News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको जीतपुरसिमरा २ सिमरा मेनरोडको होटलमा साथीलाई चक्कु प्रहार गरी हत्या गरेर फरार आयुष राईलाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ।
- जीतपुरसिमरा २ का ३५ वर्षीय शेरबहादुर खड्कालाई शनिबार साँझ सम्झना स्टाफ होटलमा चक्कु प्रहार भएपछि उपचारका लागि बिर्गंज पुर्याउँदा मृत घोषणा गरिएको थियो।
- घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य तीनजनालाई पक्राउ गरेको छ र होटल सन्चालिकालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
३ असोज, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ सिमरा मेनरोडस्थित एक होटलमा आफ्नै साथीको हत्या गरेर भागेका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा २ पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन् । साथीलाई चक्कु प्रहार गरेर भागेका राईलाई प्रहरीले शनिबार राति जीतपुरसिमरा १६ महेन्द्रनगर स्थित धानखेतबाट पक्राउ गरेको हो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका अन्यको विवरण प्रहरीले खुलाएको छैन ।
ुघटना भएको होटलकी सन्चालिकालाई समेत हामीले सोधपुछका लागि नियन्त्रणमा लिएका छौँ, थप विवरण खुल्न बाँकी छ,ु ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले भने ।
जीतपुरसिमरा २ का ३५ बर्षीय शेरबहादुर खड्कामाथि शनिबार साँझ ५ बजेतिर सोहि वडामा पर्ने सिमरा मेनरोडमै रहेको सम्झना स्टाफ होटलमा चक्कु प्रहार भएको थियो ।
घाँटीमा गम्भीर चोट लागेका खड्कालाई उपचारका लागि बिरगंज पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
खाजापसलमा शनिबार दिउँसो खाजा खान आएका समुहबिच विवाद भएपछि सोहि खाजापसलको किचेनमा रहेको चक्कु खड्कामाथि प्रहार भएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा खाजा खान बसेका खड्कामाथी बाहिरबाट आएका राईले विवाद गरेको र होटलकै मासु काट्ने चक्कुले हानेर हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
मृतक खड्काको शव वीरगन्ज स्थित बयोधा मेडीसिटी हस्पिटलमा राखिएको छ ।
घटनाका सम्बन्धमा बारा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4