+
+
Shares

साउदी अरबमाथि आक्रमण गरिरहेका हुथी विद्रोही को हुन् ? 

हुथीहरू यमनको पश्चिमी तट हुँदै बाब अल-मन्देबतर्फ अघि बढेका छन् र केही दक्षिणी लाल सागरका टापुहरू नियन्त्रणमा लिएका छन्। संयुक्त राष्ट्रसंघले पनि यमनको पश्चिमी तट र बाब अल-मन्देब वरिपरिको अवस्था तीव्र रूपमा अस्थिर बनेको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमनमा साउदी नेतृत्वको गठबन्धन र हुथीबीचको द्वन्द्व फेरि चर्किएको छ, जसले करिब २ करोड २३ लाखलाई मानवीय सहायता आवश्यक पर्ने अवस्थामा पुर्‍याएको छ।
  • संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ को सुरुदेखि कम्तीमा १ लाख २५ हजार नयाँ विस्थापित भएका छन् र ६ अगस्टदेखि १४ सेप्टेम्बरसम्म २ हजार ८ सय ८३ जना मारिएका वा घाइते भएका छन्।
  • सेप्टेम्बर १९ मा हुथीहरूले रियाद र साउदी तेल प्रतिष्ठानमा मिसाइल र ड्रोन आक्रमणको दाबी गरेपछि साउदी–हुथी युद्धविराम थप कमजोर भएको छ।

यमनमा वर्षौंदेखि जारी साउदी नेतृत्वको गठबन्धन र हुथी विद्रोहीहरू बीचको शक्ति संघर्षले फेरि एकपटक भयावह रूप लिएको छ। सेप्टेम्बर २०२६ को मध्यतिर आइपुग्दा यो द्वन्द्व पहिलेभन्दा धेरै विस्तृत  रूपमा देखा परेको छ।

केही वर्षदेखि तुलनात्मक रूपमा शान्त रहेको साउदी अरब र हुथीबीचको मोर्चा अहिले फेरि क्षेप्यास्त्र, ड्रोन, हवाई हमला र समुद्री नाकाबन्दीको जोखिमले तातेको छ। 

हुथीहरू र उनीहरूका विरोधीहरू बीचको यो निरन्तरको शक्ति संघर्षको सबैभन्दा मूल्य यमनका साधारण नागरिकहरूले तिर्दै आएका छन्। देशले लामो समयदेखि चरम खाद्य असुरक्षा, तीव्र विस्थापन, स्वास्थ्य सेवाको अभाव, बेरोजगारी र जीर्ण पूर्वाधारका समस्याहरूको सामना गरिरहेको छ।

यमनको यो गम्भीर स्थितिबारे संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले एउटा चिन्ताजनक तथ्यांक  सार्वजनिक गरेको छ। सन् २०२६ मा यमनभर करिब २ करोड २३ लाख मानिसहरूलाई मानवीय सहायता र सुरक्षा सेवाहरू आवश्यक पर्नेछन्, जसमा ५२ लाख आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू पनि समावेश छन्। 

सेप्टेम्बर २०२६ को सुरुदेखि मात्र कम्तीमा १ लाख २५ हजार मानिसहरू नयाँ विस्थापित भएका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार ६ अगस्टदेखि १४ सेप्टेम्बरसम्ममा कम्तीमा २ हजार ८ सय ८३ जना मारिएका वा घाइते भएका छन्, जसमध्ये  एक हजार ७ सय ४६ जना एकै हप्ता (६–१२ सेप्टेम्बर) मा घाइते/मारिएका थिए। 

यसै अवधिमा कम्तीमा ९३ हजार ८ सय ६४ जना नयाँ विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ। खाद्य असुरक्षाको हिसाबले करिब १ करोड ८३ लाख मानिस तीव्र खाद्य असुरक्षाको अवस्थामा रहेका छन्। यमनको यो समग्र संकटलाई सशस्त्र द्वन्द्वका साथसाथै आर्थिक मन्दी, विस्थापन र जलवायु–सम्बन्धित जोखिमहरूले अझ बढी जटिल बनाएका छन्।

