News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले नेता निरज आचार्यले जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको अभिव्यक्तिले आयोगको निष्कर्ष र निष्पक्षताबारे गम्भीर प्रश्न उठेको बताएका छन्।
- आचार्यका अनुसार कार्कीले ‘हामी नेपाल’का तत्कालीन प्रमुख सुधन गुरुङ २३ गते बिहान माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताएका छन्।
- आचार्यले कार्कीले भदौ २४ गतेको लुटपाट, आगजनी र विध्वंसमा संलग्नलाई कारबाही नगर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिएको प्रसंग पनि सार्वजनिक गरेको बताएका छन्।
२ असोज, काठमाडौं । नेकपा एमालेका नेता निरज आचार्यले गौरीबहादुर कार्कीको अभिव्यक्तिले जाँचबुझ आयोगको निष्कर्षबारे गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख आचार्यले सामाजिक सञ्जालमार्फत जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगको निष्कर्षबारे गम्भीर प्रश्न खडा गरेको बताएका हुन् ।
जेनजी आन्दोलनबारे गठित जाँचबुझ आयोगका अध्यक्ष कार्कीसँग हालै हिमालयन टेलिभिजनले अन्तर्वार्ता लिएको छ ।
उक्त अन्तरर्वार्तामा कार्कीले ‘हामी नेपाल’का तत्कालीन प्रमुख तथा हालका गृहमन्त्री सुधन गुरुङ २३ गते बिहानै माइतीघरमा एम्बुलेन्स, खानेपानी, माइक, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहित पुगेको बताएको एमाले नेता आचार्यले उल्लेख गरेका छन् ।
यसलाई आन्दोलनको सम्भावित परिणामबारे पूर्वजानकारी रहेको हुनसक्ने आधारका रूपमा प्रस्तुत गर्दै आचार्यले जाँचबुझ आयोगले सीसीटीभी फुटेज र मोबाइल लोकेसनसमेत अध्ययन गरेको उल्लेख गरेका छन् ।
अध्यक्ष कार्कीले भदौ २४ गते भएको लुटपाट, आगजनी तथा विध्वंसमा संलग्न कसैलाई पनि कारबाही नगर्न तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले दबाब दिएको प्रसंगसमेत सार्वजनिक गरेको एमाले नेता आचार्यले बताएका छन् ।
आयोग गठन भएदेखि एमालेले कार्कीकै निष्पक्षतामाथि प्रश्न उठाउँदै आएको थियो । आचार्यले सामाजिक सञ्जालमा लेख्छन्, ‘तर, अहिले अध्यक्ष कार्कीकै अभिव्यक्तिले आयोगको निष्पक्षता, अनुसन्धानको दायरा र प्रतिवेदनका निष्कर्षबारे गम्भीर प्रश्न खडा गरेको छ ।’
अब कालो पर्दा खुल्दै जाने भन्दै आचार्यले लोकतन्त्र र देशविरुद्ध गरिएका षड्यन्त्रहरू पटाक्षेप हुँदै जाने बताएका छन् ।
प्रतिक्रिया 4