+
+
Shares

पाँचपोखरी : जहाँ प्रकृतिसँगै भेटिन्छ हिमाली जीवन

कतै भेडाका बथान बाटो काटिरहेका भेटिन्थे। कतै चौरीगाईले घण्टी बजाउँदै गोठतिर फर्किरहेका देखिन्थे। हरियो पाखामा चरिरहेका भेडा र चौरीका दृश्यले पाँचपोखरीको सौन्दर्यलाई अझ जीवन्त बनाएको थियो।

जीवन लामा जीवन लामा
२०८३ असोज ३ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकसहितको टोलीले चरिकोटबाट मेलम्ची हुँदै पाँचपोखरीको पदयात्रा पूरा गरेर करिब ४ हजार १ सय मिटर उचाइबाट दृश्य अवलोकन गर्‍यो।
  • देउरालीबाट करिब १७ किलोमिटर पैदल हिँड्नुपर्ने यात्रामा लाङटाङ राष्ट्रिय निकुञ्जको चेकपोस्ट, शुल्क र ड्रोन प्रतिबन्धको नियम पालना गरियो।
  • पाँचपोखरी क्षेत्रमा होटल, बास, बिजुली र आतिथ्य व्यवस्थामा सुधार आवश्यक देखिएको लेखमा उल्लेख छ।

छिमेकी जिल्लामा रहेको पाँचपोखरी जाने रहर लामो समयदेखि मनमा थियो। सामाजिक सञ्जालमा देखिने पाँचपोखरीका तस्बिर र भिडियो हेर्दा त झोला बोकेर आजै हिँडिहालूँजस्तो लाग्थ्यो। तर नयाँ ठाउँ, नयाँ बाटो र यात्राको अनिश्चितता सम्झिँदा योजना त्यत्तिकै रोकिँदै आएको थियो। यही क्रम वर्षौं चलिरह्यो।

एकदिन चरिकोटको एम्ब्रोसिया होटलमा कफी पिइरहेको बेला प्रहरी निरीक्षक सन्तोष खड्काले पाँचपोखरी जाने मिति नै तोकेर यात्रा तय गर्नुभयो। साथमा रहेका विनोद तामाङ र मैले मौन समर्थन जनायौँ। कुन बार, कति दिन र को-को जाने भन्नेबारे खासै सोधीखोजी गरेनौँ। मनमनै यात्राको योजना बुन्दै तयारीमा जुट्यौँ। तर अन्ततः यात्राका मुख्य योजनाकार सन्तोष सर नै यात्राबाट छुट्नुभयो।

बिहान ६ नबज्दै चरिकोटबाट विनोद तामाङ, दिपेश घिसिङ र म मेलम्चीतर्फ अघि बढ्यौँ। मेलम्चीमा मनोज भट्टराई हामीलाई पर्खिरहनुभएको थियो। उहाँसँग भेट भएपछि चार जनाको यात्रा पाँचपोखरीतर्फ अघि बढ्यो। कहाँ पुग्ने, कतिबेला पुग्ने र बाटो कस्तो होला भन्ने ठ्याक्कै कसैलाई थाहा थिएन। हामी चारै जनाका लागि गन्तव्य नयाँ थियो।

मेलम्चीबाट अघि बढेपछि बाटो पूरै कच्ची थियो। पाँचपोखरी थाङपाल गाउँपालिकाको कार्यालयलाई एक फन्को लगाउँदै हामी उकालो लाग्यौँ। वर्षायाम भएकाले कतै खाल्टाखुल्टी, कतै पानीको दह त कतै चिप्लो र हिलाम्मे बाटो थियो। मोटरसाइकल लिएर यस्तो बाटोमा यात्रा गर्दा मनमा एउटै प्रार्थना थियो, ‘मोटरसाइकललाई केही नहोस्।’

ठाउँ-ठाउँमा यात्रासम्बन्धी सूचना बोर्ड राखिएका थिए। अपरिचित बाटोमा हिँड्ने यात्रुलाई ती बोर्डले निकै सहज बनाएका थिए। उकालो-ओरालो पार गर्दै अन्ततः देउराली पुग्यौँ। देउरालीसम्म मोटरबाटोको सुविधा रहेछ। त्यहाँ मोटरसाइकल थन्काएर अब करिब १७ किलोमिटर पैदल हिँड्नुपर्ने भयो।

देउरालीमा होटल तथा लजको व्यवस्था रहेछ। उज्यालो नै भएकाले हामी केही बाटो छोट्याउने योजनासहित अघि बढ्यौँ। भोलिपल्टको यात्रा सहज होस् भन्ने उद्देश्यले करिब दुई घण्टाजति बाटो छोट्याउने हाम्रो योजना थियो।