हुथीहरूले आफूहरूले नियन्त्रण गरेका क्षेत्रहरूमा प्रशासन चलाइरहेको दाबी गरेका छन् । यद्यपि, उनीहरूको शासनमाथि मानव अधिकार उल्लङ्घन, राजनीतिक असहमतिको दमन, पत्रकार र आलोचकहरूलाई हिरासतमा लिने र निजी क्षेत्रमा दबाब दिने आरोपहरू लागेका छन्। विभिन्न प्रतिवेदनहरूले हुथी नियन्त्रित क्षेत्रहरूमा सार्वजनिक सेवाका कर्मचारीहरूले वर्षौंदेखि तलब नपाएको देखाउँछन्।

अर्कोतर्फ हुथीहरूविरुद्धका सैन्य सञ्चालनहरूले पनि नागरिक मृत्यु, पूर्वाधारको विनाश र विस्थापनको कारण बनेका छन्। नयाँ सैन्य अभियानले हजारौं मानिसहरूलाई विस्थापित गरेको छ। नयाँ द्वन्द्वले यमनका साधारण मानिसहरूको अवस्थालाई अझ कमजोर बनाउने जोखिम सिर्जना गरेको छ।

हुथी आन्दोलनको उदय र प्रारम्भिक वर्षहरू

हुथी आन्दोलन, जसलाई आधिकारिक रूपमा ‘अन्सार अल्लाह’ वा ‘ईश्वरका सहयोगी’ भनिन्छ । यमनको उत्तरी सादा प्रान्तमा बसोबास गर्ने जायदिया शिया समुदायबाट उदय भएको हो।

यो आन्दोलन उत्तरपश्चिमी यमनमा सन् १९८० को दशकमा भ्रष्टाचार र वाह्य प्रभावविरुद्धको प्रतिरोधमा स्थापना भएको थियो। जायदिया शियाहरूले यमनको लगभग एक तिहाइ जनसंख्या ओगटेका छन्। उनीहरूले करिब हजार वर्षसम्म इमामतको रूपमा उत्तरी यमनमा शासन गरेका थिए। तर सन् १९६२ मा उत्तरी यमनको राजतन्त्र अन्त्य भएपछि जायदिया राजनीतिक संरचनाको प्रभाव कमजोर हुँदै गयो। समयक्रममा यो समुदाय राजनीतिक र आर्थिक रूपमा पछि परेको महसुस गर्दै आएको थियो।

सन् १९८० र सन् १९९० को दशकमा जायदिया पहिचानको संरक्षणका लागि विभिन्न धार्मिक तथा सामाजिक अभियान अघि बढे। यही वातावरणमा बिलिभिङ युथ आन्दोलनको विकास भयो। आन्दोलनको नाम यसका संस्थापक नेता हुसैन बद्रुद्दिन अल-हुथीको परिवारबाट आएको हो।

हुसैन अल-हुथीले अमेरिका र इजरायलको क्षेत्रीय नीतिको आलोचना गर्दै आन्दोलनलाई राजनीतिक रूप दिए। उनले सन् २००४ मा सादा प्रान्तमा यमन सरकारविरुद्ध विद्रोह सुरु गरे। यही समयदेखि यो समूह हुथी नामले चिनिन थाल्यो। सुरुमा उनीहरूको माग जायदी समुदायको धार्मिक र राजनीतिक पहिचान जोगाउने र सरकारी उपेक्षाको अन्त्य गर्ने भन्ने थियो। तर बिस्तारै यो आन्दोलन सशस्त्र विद्रोहमा परिणत भयो।

सन् २००४ मा सरकार र हुथीबीच पहिलो ठूलो सशस्त्र संघर्ष हुँदा हुसैन अल-हुथी मारिए। तर उनको मृत्युले आन्दोलन समाप्त भएन, उल्टै यसले हुथी आन्दोलनलाई अझ संगठित र लडाकु बनायो। सन् २००४ देखि २०१० सम्म हुथीहरू र तत्कालीन राष्ट्रपति अली अब्दुल्लाह सालेहको सरकारबीच छवटा युद्ध लडिए, जसलाई ‘सादा युद्ध’ भनिन्छ।

यी युद्धहरूमा हुथीहरूले पहाडी भूगोल, स्थानीय सामाजिक सम्बन्ध र आफ्नो धार्मिक–राजनीतिक सञ्जाललाई प्रयोग गरेर संगठन विस्तार गरे। प्रत्येक चरणमा सरकार र हुथीबीच युद्धविराम भए पनि स्थायी समाधान हुन सकेन।

