+
+
Shares

भोटेकोशीको बाढी घट्यो, बालबालिकाको मनमा डर घटेन

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुगेका मनोसामाजिक परामर्शदाताहरूले यस्ता धेरै बालबालिका भेटेका छन् जो बाहिरबाट हेर्दा कोही सामान्य देखिन्छन् । तर भित्रभित्र आहत छन्, त्रसित छन् ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८३ असोज ४ गते १७:१८
एआईको सहायतामा निर्मित प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा, नुवाकोट र धादिङका ३० होल्डिङ सेन्टरमा रहेका १ हजार २३३ बालबालिकामध्ये १०२ जनाले आमा–बुवा दुवै गुमाएका छन् भने ४३९ जना अभिभावकबाट छुट्टिएका छन्।
  • राष्ट्रिय बालअधिकार परिषद्को प्रतिवेदनले रसुवा, नुवाकोट र धादिङमा बाढीपछि करिब ६०० भन्दा बढी बालबालिकाले बाबुआमा गुमाएको र केही अझै बेपत्ता रहेको देखाएको छ।
  • विपद्पछिको पहिलो उपचार सुरक्षा, परिवारसँग पुनर्मिलन, नियमित दिनचर्या, मनोसामाजिक परामर्श र बालबालिकाको गोपनीयता संरक्षण हो भनेर विज्ञहरूले जोड दिएका छन्।

२ असोज, काठमाडौं । ‘मलाई केही चाहिँदैन,’ राहत वितरण भइरहेको स्थानमा रहेका एक बालकले अरूको मुखमा हेर्दै भने ।

वरिपरि अन्य बालबालिका राहत लिन तँछाडमछाड गरिरहेका थिए । कसैले कपडातिर हेरिरहेका थिए, कसैले खानेकुरा । कोही बच्चा नयाँ खेलौना पाएर दंग हुँदै खेल्न थालिसकेका थिए । तर ती बालक केही लिन चाहँदैनथे । भन्दै थिए, ‘लिएर के गर्नु, लगेर राख्ने ठाउँ छैन ।’

बाढीले उनको घर मात्र बगाएको थिएन, परिवार बगाएको थियो, जहाँ फर्किएर आफू सुरक्षित हुन्छु भन्ने विश्वाससमेत बगाएको थियो । त्यसैले राहतको झोला उनका लागि ठूलो कुरा थिएन ।

बाढीको कहरपछि बाटो खुल्न थालेको थियो । राहत पनि वितरण भइरहेको थियो । तर ती बालकको मन भने अझै त्यही विनाशकारी बाढीमा अड्किएको थियो । जुन बाढीले उनको घर बगाएको थियो ।

रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुगेका मनोसामाजिक परामर्शदाताहरूले यस्ता धेरै बालबालिका भेटेका छन् । बाहिरबाट हेर्दा कोही सामान्य देखिन्छन् । कोही खेलिरहेका छन् । कोही हाँसिरहेका छन् । कोही राहतको लाइनमा बसेका छन् । तर उनीहरूको नजिक गएर कुरा गर्न थालेपछि थाहा हुन्छ । बाढीले घर मात्रै बगाएको छैन, उनीहरूको मनभित्र पनि धेरै कुरा भत्काएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्को द्रुत लेखाजोखा प्रतिवेदन २०८३ अनुसार रसुवा, नुवाकोट र धादिङका ३० वटा होल्डिङ सेन्टरमा रहेका १ हजार २३३ बालबालिकामध्ये १०२ जनाले आमा–बुवा दुवै गुमाएका छन् । ४३९ जना आमा–बुवाबाट छुट्टिएका छन् । ६९१ जना आमा वा बुवामध्ये एकसँग बसिरहेका छन् । २१ जना अपाङ्गता भएका बालबालिका छन् ।