देउराली नजिकै नेपाली सेनाको चेकपोस्ट रहेछ। झोला जाँच गरेपछि मात्र यात्रुलाई अघि बढ्न दिइने रहेछ। नेपालीलाई एक सय रुपैयाँ र विदेशीले देशअनुसारको शुल्क तिरेपछि मात्र प्रवेश गर्न पाइने लाङटाङ राष्ट्रिय निकुञ्जको नियम रहेछ। क्यामेरा बोक्न पाइने भए पनि ड्रोन लैजान भने प्रतिबन्ध रहेछ। हामीले सबै नियमको अक्षरशः पालना गर्दै यात्रा अघि बढायौँ।

साँझ करिब साढे पाँच बजेतिर ताङगु पुग्यौँ। नेपाली सेनाले साँझ ६ बजेपछि पदयात्रा नगर्न सुझाव दिएका थिए। त्यसैले यहीँ बस्ने निधो गर्‍यौँ।

ताङगुमा करिब आधा दर्जन होटल रहेछन्। यहाँ प्याकेज प्रणाली रहेछ। ७ सय रुपैयाँमा एक छाक खाना र बासको व्यवस्था। बाहिरबाट हेर्दा होटलहरू चिटिक्क देखिए पनि पर्यटकीय गन्तव्यका हिसाबले व्यवस्थापन अझै सुधार गर्नुपर्ने देखिन्थ्यो। व्यवस्थित होटल तथा पर्याप्त पूर्वाधारको अभाव महसुस भयो।

बिजुलीको व्यवस्था थिएन। तर फोन नलाग्ने ठाउँमा वाइफाइको व्यवस्था हुनु भने निकै राम्रो लाग्यो। मोबाइल चार्ज गर्न बेलुकी दुई घण्टा जेनेरेटर चलाउने व्यवस्था रहेछ।

सडकभन्दा यहाँको पदमार्ग भने निकै व्यवस्थित रहेछ। हामीले सडकजस्तै अस्तव्यस्त होला भन्ने सोचेका थियौँ। तर करिब १७ किलोमिटर लामो पदमार्गमा अधिकांश ठाउँ ढुंगा छापिएको थियो। पैदल यात्राका लागि बनाइएको बाटो सडकभन्दा कैयौँ गुणा राम्रो लाग्यो।

अर्को बिहान नास्ता खाएर करिब साढे ६ बजेतिर फेरि यात्रा सुरु गर्‍यौँ। मौसम केही बिग्रिएको थियो। आकाशमा बादल बाक्लिँदै थियो, पानी पर्लाजस्तो लाग्थ्यो। तर यात्रा रोक्ने गरी पानी परेन।

जति माथि पुग्दै गयौँ, प्रकृतिको सौन्दर्य उति नै खुल्दै गयो। बाटोका दुवैतर्फ हरियाली, भिरालो पाखा, ढुंगे बाटो, चिसो हावा र बादलसँग लुकामारी खेलिरहेका डाँडाहरूले यात्राको थकान भुलाइदिए। ठाउँ-ठाउँमा देखिने चौतारा, छ्योर्तेन, लहरेमाने र गुम्बाहरूले यात्रामा प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक अनुभूति पनि थपिरहेका थिए।

कतै भेडाका बथान बाटो काटिरहेका भेटिन्थे। कतै चौरीगाईले घण्टी बजाउँदै गोठतिर फर्किरहेका देखिन्थे। हरियो पाखामा चरिरहेका भेडा र चौरीका दृश्यले पाँचपोखरीको सौन्दर्यलाई अझ जीवन्त बनाएको थियो।

गोठालाहरूको दैनिकी, गोठमा पाकिरहेको खाना, चरनमा रमाइरहेका चौरी र हिमाली जीवनशैली हेर्दा यस्तो लाग्थ्यो, यहाँ प्रकृति मात्र छैन, प्रकृतिसँगै बाँचेको एउटा जीवन्त संस्कृति पनि छ।

हामीजस्तै धेरै युवा हातमा क्यामेरा र मोबाइल बोकेर बाटोमा भेटिन्थे। कोही टिकटकका लागि भिडियो बनाउँदै थिए, कोही रील्सका लागि दृश्य कैद गर्दै थिए, कोही समूहमा फोटो खिचिरहेका थिए। स्थानीय जातीय पहिरनमा सजिएका युवायुवतीको भीड झन् आकर्षक देखिन्थ्यो।

परम्परागत पोसाकमा सजिएर हिमाली पृष्ठभूमिमा तस्बिर खिच्ने र भिडियो बनाउने युवाहरूले पाँचपोखरीको यात्रालाई एउटा सांस्कृतिक फोटो स्टुडियोजस्तै बनाइदिएका थिए।