२०११ को अरब विद्रोह र सानाको पतन

२०११ मा अरब विश्वभर फैलिएको राजनीतिक विद्रोह यमनमा पनि पुग्यो। राष्ट्रपति अली अब्दुल्लाह सालेहविरुद्ध ठूलो प्रदर्शन भयो। अन्ततः सालेहले सत्ता छोडे र उनका उपराष्ट्रपति अब्द रब्बुह मन्सुर हादी संक्रमणकालीन राष्ट्रपतिको रूपमा अगाडि आए। यही समयमा हुथीहरूले व्यापक लोकप्रियता हासिल गरे र ‘अन्सार अल्लाह’ नामले परिचित भए।

तर सत्ता परिवर्तनले यमनको आधारभूत समस्या समाधान गरेन। देशमा आर्थिक संकट थियो, सेना विभाजित थियो, दक्षिणमा अलगाववादी भावना थियो । अल-कायदा सक्रिय थियो र राज्यको प्रशासनिक क्षमता कमजोर थियो। यही संक्रमणकालमा हुथीहरूले आफ्नो प्रभाव थप विस्तार गरे।

सन् २०१४ मा यमनको नयाँ संविधान र सत्ता बाँडफाँटसम्बन्धी विवाद बढेपछि हुथीहरूले सरकारविरुद्ध ठूलो आन्दोलन सुरु गरे र राजधानी सानातर्फ अघि बढे। सेप्टेम्बर २०१४ मा हुथीहरूले साना नियन्त्रणमा लिए। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१४ को मध्यदेखि बढेको राजनीतिक तथा सैन्य संकटले अन्ततः हुथी र उनीहरूका सहयोगी सैन्य एकाइलाई साना र देशका अन्य भाग नियन्त्रण गर्न सक्षम बनायो।

हुथीहरूको यो विजय सैन्य शक्तिका कारण मात्र सम्भव भएको थिएन। त्यतिबेला उनीहरूले पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेहसँग पनि अस्थायी गठबन्धन बनाएका थिए। यही गठबन्धनले हुथीहरूलाई यमनको पुरानो सैन्य संरचना र हतियार भण्डारको पहुँच दियो।

सन् २०१५ जनवरीमा उनीहरूले राष्ट्रपति भवन कब्जा गरी तत्कालीन राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीलाई देश छोड्न बाध्य बनाए। तर यो गठबन्धन धेरै लामो समय टिकेन। सन् २०१७ मा सालेहले हुथीहरूसँग सम्बन्ध तोडेर साउदीसँग वार्ता गर्ने संकेत दिएपछि हुथीहरूले उनलाई मारिदिए। 

त्यसपछि हुथीहरूले उत्तरी यमनमा आफ्नो नियन्त्रण अझ बलियो बनाए। हुथीहरूले हाल राजधानी साना र यमनको उत्तरपश्चिमी प्रान्तहरूमा शासन गरिरहेका छन्, जसअन्तर्गत देशको ७० प्रतिशतभन्दा बढी जनसंख्या पर्छ।

साउदी नेतृत्वको हस्तक्षेप र हतियारको स्रोत

हुथीहरूले साना कब्जा गरेपछि यमनको संकट साउदी अरबका लागि छिमेकी देशको राजनीतिक समस्या मात्र रहेन। यमन साउदी अरबको दक्षिणी सीमासँग जोडिएको छ।

सीमापार विद्रोह र मिसाइलको उपस्थितिले साउदी सुरक्षामा प्रत्यक्ष असर पार्न सक्थ्यो। त्यसमाथि हुथीहरूको इरानसँग बढ्दो सम्बन्धले साउदी नेतृत्वमा अर्को ठूलो सुरक्षा चिन्ता जन्मायो। यस अवस्थामा साउदी नेतृत्वले हुथी नियन्त्रणलाई आफ्नो दक्षिणी सीमामा इरानको प्रभाव विस्तारका रूपमा हेर्न थाल्यो।

सन् २०१५ को सुरुमा हादी साउदी अरब पुगेपछि उनको अनुरोधमा साउदी अरेबियाले अमेरिकी समर्थनमा २६ मार्च २०१५ देखि हुथीविरुद्ध सैन्य गठबन्धन सञ्चालन सुरु गर्‍यो। यसले यमनमा सामानको आपूर्तिमा ठूलो अवरोध ल्यायो, व्यापक हवाई हमला भए, र गृहयुद्धले यमनमा गम्भीर मानवीय संकट सिर्जना गर्‍यो। यही समयदेखि यमन विश्वकै सबैभन्दा ठूलो मानवीय संकटमध्ये एक बन्न पुग्यो।