यी संख्या कागजमा छन् । तर होल्डिङ सेन्टरमा पुगेपछि यही संख्या अनुहारमा देखिन्छ । कसैको आँखामा डर छ । कसैको बोली हराएको छ । कसैले आमा खोजिरहेका छन् । कसैले बुवा आउने बाटो हेरिरहेका छन् ।  कसैलाई आफू कहाँबाट आएको र अब कहाँ जाने भन्ने नै निश्चित छैन ।

तीमध्ये एउटी १४ वर्षीया बालिका अझै पनि आफ्नी बहिनी आउने विश्वासमा छिन् । ‘मेरी बहिनी आउँछिन्,’ उनी यही भनिरहन्छिन् ।

बाढी आएको दिन बहिनीसँग उनको हात छुटेको थियो । त्यसपछि बहिनी कहाँ गइन् भन्ने थाहा छैन । बुवा कहाँ छन् भन्ने पनि निश्चित छैन । तर उनको मनले भनिरहेको छ– बहिनी आउँछिन् ।

‘मेरो बुवाले बहिनीलाई बचाउनुहुन्छ,’ परामर्शका क्रममा ती बालिकाले बुवामाथिको त्यही विश्वास दोहोर्‍याइन् ।

यस्तो अवस्थामा बालबालिकालाई वास्तविकता बुझाउनु मात्रै पर्याप्त हुँदैन । उनीहरूले पहिले आफू सुरक्षित छु भन्ने महसुस गर्नुपर्छ, गुमाएको मान्छे, ठाउँ र शोकलाई पनि समय दिनुपर्छ ।

त्यसैले मनोसामाजिक परामर्शदाताहरू विपद्पीडित बालबालिकासँग सिधै घटनाको बारेमा प्रश्न गर्न हतार गर्दैनन् । खेल्न दिन्छन् । चित्र बनाउन दिन्छन् । आफूलाई मन लागेको कुरा गर्न दिन्छन् । किनकि, कतिपय बालबालिकाले मुखले भन्न नसकेको कुरा चित्रमा देखाउँछन् ।

‘तल लग्यो भने फेरि बगाउँछ’

फिल्डमा खटिएकी मनोसामाजिक परामर्शदाता तथा विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले एउटा कुरा अझै बिर्सेकी छैनन् । बच्चाहरूलाई अस्थायी रूपमा सुरक्षित ठाउँमा सार्न खोज्दा केहीले जानै मानेनन् । उनीहरूको डर थियो, ‘तल लग्यो भने हामीलाई बगाउँछ । फेरि ठूलो खोला आउँछ ।’

बाढी सकिइसक्दा पनि बालबालिकाका लागि खतरा सकिएको थिएन । उनीहरूको दिमागले अझै पनि पानी आउँदै गरेको देखिरहेको थियो ।

भण्डारीको अनुभवमा बालबालिकालाई सुरक्षित ठाउँमा सार्नु मात्रै पर्याप्त हुँदैन । उनीहरूले आफू सुरक्षित छु भन्ने महसुस गर्नुपर्छ । त्यसैले विपद्पछि बालबालिकालाई खाना, कपडा र आश्रय दिनुजत्तिकै महत्वपूर्ण काम उनीहरूको डर सुन्नु हो ।

सुरुमा चुपचाप, खेल्न थालेपछि खुल्दै गए

मनोसामाजिक टोली बाढीपछि प्रभावित क्षेत्रमा पुग्दा सुरुका दिनमा बालबालिका चुपचाप थिए । कुरा गर्न खोज्दा टाउको झुकाउँथे । कोही टाढाबाट हेरेर बसिरहन्थे ।

पछि उनीहरूका लागि खेलौना पुग्यो । कागज र पेन्सिल दिइयो । खेल्न र चित्र बनाउन दिइयो । विस्तारै बालबालिका खेल्न थाले । चित्र बनाउन थाले । कोही सरसफाइमा पनि सहभागी हुन थाले ।

