+
+
Shares

बेत्रावतीमा फड्के, रसुवालाई राहत (तस्वीरहरू)

होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारहरू फड्के बनेपछि आवातजावात गरिरहेका छन् । सँगै, रसुवाबासीलाई राजधानी काठमाडौंसहित अन्यत्र जान पनि सजिलो भएको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज ३ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीले बगाएको फलाखु खोलामा उत्तरगया गाउँपालिका–५ बेत्रावतीमा बाँस र काठको फड्के सञ्चालनमा ल्याइएको छ।
  • फड्के बनेसँगै रसुवा र नुवाकोट पैदल यात्राबाट जोडिएका छन् र विस्थापित परिवारको आवातजावत सहज भएको छ।
  • स्थानीय र सुरक्षाकर्मीले बनाएको फड्केले ठूलो राहत दिएको र त्रिशुली नदीमा बेलिब्रिजको माग अझै कायम रहेको छ।

३ असोज, रसुवा । भोटेकोशी बाढीले पक्की पुल बगाएको फलाखु खोलामा फड्के (अस्थायी पुल) सञ्चालनमा ल्याइएको छ ।

उत्तरगया गाउँपालिका–५, बेत्रावतीस्थित खोलामा फड्के बनेसँगै रसुवा र नुवाकोट पैदल यात्राबाट जोडिएको छ । बाढीले यहाँको पुल बगाएपछि तीन सातासम्म खोला वारपार गर्न सक्ने स्थिति थिएन ।

तर, सुरक्षाकर्मी र स्थानीयले फड्के बनाएपछि बाढी प्रभावितहरूलाई ठूलो राहत मिलेको छ । ‘बाढीपछि दुईतिर भएका परिवारका सदस्यहरूबीच भेटघाट गर्न यो फड्केले ठूलो सहयोग गरेको छ,’ स्थानीय अनन्तप्रसाद न्यौपानेले भने ।

उनका अनुसार होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारहरू फड्के बनेपछि आवातजावात गरिरहेका छन् । सँगै, रसुवाबासीलाई राजधानी काठमाडौंसहित अन्यत्र जान पनि सजिलो भएको छ ।

बेत्रावतीको यो फड्केबाट फलाखु खोला तरेपछि केही किलोमिटर हिंड्दा पृथ्वीराजमार्ग भेटिन्छ । उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालका अनुसार, दुई घण्टामा त्रिवेणी नै पुगिन्छ ।

उनका अनुसार ठूलो संख्यामा मानिसहरूलाई यो फड्कले राहत दिएको छ । ‘हिँडेर जंगलको बाटो भएर पनि यो खोला तर्दै आफन्तहरूलाई भेट्ने काम भइरहेको थियो । फड्के बनेपछि धेरै सजिलो भयो,’ अर्याल भन्छन् ।

फड्के बनाउन स्थानीय गणेश श्रेष्ठ, दिलकुमार श्रेष्ठ सहितले अग्रसरता लिएका थिए भने गाउँपालिकाले आवश्यक सहयोग गरेको थियो । बाँस र काठ जोडेर बनेको यो फड्के एकातिर घरको भग्नावेशषमा अड्याइएको छ भने बगरतिर तारजालीको पर्खाल बनाइएको छ ।

स्थानीयका अनुसार, यो खोलामा केही दिन अगाडि काठ मात्र जोडेर फड्के बनाइएको थियो । तर सञ्चालन भएकै रात बाढीले बगाएर लग्यो । यसपछि तुलनात्मक बलियो स्थानमा यो फड्के बनाइएको छ ।

यो फड्केबाट रसुवा जान पनि सजिलो भएको छ । तर त्रिशुली नदी वारपार गर्नलाई अहिलेसम्म बेलिब्रिजको माग स्थानीय गरिरहेका छन् ।

तस्वीरहरू–

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?