक्राउ गरेर हुन्डी सम्बन्धी कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान चलिरहेको उनले बताए ।
प्रतिक्रिया 4