+
+
Shares
नाटक :

मानसिक स्वास्थ्य समस्याबारे कथा भन्ने नाटक

घरेलु महिलाको कथा देखाउँदै हामीलाई आफ्नै जीवनका चार भित्ताभित्र थुनिएका आकांक्षा र गुम्सिएका चित्कारहरूसँग आमनेसामने गराइदिन्छ ।

सापेक्ष सापेक्ष
२०८३ असोज ४ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाटकले समाजले बेवास्ता गर्ने मानसिक स्वास्थ्य समस्या र महिलाको अदृश्य श्रम तथा सपनालाई केन्द्रमा राखेको छ।
  • समीक्षाले नाटकलाई दार्शनिक संवादले भरिएको, तर दृश्यभाषा र द्वन्द्व कमजोर भएको भनेर मूल्यांकन गरेको छ।

बाहिरबाट हेर्दा माण्डवीको जीवनमा कुनै अभाव छैन । माया गर्ने श्रीमान् छन् । असल बच्चा छ । घरव्यवहार चलाउन चाहिने न्यूनतम भौतिक सुखसुविधा सबै छन् । तर, ती सबै सुखका बाबजुद उनको भित्री मन अशान्त छ ।

तर, माण्डवी समाजले भन्ने आदर्श श्रीमती हुन् । उनी सबेरै उठेर चिया बनाउँछिन् । खाजा र खाना पकाउँछिन् । बच्चा र श्रीमान्‌को हेरचाह गर्छिन् । तर, यो दैनिक जीवनको अन्तहीन चक्रभित्र भने उनी आफूलाई हराउँदै गइरहेकी छिन् ।

घरका ती चार भित्ताको संसार नै उनका लागि जीवन र संसार बनेका छन् । जहाँ उनी चराचर वस्तुहरूसँग बोल्छिन् । हाँस्छिन् । आफ्ना अधूरा सपनाहरूसँग संवाद गर्छिन् । 

त्यसो भए के माण्डवी बिरामी हुन् ? 

हो, माण्डवीलाई स्माइलिङ डिप्रेसन भएको छ । यो कसरी भयो ? अब के हुन्छ ? उनलाई के कस्तो गाह्रोसाह्रो हुन्छ ? उनले के गर्छिन् ? उनको श्रीमानले के गर्छन् ? उनीहरूको सम्बन्ध कसरी अघि बढ्छ ?

यी यावत् प्रश्नहरूको उत्तर नै नाटक माण्डवीमा पाइन्छ ।  राम के.ए.सी.को लेखन तथा निर्देशनमा सद्‍भाव थिएटर नेपालले थापागाउँस्थित एक थिएटर नेपालमा यो नाटक मञ्चन गरिरहेको छ । 

डेढ घण्टा लामो नाटकले वर्तमान समयमा घटिरहेको मानसिक स्वास्थ्य समस्याबारे कथा भन्छ । यसो हेरौं त– हामी एउटा यस्तो समयमा बाँचिरहेका छौं, जहाँ मान्छे बाहिरबाट जति सुखी, व्यवस्थित र मुस्कुराएको देखिन्छ, भित्रबाट त्यति नै एक्लो, रित्तो र खण्डित हुँदै गइरहेको छ । 

प्रविधि, करिअर, सम्पत्ति र आधुनिकताको दौडधुपले हामीलाई भौतिक सुविधा त दिएको छ । तर आत्मीयता र जीवनको असली अर्थ खोसिदिएको छ । यही आधुनिक मानव सभ्यताको अदृश्य अन्तर्विरोध र मानसिक पक्षघात नाटक माण्डवीको मूल विषय हो ।

नाटकले दर्शकलाई एउटा घरेलु महिलाको कथा देखाउँदै हामीलाई आफ्नै जीवनका चार भित्ताभित्र थुनिएका आकांक्षा र गुम्सिएका चित्कारहरूसँग आमनेसामने गराइदिन्छ । जुन यो नाटकको सबल पक्ष हो।

राम्रो पनि, नराम्रो पनि – यो नाटक दार्शनिक संवादहरूले भरिभराउ छ । 

उदाहरणका लागि, एउटा पारिवारिक कथा देखाइरहेको यो नाटक अस्तित्ववादी दर्शनतिर मोडिन्छ । नाटकभरि स्वतन्त्रता, मोह, सत्य र मिथ्या जस्ता विषयमा विचारोत्तेजक संवादहरू छन् । त्यही सिलसिलामा स्वतन्त्र हुनु र खाली हुनु नितान्त भिन्न कुरा हुन् भन्ने जस्तो कुरा आउँछन् । त्यसमा पात्रहरूले वादविवाद जसरी तर्कवितर्क गर्छन् ।