त्यही क्रममा उनीहरूले मनको कुरा भन्न थाले । केहीले घर बनाए । कसैले आमाबुवाले बच्चा बोकेको चित्र बनाए । कसैले ठूलो खोला बनाए । चित्रमार्फत आफ्नो कुरा व्यक्त गरे ।

एउटी बालिकाले घरको चित्र देखाउँदै भनिन्, ‘हाम्रो घर त बाढीले बगाएर लग्यो । पछि हाम्रो घर यस्तै बन्छ होला ।’

मनोसामाजिक क्षेत्रमा काम गरिरहेकी ग्रिष्मा पनेरुका अनुसार बाढी प्रभावित बालबालिकामा फरक–फरक प्रतिक्रिया देखिएको छ । कोही चुप छन् । कोही डराइरहेका छन् । कोही एक्लै बस्न खोज्छन् । कतिपय राति निदाउन सक्दैनन् । पानी देख्दा वा ठूलो आवाज सुन्दा फेरि त्यही घटना सम्झन्छन् । तर सबै बालबालिकाले आफ्नो पीडा बोलेर देखाउँदैनन् ।

‘बच्चा खेलिरहेको छ भने पनि ऊ ठिक छ भन्ने हुँदैन,’ पनेरुका अनुसार बालबालिकाको व्यवहारमा आएको परिवर्तन, निद्रा, खानपान, डर र अरूसँगको सम्बन्ध पनि हेर्नुपर्छ ।

सबै बालबालिका बिरामी हुँदैनन्, तर निगरानी आवश्यक छ

बाल तथा किशोरकिशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्कीका अनुसार विपद्का बेला बालबालिकाको प्रतिक्रिया वयस्कको भन्दा फरक हुनसक्छ । कोही नबोली बस्न सक्छन् । कोही धेरै बोल्छन् । कोही डराउँछन्, आमाबुबालाई छोड्न चाहँदैनन् । राति सुत्न नसक्ने, नराम्रो सपना देख्ने वा अचानक रुने हुनसक्छ ।

‘यस्तो अवस्थामा बालबालिकासँग व्यवहार गर्दा थप संवेदनशील हुनुपर्छ,’ कार्की भन्छिन्, ‘बाढीपछि देखिने सबै मानसिक प्रतिक्रिया रोग होइनन् । धेरैजसो बालबालिका समयसँगै सामान्य अवस्थामा फर्किन्छन् । तर केहीमा लक्षण लामो समयसम्म रहन सक्छ् । तीव्र तनाव प्रतिक्रिया, पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी), चिन्ता, डिप्रेसन, व्यवहारमा परिवर्तन तथा निद्रा र खानपानसम्बन्धी समस्या देखिन सक्छन् ।’

पीटीएसडीको अवस्थामा बाढीका दृश्य बारम्बार सम्झनामा आउनु, दु:स्वप्न देख्नु, पानी, वर्षा वा अँध्यारोसँग अत्यधिक डराउनु, घटनाको सम्झनाबाट भाग्न खोज्नु र अत्यधिक सजग रहनुजस्ता समस्या देखिन सक्ने कार्की बताउँछन् ।

कतिपय बालबालिकामा ध्यान केन्द्रित गर्न नसक्ने, पढाइमा समस्या हुने वा साथीभाइबाट टाढिने व्यवहार पनि देखिन सक्छ । तर केही समय यस्ता लक्षण देखिँदैमा बालबालिकालाई ‘मानसिक बिरामी’ भनेर बुझ्नु गलत हुने कार्की बताउँछन् । समस्या तब गम्भीर रूपमा लिनुपर्छ, जब लक्षण चारदेखि ६ हप्ताभन्दा लामो समय रहन्छन्, बढ्दै जान्छन् वा खानपान, निद्रा, खेल र पढाइ जस्ता दैनिक जीवन नै प्रभावित हुन्छ ।