हुथीहरूले कालाबजारबाट किनेका हतियार, यमनी सेनाबाट भागेका सैनिकहरूका हतियार, कब्जा गरिएका सैन्य भण्डार, र पछि इरानको सहयोगबाट आफ्नो सैन्य क्षमता विस्तार गरे। इरानसँगको सम्बन्ध सन् १९९० को दशकमै सुरु भएको थियो  त्यसबेला हुथी नेताहरूले इरानमा धार्मिक तालिम लिएका थिए। सन् २००९ बाट इरानले प्रत्यक्ष सहयोग दिन थाल्यो, र सन् २०१४ मा हुथीहरूले साना कब्जा गरेपछि यो सहयोग अझ बढ्यो।

इरानले हुथीहरूलाई सन् २००४ देखि नै गुप्तचर सूचना, हतियार, रसद, धनराशि, कूटनीतिक समर्थन, तालिम र इन्धन सहयोग दिँदै आएको थियो। यसका अतिरिक्त इरानले आफ्नो इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स र लेबनानको हिज्बुल्लाहबाट सल्लाहकार र प्रशिक्षकहरू समेत पठायो। इरान र हुथीहरूले साना हतियार, मिसाइल र छुट्याइएका ड्रोन प्रणाली यमनसम्म पुर्‍याउन जटिल तस्करी सञ्जाल विकास गरेका छन्।

संयुक्त राष्ट्रसंघको यमनसम्बन्धी विशेषज्ञ समूहको २०२४ को प्यानल रिपोर्ट अनुसार विदेशी सहयोगबिना हुथीहरूले छोटो दूरी र मध्यम दूरीका ब्यालिस्टिक मिसाइल, स्थलबाट प्रहार हुने क्रुज मिसाइल, जहाजविरोधी ब्यालिस्टिक तथा क्रुज मिसाइल, विभिन्न प्रकारका ड्रोन, हवाई प्रतिरक्षा प्रणाली र समुद्री निगरानी उपकरणजस्ता जटिल प्रणाली विकास तथा उत्पादन गर्न सक्ने क्षमता सीमित रहेको निष्कर्ष छ। 

अमेरिकी प्रतिबन्धसम्बन्धी दस्तावेजले हुथीहरूले चीनमा आधारित आपूर्तिकर्ताबाट दोहोरो प्रयोग हुने प्रविधि र मिसाइल तथा ड्रोनका पार्टपुर्जा प्राप्त गर्न विश्वव्यापी खरिद सञ्जाल प्रयोग गरेको उल्लेख गरेको छ।

यद्यपि हुथी समर्थकहरू भने आफूलाई केवल इरानको कठपुतली भनिनुलाई अस्वीकार गर्छन्। विश्लेषकहरूले पनि उनीहरूलाई केवल इरानी प्रोक्सी भन्दा उनीहरूको स्थानीय एजेन्सीको परिचय छुट्ने बताउँछन्।

हुथीहरूको शक्ति स्थानीय सैन्य संरचना, इरानी सहयोग, अन्तर्राष्ट्रिय खरिद सञ्जाल, युद्धकालीन अर्थतन्त्र र आफ्नै संगठनात्मक क्षमताको मिश्रण हो। सामरिक र वैचारिक रूपमा हुथीहरू इरान नेतृत्वको ‘एक्सिस अफ रेजिस्टेन्स’ को महत्त्वपूर्ण अंग मानिन्छन्, जसमा हिज्बुल्लाह र हमास पनि सामेल छन्।

आठ वर्षको विनाशकारी युद्ध र २०२२ को युद्धविराम

सन् २०१५ पछिका वर्षहरूमा लडाइँ निरन्तर चल्यो। साउदीसँग अत्याधुनिक विमान, हवाई प्रतिरक्षा र ठूलो सैन्य बजेट थियो। हुथीहरूसँग सस्तो ड्रोन, मिसाइल, मोबाइल लन्चर र पहाडी भूगोल प्रयोग गरेर महँगो सैन्य प्रतिरक्षालाई निरन्तर दबाबमा राख्ने रणनीति थियो।

युद्धले यमनको पूर्वाधार ध्वस्त बनायो। सन् २०१८ मा हुदैदा बन्दरगाहमा ठूलो सैन्य आक्रमणको जोखिम बढेपछि संयुक्त राष्ट्रसंघको मध्यस्थतामा स्टकहोम सम्झौता भयो ।