नाटकमा चरा र पिँजडाको रूपकमार्फत स्वतन्त्रताको जोखिम र भयावहतालाई दर्शाइएको छ । पिँजडाबाट उडेर खुला आकाशमा पुगेको चरा कसरी चिलहरूको आक्रमण र काँडाको झ्याङमा परेर रक्ताम्मे हुन्छ भन्ने प्रसङ्गले स्वतन्त्रताको भ्रम र यसको घातक यथार्थलाई देखाइएको छ । भलै यो कुरालाई अझ सरल र आयामिक तरिकाले देखाउन सकिने थियो । त्यो पाटोको अभाव नाटकमा छ ।

त्यस्तै, बुद्ध दर्शनको समस्या र समाधान तथा शिव पुराणको नरक र नारदको सन्दर्भ जोड्दै पूर्णता र अपूर्णताको द्वन्द्वलाई बहसको विषय बनाइएको छ । यी आधारमा नाटकले बौद्धिक उचाइ दिन खोजेको छ ।

तर, नाटकको कथावस्तु र भावभूमि असाध्यै बलियो हुँदाहुँदै दार्शनिक संवादहरूको बाहुल्यताले गर्दा नाटक केही हदसम्म लामा र व्याख्यात्मक बन्न पुगेको छ । यदि केही प्रसङ्गहरूलाई संवादभन्दा बढी दृश्यभाषा र मञ्चीय गतिशीलतामार्फत व्यक्त गरिएको भए नाटक अझ बढी प्रभावकारी र कसिलो बन्ने थियो । 

त्यसैगरी नाटकमा द्वन्द्वको अभाव छ । समान भाव बोकेका दृश्यहरू लामा लामा छन् । द्वन्द्वको अभावमा ती दृश्यहरू दर्शकका लागि बोझिला हुन सक्छन् । यसमा निर्देशकले थप काम गर्नु पर्ने देखिन्छ । 

संवादमा सकेसम्म बोलीचालीको भाषामा उतार्न खोजिएको छ । तर, नाटकमा आफ्ना तत्वहरूभन्दा बढी संवाद नै हाबी भएको छ । दृश्यहरू परिवर्तन गर्दा केही मिनेटसम्मै लागेको छ । त्यसले दर्शकलाई कथामा रहनेभन्दा बहकाउँछ । 

यसमा सुधार गर्नु पर्ने देखिन्छ । नाटकमा लाइटिङको काम पनि औसत नै छ । स्याडोज लाइटिङ गरेर केही नयाँ गर्न प्रयास गरिएको छ । त्यो प्रशंसनीय छ । तर, माण्डवीका श्रीमानले ल्यापटप हेरेको दृश्यमा गरिएको प्रयोग खल्लो बनेको छ ।

कलाकारहरूको अभिनय औसत छ । कताकता कास्टिङमा समस्या रहेको महसुस हुन्छ । यसको कारण मुख्य त भारी संवाद नै हो । तर, एउटै कलाकारले भिन्नभिन्न पात्रहरू निभाएको भने राम्रो देखिएको छ।

मुख्य पात्र माण्डवीको भूमिकामा देखिएकी निलीमा पाण्डे नाटकको अधिकांश समय मञ्चमा हुन्छिन् । उनले मुस्कान र आँखाको निराशाबीचको सन्तुलनलाई बडो मार्मिक रूपमा पस्किएकी छिन् । अर्कोतिर, पिँजडा र बुबाको भूमिका रहेका भीष्म राज जोशी करिब ७/८ वर्षपछि मञ्चमा फर्किएका छन् । कुनै द्वन्द्व नभइरहेका बेला उनको पिँजडा पात्रले नाटकमा मोड ल्याउने काम गरेको छ । 

समग्रमा, समाजले बेवास्ता गर्दै आएको मानसिक स्वास्थ्य र महिलाको अदृश्य श्रम/सपनालाई केन्द्रमा राख्नु नाटकको सबल पक्ष हो । त्यसमा संवादसँगै अर्थोकमा पनि थप ध्यान दिइएको भए यो केही राम्रो हुने थियो ।

नाटक : माण्डवी
नाटकघर : एक थिएटर नेपाल, थापागाउँ
लेखन/निर्देशन : राम के.ए.सी.
मञ्चमा : निलीमा पाण्डे, एवल राज उप्रेती, सन्तोष विष्ट, रुपा श्रेष्ठ, संस्कृति वन, तिर्सना राई, भीष्मराज जोशी, किरण चापागाईं
मञ्चन अवधि : १४ असोजसम्म (मंगलबार बाहेक)

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?