News Summary
Generated by OK AI. Editorially reviewed.- सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
- प्रस्तावअनुसार ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांशसहित कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा वितरण गर्नेछ।
- बैंकले २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत र पछिल्लो १० वर्षको औसत ९.२४ प्रतिशत रहेको जनाएको छ।
१ असोज, काठमाडौं । सिटिजन्स बैंकको २० वर्षको औसत लाभांश दर १०.०८ प्रतिशत रहेको छ। गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट पनि बैंकले सेयरधनीलाई ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशसमेत जोड्दा पछिल्लो १० वर्षको औसत लाभांश दर ९.२४ प्रतिशत रहेको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी २० औँ वार्षिक साधारण सभाबाट पारित भएपछि लागु हुनेगरी बुधबार बसेको बैंकको ५२१ औँ सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो।
सञ्चालक समितिको प्रस्तावअनुसार आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट २०८३ असार मसान्तसम्मको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँको ३.८० प्रतिशतले हुने ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको छ।
यसअनुसार बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ ५७ पैसा बराबरको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ।
२०६४ वैशाख ७ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको सिटिजन्स बैंकले सर्वसाधारणलाई सेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीलाई निरन्तर लाभांश वितरण गर्दै आएको जनाएको छ।
बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको जनाएको छ। यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। त्यस्तै, फ्रिलान्सरलाई लक्षित गर्दै ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ पनि सुरु गरेको जनाएको छ।
मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सी–आस्बा नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा तथा क्रस बैंक टेलर सेवासमेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। क्रस बैंक टेलर सेवामार्फत अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया 4