करिब १ बजेतिर हामी पाँचपोखरी पुग्यौँ। वरिपरि देखिएका पोखरीमध्ये दुईवटा पोखरी घुमेर बास बस्ने ठाउँतिर लाग्यौँ। त्यतिबेला पानी परिरहेको थियो। त्यसैले चाहेर पनि धेरैबेर बाहिर घुम्न सकेनौँ।

यहाँ एक छाक खाना र बासका लागि प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ रहेछ। तर बासको व्यवस्था भने अलि फरक लाग्यो। एउटै कोठामा लस्करै सुत्नुपर्ने। एउटा होटलमा तोकिएको संख्या नपुगेसम्म अर्को होटलमा बास नपाइने। अधिकांश होटलका ढोकामा चाबी लगाइएको देखिन्थ्यो। यस्तो व्यवस्थाले पर्यटकलाई आफ्नो रोजाइअनुसार बस्न र खान कठिन हुने रहेछ।

पर्यटक घुम्न निस्कँदा नयाँ ठाउँ हेर्नुका साथै आफ्नो रुचिअनुसारको खाना खान, सहज ठाउँमा बस्न र केही समय स्वतन्त्र रूपमा रमाउन चाहन्छ। तर यहाँ भने पर्यटकको रोजाइभन्दा होटल व्यवसायीको नियमअनुसार चल्नुपर्ने अवस्था देखियो। पर्यटकीय गन्तव्यको आकर्षणसँगै आतिथ्य सत्कार र सेवा व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने महसुस भयो।

हामी भने बेलैमा खाना खाएर सुत्यौँ। बिहान सबेरै उठ्दा साथीहरू मन्दिर दर्शनका लागि गइसकेका रहेछन्। त्यसपछि हामी पाँचपोखरी भ्यू प्वाइन्टतर्फ लाग्यौँ। मौसमले खासै साथ दिएको थिएन। बादल र सिमसिम पानीबीच पनि प्रकृतिले भने हामीलाई साथ दिइरहेको थियो।

करिब ४ हजार १ सय मिटरको उचाइमा उभिएर पाँचपोखरीको दृश्य नियाल्दा मन एकाएक शान्त भयो। सिमसिम पानी परिरहे पनि चिसो खासै महसुस भएन। बादलले कहिले पोखरी ढाक्थ्यो, कहिले खोल्थ्यो। बादलको पर्दा हट्दा टाढा जुगल हिमाल देखिन्थ्यो। नजिकै आमायाङरी डाँडा पनि आकर्षक देखिन्थ्यो।

त्यहाँ उभिँदा लाग्यो, पाँचपोखरी केवल पाँचवटा पोखरीको नाम होइन। यो प्रकृति, संस्कृति, पशुपालन, पदयात्रा, स्थानीय जीवनशैली र युवापुस्ताको पर्यटन मोह एकै ठाउँमा भेटिने गन्तव्य रहेछ।

करिब दुई घण्टा त्यहाँ बिताएपछि हामी पुनः ओरालो लाग्यौँ। माथि जाँदा जति उत्साह थियो, फर्कँदा त्यसभन्दा बढी सम्झना बोकेका थियौँ। क्यामेरामा कैद भएका सयौँ तस्बिर र भिडियोभन्दा मनमा कैद भएका दृश्यहरू अझ धेरै थिए।

भेडाको घण्टी, चौरीको चाल, गोठको धुवाँ, ढुंगे पदमार्ग, छ्योर्तेन र गुम्बा, जातीय पहिरनमा रमाइरहेका युवायुवती, बादलसँग लुकामारी खेलिरहेको पहाड र पाँचपोखरीको शान्त पानी। यी सबै दृश्यले यात्रालाई केवल यात्रा हुन दिएनन्, एउटा अविस्मरणीय संस्मरणमा बदलिदिए।

पाँचपोखरीबाट फर्कँदै गर्दा मनमा एउटा कुरा भने स्पष्ट थियो, प्रकृतिले गन्तव्य बनाउँछ, संस्कृतिले त्यसलाई पहिचान दिन्छ र व्यवस्थित पर्यटनले त्यसलाई अझ फराकिलो बनाउँछ। पाँचपोखरीसँग यी तीनवटै सम्भावना छन्। आवश्यक छ त केवल यसको प्राकृतिक सौन्दर्य र स्थानीय संस्कृतिलाई जोगाउँदै पूर्वाधार र आतिथ्य सत्कारमा अझ सुधार गर्ने।

लेखक
जीवन लामा

जीवन लामा दोलखामा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?