पहिलो उपचार– ‘तिमी सुरक्षित छौ’ भन्ने अनुभूति

डा. कार्कीका अनुसार बाढी प्रभावित बालबालिकाका लागि पहिलो प्राथमिकता मनोचिकित्सा होइन, सुरक्षा हो । पहिले सुरक्षित ठाउँ, खाना, पानी र परिवारसँग पुनर्मिलन सुनिश्चित गर्नुपर्छ । बालबालिकालाई जबरजस्ती आफ्नो कथा सुनाउन लगाउनु हुँदैन । उनीहरूले आफूखुसी भावना व्यक्त गर्न सक्ने वातावरण बनाउनुपर्छ ।

त्यसपछि परिवार र हेरचाहकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । खाने, सुत्ने र खेल्ने समयलाई सकेसम्म नियमित बनाउनुपर्छ । उनीहरूको कुरा सुन्नुपर्छ । साना बालबालिकासँग खेल, चित्र र कथामार्फत भावना व्यक्त गर्न सहयोग गर्न सकिन्छ । समस्या लामो समय रह्यो भने प्ले थेरापी, कला थेरापी, ट्रमा–फोकस्ड थेरापी तथा विद्यालय वा समुदायमा समूह परामर्श आवश्यक हुनसक्छ । गम्भीर अवस्थामा विशेषज्ञ मानसिक स्वास्थ्य सेवासम्म पुर्‍याउनुपर्छ ।

संकट परामर्शको कोठाभित्र मात्रै सीमित छैन

जागृति बाल तथा युवा सरोकार नेपाल तथा बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष, बालअधिकारकर्मी तिलोत्तम पौडेलका लागि अहिलेको सबैभन्दा ठूलो चिन्ता बालबालिकाको संरक्षण हो ।

उनका अनुसार बाढीले घरबारविहीन बनाएका बालबालिकाको अवस्था राहत बाँडेर मात्रै समाधान हुँदैन । परिवारबाट छुट्टिएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउने, अभिभावक गुमाएका बालबालिकाको दीर्घकालीन संरक्षण गर्ने र उनीहरूलाई सुरक्षित वातावरणमा राख्ने काम उत्तिकै महत्वपूर्ण छ ।

राष्ट्रिय बालअधिकार परिषद्को विवरणले पनि यही चिन्ता देखाउँछ । रसुवाको उत्तरगया गाउँपालिकामा कम्तीमा ५७ बालबालिकाले अभिभावक गुमाएको र उनीहरू क्याम्पमा फेला नपरेको विवरण छ । त्यहाँ करिब २०० बालबालिका हराइरहेको बताइएको छ ।

नुवाकोटको विदुर नगरपालिकामा ६१४ बालबालिका प्रभावित भएको विवरण छ । त्यसमध्ये २७ जनाले दुवै अभिभावक गुमाएका छन् भने २०३ जना अभिभावकबाट छुट्टिएका छन् । बेलकोटगढीमा ५२ बालबालिका अभिभावकविहीन भएको विवरण छ ।

एक दिन ६५ जना, भोलिपल्ट ३७ जना

बालबालिकाको मानसिक स्वास्थ्यसँगै अर्को गम्भीर समस्या उनीहरूको अवस्थाबारे यकिन तथ्यांक नहुनु हो ।

बाढी प्रभावित क्षेत्रमा रहेकी मनोपरामर्शदाता तारा भण्डारीका अनुसार एक दिन ६५ जना बालबालिकालाई सुरक्षित होल्डिङ सेन्टरमा राखियो । भोलिपल्ट त्यहाँ ३७ जना मात्रै भेटिए । बाँकी कहाँ गए भन्ने तत्कालै यकिन गर्न सकिएन ।

कतिपय बालबालिकालाई ‘मेरो आफन्त हो’ भन्दै निजी घरमा राखिएको अवस्था पनि भेटिएको छ । एउटै घरमा धेरै बालबालिका राखिएको पनि पाइयो । तर उनीहरू साँच्चिकै आफन्त हुन् कि होइनन् भन्ने पुष्टि नभएकोले बाल संरक्षणको जोखिम झनै बढ्छ ।

परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिका मानव बेचबिखन, बालविवाह र बालश्रमको जोखिममा हुन सक्छन् । त्यसैले बालअधिकारकर्मी पौडेल परिवार वा स्थानीय तहको जानकारी र स्वीकृतिविना बालबालिकालाई अन्यत्र लैजान नहुनेमा विशेष ध्यान दिनुपर्ने बताउँछन् ।

बाढीले जन्मदर्ता लगायतका कागजात बगाएको हुनसक्ने भएकाले पहिचान र आवश्यक अभिलेख तत्काल सुनिश्चित गर्नुपर्ने उनको जोड छ । रसुवा–नुवाकोटमा बाढीपछि बालबालिकाको अवस्था अत्यन्त चिन्ताजनक छ । उनका अनुसार करिब ६०० भन्दा बढी बालबालिकाले बाबुआमा गुमाएको भनिएको छ भने कतिपय अझै बेपत्ता छन् ।

‘हाम्रो कथा कति जनालाई मात्रै भन्ने ?’

बाढी प्रभावित बालबालिकासँग काम गरिरहेका परामर्शदाताहरूको अर्को चिन्ता छ, उनीहरूलाई पटक–पटक आफ्नो दु:ख सुनाउन लगाइनु ।

राहतका नाममा एउटा टोली आउँछ । काउन्सिलिङका नाममा अर्को आउँछ । घटना सोध्छ । फोटो खिच्छ, फर्किन्छ ।

तर, बालबालिकाका लागि त्यो घटना हरेक पटक नयाँ हुँदैन । उनीहरूले एउटै दु:ख फेरि सम्झनुपर्छ । त्यही क्रममा एउटी बालिकाले परामर्शदातासँग प्रश्न गरिन्, ‘हाम्रो स्टोरी कति जनालाई मात्रै भन्ने ?’

त्यसैले मनोसामाजिक सहयोग ‘एक पटक गएर फर्किने’ शैलीमा मात्र प्रभावकारी हुँदैन । विश्वासको सम्बन्ध बनाइसकेको परामर्शदाताले निरन्तर साथ दिनुपर्ने आवश्यकता हुन्छ । बालबालिकाको मनको कुरा बाहिर निकालेर त्यसलाई सामाजिक सञ्जालको सामग्री बनाउने होइन, उनीहरूको गोपनीयता र सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने विज्ञहरूको जोड छ ।

विद्यालय खुल्नु भनेको कक्षा सुरु हुनु मात्रै होइन

बाढीपछि विद्यालय बन्द हुँदा बालबालिकाको नियमित दिनचर्या बिग्रिएको छ । कतिपय खाली बसिरहेका छन् । कतिपय बाढीले क्षति पुर्‍याएका घर तथा पसलमा सामान निकाल्न जान्छन् । केही जोखिमपूर्ण ठाउँमा पुगेर सामान खोजिरहेका छन् ।

विद्यालय नहुँदा बालबालिकालाई व्यस्त राख्ने संरचना पनि छैन ।  मानसिक रूपमा सामान्य अवस्थामा फर्काउने एउटा महत्वपूर्ण माध्यम पनि छुटेको छ । त्यसैले प्रभावित क्षेत्रमा विद्यालय खोल्नु शिक्षा मन्त्रालय वा विद्यालय प्रशासनको मात्रै विषय होइन । यो बाल संरक्षण र मानसिक स्वास्थ्यको विषयसमेत हो ।

