३ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशनहरू भएका छन्।
समितिका सदस्यसचिव राजु कटुवालका अनुसार ३९ जिल्लामा आइतबार वडा अधिवेशन हुनेछ। उनले भोटेकोसी नदीको बाढीबाट प्रभावित तीन जिल्लामा सोमबार र बुधबार वडा अधिवेशन हुने जानकारी दिए।
सदस्यसचिव कटुवालले धादिङमा सोमबार तथा नुवाकोट र रसुवामा बुधबार (७ असोज) वडा अधिवेशन हुने जानकारी आएको बताए। निर्वाचन समितिका अनुसार कांग्रेसको १५औं महाधिवेशनमा ९ लाख २५ हजारभन्दा बढी क्रियाशील सदस्यहरूले भाग लिँदै छन्।
कांग्रेसको विधानअनुसार वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरू पनि चयन हुन्छन्। क्षेत्रीय अधिवेशनका लागि सबै वडा अधिवेशनबाट समान सङ्ख्यामा प्रतिनिधिहरू चयन हुन्छन्।
१५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडाको अधिवेशनले क्रियाशील सदस्यमध्येबाट क्षेत्रीय अधिवेशनका लागि कम्तीमा तीन जना महिला, एक श्रमिक वा पेसागत क्षेत्रसहित नौ जना क्षेत्रीय प्रतिनिधिहरू चयन गर्छ।
यस्तै ३० वर्ष उमेर नपुगेका एक महिलासहित तीन युवालाई पनि क्षेत्रीय प्रतिनिधिका लागि वडा अधिवेशनले प्रत्यक्ष निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था छ।

त्यसैगरी १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ५५ को सीमाभित्र रहेर प्रति १५० थप क्रियाशील सदस्यमा दुई महिला र एक युवासहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुनेछन्।
महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्रबाट प्रत्यक्ष निर्वाचित हुने सदस्य सङ्ख्याको ५० प्रतिशत सङ्ख्यामा वडाको जनसङ्ख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ।
विधानमा भनिएको छ, ‘अपाङ्गता भएका र दलित क्रियाशील सदस्यमध्येबाट एक–एक जना प्रतिनिधि ।’ विधानअनुसार कांग्रेसको वडा कार्यसमिति सभापति पदेन क्षेत्रीय अधिवेशन प्रतिनिधि मानिन्छन्।
कांग्रेसले वडा अधिवेशनपछि ७ असोजमा गाउँ–नगर सम्मेलनको मिति तय गरेको छ। प्रदेशसभा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १० असोजमा हुनेछ।
यही प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट कांग्रेसले महाधिवेशन प्रतिनिधिहरू चयन गर्दछ। प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले आफूबाटै केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था कांग्रेसको विधानमा गरिएको छ।
विधानअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका प्रदेशसभा क्षेत्रीय अधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सदस्यहरू हुन्छन्। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको सभापति हुने वैधानिक व्यवस्था कांग्रेसमा छ।
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा १४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू प्रत्यक्ष निर्वाचित गर्नेछ। यसमा महिला सहभागिता सुनिश्चितताका लागि कम्तीमा चार जना महिला निर्वाचित हुनुपर्ने व्यवस्था छ।
त्यसैगरी श्रमिक, पेसागत क्षेत्र वा विषयविज्ञबाट दुई जना, ३५ वर्षमुनिका युवाबाट एक महिलासहित तीन जना तथा अपाङ्गता भएका व्यक्तिबाट एक जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ।
कांग्रेसले विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी समूहबाट पनि महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने व्यवस्था गरेको छ। जसअन्तर्गत महिला, मधेसी दलित, आदिवासी–जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।

