+
+
Shares

दयाहाङले सिक्लेसबाट थाले ‘बुकी फूल’ को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘बुकी फूल’को छायांकन कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट शुरू गरेका छन् ।
  • बिहीबार मुहूर्त गरिएको यो फिल्म गुरुङ समुदायको ऐतिहासिक, सामाजिक र सांस्कृतिक परिवेशमा आधारित छ ।
  • परिकल्पनाकार बेदहादुर गुरुङ र निर्देशक ओमप्रकाश गुरुङले ३५ दिनमा छायांकन सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।

पोखरा । अभिनेता दयाहाङ राईले आगामी फिल्म ‘बुकी फूल’को छायांकन कास्कीको पर्यटकीय गाउँ सिक्लेसबाट थालेका छन् ।

गण्डकी प्रदेशका सांसद समेत रहेका बेदहादुर गुरुङको परिकल्पना र ओमप्रकाश गुरुङको निर्देशनमा यो कथानक फिल्म बन्न लागेको हो । बिहीबार यो फिल्मको मुहूर्त गरिएको छ ।

गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेशलाई कथावस्तु बनाइएको फिल्मको छायांकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । मुहूर्त कार्यक्रममा फिल्मकर्मी नवीन सुब्बा, मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङ, कलाकार तथा स्थानीयवासीको उपस्थिति थियो ।

यो फिल्ममा दयाहाङसहित संस्कृति गुरुङ, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कविता आलेमगर, माया गुरुङ, विश्वास गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, टीकाराम घले, ओसिन गुरुङ, लालशोभा गुरुङ, मनबहादुर गुरुङ, बेदबहादुर गुरुङ श्यामलगायतका कलाकारको अभिनय रहनेछ ।

दयाहाङले डेब्यू कलाकार संस्कृतिसँग फिल्ममा जोडी बाँध्नेछन् । सो अवसरमा बोल्दै फिल्ममेकर सुब्बाले ‘बुकी फूल’ ऐतिहासिक चलचित्र बन्न सक्ने बताए ।

गुरुङ समुदायभित्रको ऐतिहासिक दस्तावेजका रूपमा फिल्म स्थापित हुन सक्ने उनको भनाइ थियो । कथाअनुसार मेकिङमा ध्यान दिन सके यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको सुब्बाले बताए ।

नेपाली फिल्म क्षेत्रमा विस्तारै सुधारको क्रम आइरहेको उल्लेख गर्दै उनले विषयवस्तु र प्रस्तुतिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

निर्माता गुरुङले ‘बुकी फूल’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । बाउबाजेबाट सुन्दै आएको कथाव्यथालाई चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ थियो । ‘बुकी फूल’को कथा आफ्नै परिकल्पनामा तयार भएको बताउँदै उनले गुरुङ समुदायको इतिहास, संस्कृति र जीवनशैलीलाई फिल्ममा समेट्ने प्रयास गरिएको बताए ।

निर्देशक गुरुङले कथाको ऐतिहासिक परिवेशलाई ध्यानमा राख्दै चलचित्र निर्माण गरिने बताए । कथाअनुसार निर्देशन र प्रस्तुतिलाई महत्व दिइने उनको भनाइ थियो । फिल्मलाई सुसन प्रजापतिले छायांकन गर्नेछन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । छायांकन ३५ दिनमा सम्पन्न गर्ने लक्ष्य निर्माण टिमले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?