विद्यालय सुरक्षित हुनुपर्छ । भवन र बाटो सुरक्षित छन् कि छैनन् भन्ने हेर्नुपर्छ । विद्यालयमै आवश्यक मनोसामाजिक सहयोगको व्यवस्था हुनुपर्छ । विद्यालय खुलेपछि शिक्षकले आफ्ना विद्यार्थी पहिचान गर्न सक्छन् । को उपस्थित छ ? को अनुपस्थित छ ? को हराएको छ ? को अर्को ठाउँमा पुगेको छ ? यी प्रश्नको जवाफ खोज्न पनि विद्यालय महत्वपूर्ण संरचना बन्न सक्ने बालअधिकारकर्मीहरू बताउँछन् ।

तर बाढीले विद्यालयका कागजातसमेत बगाएको अवस्थामा यो काम चुनौतीपूर्ण छ । त्यसैले स्थानीय तह, विद्यालय र सम्बन्धित संस्थाको सहकार्यमा बालबालिकाको तथ्यांक संकलनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता भएको बालअधिकारकर्मी पौडेल बताउँछन् ।

बाढीपछि पनि ठूलो संकट आउन सक्छ

विपत्तिको पहिलो चरणमा मानिसको ध्यान बाँच्ने र सुरक्षित हुने कुरामै केन्द्रित हुन्छ । खाना चाहिन्छ । पानी चाहिन्छ । सुरक्षित ठाउँ चाहिन्छ । आफन्त खोज्नुपर्छ । बालबालिकामा पनि त्यही हुन्छ ।

तर, राहतको तत्कालीन चाप कम हुँदै जाँदा, विद्यालय खुल्दा, मानिसहरू घर भएको ठाउँमा फर्किंदा र बाढीले बगाएको जीवनको वास्तविकता उनीहरूले महसुस गर्न थाल्दा मानसिक पीडा अझ गहिरो हुनसक्छ । मनोचिकित्सक कार्कीको चिन्ता यही हो ।

विशेषगरी अभिभावक गुमाएका, परिवारबाट छुट्टिएका, आफन्तको अत्तोपत्तो नभएका वा घर पूर्ण रूपमा गुमाएका बालबालिकालाई लामो समयसम्म मनोसामाजिक सहयोग आवश्यक पर्न सक्छ ।

कार्की भन्छन्, ‘एक–दुई पटकको काउन्सिलिङले यस्तो गहिरो आघात निको हुँदैन । उनीहरूलाई निरन्तर सम्बन्ध, सुरक्षित वातावरण, विद्यालय, खेल्ने ठाउँ, साथीभाइ र परिवारसँग पुनर्मिलन चाहिन्छ । आवश्यक परे विशेषज्ञ मानसिक स्वास्थ्य सेवासम्म पहुँच चाहिन्छ । सबैभन्दा महत्वपूर्ण कसैले उनीहरूको कुरा सुनिदिन्छ भन्ने विश्वास चाहिन्छ ।’

अब राहतसँगै पुनर्स्थापना

बालअधिकारकर्मी पौडेल भन्छन्, ‘बाढी प्रभावित क्षेत्रमा राहत सामग्री थुप्रिँदै छन् । तर अब बालबालिकाका लागि राहतसँगै पुनर्स्थापना चाहिएको छ । हराएका बालबालिकाको यकिन तथ्यांक चाहिएको छ । परिवार पहिचान र पुनर्मिलन चाहिएको छ । अभिभावकविहीन बालबालिकाको सुरक्षित संरक्षण चाहिएको छ । बेचबिखन, बालविवाह, बालश्रम र यौन दुर्व्यवहारबाट सुरक्षा चाहिएको छ ।’

बाढीले बगाएका जन्मदर्ता र अन्य अभिलेख पुन:स्थापित गर्नुपर्छ । विद्यालय सुरक्षित रूपमा सञ्चालन गर्नुपर्छ । मनोसामाजिक परामर्श निरन्तर हुनुपर्छ । र, सबैभन्दा बढी– बालबालिकालाई फेरि आफ्नो संसार बनाउने ठाउँ दिनुपर्ने उनी सुझाउँछन् ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?