ती १० जना महाधिवेशन प्रतिनिधिहरू प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जनसङ्ख्याको बनोटअनुसार तोकिएको समानुपातिक आधारमा निर्वाचित गर्नुपर्ने कांग्रेसको विधानमा उल्लेख छ।
कांग्रेसको विधानअनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापति र गाउँ–नगरपालिका कार्यसमितिका सभापति भने पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ। अर्थात् उनीहरू निर्वाचनबाट नभई आफ्नो पदका आधारमा महाधिवेशन प्रतिनिधि हुनेछन्।
१४औं महाधिवेशनमा गाउँ–नगरपालिका कार्यसमितिका सभापतिलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिको हैसियतले महाधिवेशनमा सहभागी हुने वैधानिक व्यवस्था थिएन। विशेष महाधिवेशनबाट संशोधनअघिको विधानमा ‘प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनेछ’ लेखिएको थियो।
केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू प्रदेश अधिवेशनका पनि प्रतिनिधि हुने कांग्रेसमा व्यवस्था छ। महाधिवेशन प्रतिनिधिहरूबाटै कांग्रेसमा केन्द्रीय कार्यसमिति चयन हुन्छ।
कांग्रेसको पछिल्लोपटक संशोधित विधानमा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारको योग्यता भने तोकिएको छैन। अघिल्लोपटक कांग्रेसमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार हुन पार्टीको क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष पूरा हुनुपर्ने प्रावधान थियो।
कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महासमिति सदस्यहरू पनि चयन हुन्छन्। महासमिति सदस्यहरू केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट चयन गर्नुपर्ने हुन्छ।
‘केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिलासहित सात जना, ३५ वर्ष ननाघेका युवा एक जना र महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट चार जना प्रतिनिधिसभा क्षेत्रको जनसङ्ख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा केन्द्रीय महासमिति सदस्य निर्वाचित गर्नेछ,’ विधानको धारा ११ को उपधारा ३ (क) मा भनिएको छ।
उपधारा ३ (ख) ले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन महासमिति सदस्य हुने व्यवस्था गरेको छ।
विदेशस्थित जनसम्पर्क समितिको हकमा क्रियाशील सदस्यताको सङ्ख्याका आधारमा महाधिवेशन प्रतिनिधि तय हुने व्यवस्था छ। एक सय क्रियाशील सदस्यता रहेको देशबाट जनसम्पर्क समितिको अध्यक्ष वा एक जना मात्रै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुने व्यवस्था छ।

पाँच सय वा सोभन्दा बढी क्रियाशील सदस्यता भएका देशबाट अध्यक्षसहित सात जनाले प्रतिनिधित्व गर्न पाउँछन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूमध्येबाट अध्यक्षसहित तीन जना महासमिति सदस्य हुने व्यवस्था विधानमा उल्लेख छ।
दुई हजार वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको देशबाट अध्यक्षसहित १४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पाउँछन्। जसमध्ये जनसम्पर्क समिति अध्यक्षसहित ६ जना महासमिति सदस्य हुन्छन्।
केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि सङ्ख्या तोक्दा एउटा देशबाट बढीमा १४ जना र केन्द्रीय महासमिति सदस्य तोक्दा ६ भन्दा बढी तोक्न नसक्ने विधानमा लेखिएको छ।
पार्टी सभापतिले क्रियाशील सदस्यबाट बढीमा ७५ जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधि मनोनीत गर्न पाउँछन्। यस्तै सभापतिलाई विधानले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूबाट बढीमा २५ जना महासमिति सदस्य मनोनीत गर्न पाउने अधिकार दिएको छ।
‘यसरी मनोनीत गर्दा महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, खस–आर्य, अपाङ्गता भएका, अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्र, तेस्रोलिङ्गी, अन्य पेसा–व्यवसाय र विषयमा विज्ञको रूपमा क्रियाशील रहेका विशिष्ट व्यक्ति एवम् लोकतन्त्र स्थापना र पुनर्स्थापनाको आन्दोलनमा सहभागी भएका व्यक्तिमध्येबाट प्राथमिकता दिनुपर्नेछ,’ विधानमा भनिएको छ।
कांग्रेसको केन्द्रीय महाधिवेशनमा भ्रातृ तथा शुभेच्छुक संस्थाबाट पनि महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन्छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार भ्रातृ संस्थाबाट कम्तीमा पाँच र शुभेच्छुक संस्थाबाट कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधिका रूपमा महाधिवेशनमा सहभागी हुन पाउँछन्।
प्रतिक्रिया 4