News Summary
Generated by OK AI. Editorially reviewed.- मलेसियास्थित जनउद्धार केन्द्रले बाढी र प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० हजार मलेसियन रिंगेट जम्मा गरेको छ।
- संस्थाका अध्यक्ष केसु थापाका अनुसार तीज विशेष कार्यक्रम, संस्थागत सहयोग र व्यक्तिगत योगदानबाट ३ लाख ७३ हजार ५ सय ५० रुपैयाँ संकलन गरिएको हो।
- केन्द्रले मलेसियामा समस्यामा परेका नेपाली नागरिकलाई उद्धार, राहत र आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।
३१ भदौ, काठमाडौं । मलेसियामा रहेका नेपालीहरूको संस्था जनउद्धार केन्द्र मलेसियाले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि ३ लाख ७३ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।
केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० हजार मलेसियन रिंगेट अर्थात् करिब ३ लाख ७३ हजार ५ सय ५० रुपैयाँ जम्मा गरेको हो ।
जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केसु थापाका अनुसार संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमबाट संकलित रकम, संस्थागत सहयोग तथा पदाधिकारी र सदस्यहरूको व्यक्तिगत योगदानलाई एकीकृत गरी उक्त रकम कोषमा जम्मा गरिएको हो ।
कुल १० हजार रिंगेटमध्ये तीज विशेष कार्यक्रमबाट २ हजार ६ सय १० रिंगेट, संस्थागत रूपमा २ हजार ४ सय ९७ रिंगेट तथा पदाधिकारी र सदस्यहरूको व्यक्तिगत योगदानबाट ४ हजार ८ सय ९३ रिंगेट संकलन भएको अध्यक्ष थापाले बताए ।
प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारले कठिन परिस्थितिको सामना गरिरहेका बेला राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको उनले बताए ।
जनउद्धार केन्द्र मलेसियाले मलेसियामा समस्यामा परेका नेपाली नागरिकलाई विभिन्न समयमा उद्धार, राहत तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । विशेषगरी समस्यामा परेका नेपाली श्रमिक तथा समुदायका सदस्यलाई आपत्कालीन अवस्थामा सहयोग गर्दै आएको संस्थाको भनाइ छ ।
केन्द्रका अनुसार मलेसियामा नेपाली समुदायको हित र सेवाका लागि स्थापना भएका प्रारम्भिक वैधानिक संस्थामध्ये आफू पनि एक हो । संस्थाले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ ।
प्राकृतिक विपत्तिका बेला प्रवासमा रहेका नेपाली समुदायले मातृभूमिप्रति देखाउँदै आएको सहयोग र ऐक्यबद्धताको निरन्तरताका रूपमा यस सहयोगलाई लिइएको छ ।
प्रतिक्रिया 4