 सन् २०१९ मा हुथीहरूले साउदी तेल उद्योगमाथि ठूलो ड्रोन र मिसाइल आक्रमण गरेर आफ्नो बढेको क्षमता देखाए । सन् २०२० सम्म आइपुग्दा हुथी लडाकुहरूले द्वन्द्वमा माथिल्लो हात पाएका थिए।

दीर्घकालीन लडाइँपछि सन् २०२२ मा संयुक्त राष्ट्रसंघको मध्यस्थतामा साउदी र हुथीबीच युद्धविराम भयो, जसले ठूलो स्तरको हिंसालाई रोक्यो । ओमानको मध्यस्थतामा दुवै पक्षबीच प्रत्यक्ष तथा अप्रत्यक्ष संवाद भयो । तर यो शान्ति पूर्ण थिएन। हुथीहरूले साउदी अरेबियाले उत्तरी यमनका ठूला भूभागलाई यात्रा र आर्थिक नाकाबन्दीमार्फत अलग्याउने प्रयास बन्द गर्न माग गरिरहेका थिए ।

यमनभित्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार, हुथीहरू, दक्षिणी अलगाववादी, स्थानीय सैन्य समूह, जनजातीय शक्तिहरू, र विभिन्न क्षेत्रीय समर्थित गुटहरू भएकाले आन्तरिक विभाजन कायम नै रह्यो।

गाजा युद्ध र हुथीहरूको क्षेत्रीय भूमिका

सन् २०२३ को अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएपछि हुथीहरूले आफूलाई ‘प्रतिरोधको धुरी’ को सक्रिय सदस्यको रूपमा प्रस्तुत गर्न थाले। उनीहरूले इजरायलतर्फ मिसाइल र ड्रोन हान्न थाले र लाल सागरमा व्यापारिक जहाजहरूमाथि आक्रमण गरी विश्व व्यापारलाई अवरुद्ध गर्न थाले । 

उनीहरूले आफ्नो कारबाहीलाई गाजा र प्यालेस्टिनी जनताप्रतिको समर्थनको रूपमा व्याख्या गरे। सन् २०२५ मा अमेरिकासँग भएको युद्धविरामले लाल सागरका आक्रमणलाई केही समय रोकेको भए पनि यो शान्ति स्थायी साबित भएन।

बाब अल-मन्देब जलमार्ग लाल सागरलाई अदनको खाडी र हिन्द महासागरसँग जोड्ने अत्यन्त महत्वपूर्ण समुद्री मार्ग हो। हुथी आक्रमण बढेपछि धेरै अन्तर्राष्ट्रिय जहाजले मार्ग परिवर्तन गरे । अमेरिका र बेलायतले हुथी सैन्य लक्ष्यविरुद्ध आक्रमण गरे। यसले हुथीहरूलाई यमनको घरेलु राजनीतिक शक्तिबाट क्षेत्रीय सैन्य खेलाडीमा रूपान्तरण गर्‍यो।

वर्तमान संकटको प्रत्यक्ष कारण फेब्रुअरी २०२६ मा सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्ध मानिन्छ । इरान प्रत्यक्ष रूपमा युद्धमा तानिँदा उसले आफ्नो क्षेत्रीय सहयोगी हुथीहरूलाई थप सक्रिय बनायो ।

जुलाई २०२६ मा हुथीहरूले साउदी अरेबियाविरुद्ध ‘समुद्री नाकाबन्दी’ घोषणा गरे र लाल सागरमा साउदीसँग सम्बन्धित जहाजहरूमाथि आक्रमण गर्न थाले, जसले सन् २०२२ को युद्धविरामलाई पूर्ण रूपमा भत्कायो।

द्वन्द्व चर्किनुको तत्कालीन कारण तेहरानबाट यमनको राजधानी सानासम्म उड्न खोजेको एउटा विमानसँग जोडिएको छ। हुथीहरूले तेहरानदेखि सानासम्म उडान सञ्चालन गर्ने प्रयास गरेर साउदी नाकाबन्दीलाई चुनौती दिन खोजेका थिए। जवाफमा गठबन्धनले सानाको विमानस्थलको धावनमार्गमा हवाई हमला गरी उक्त उडानलाई अवतरण गर्नबाट रोक्यो। यसपछि हुथीहरूले साउदीमाथि मिसाइल र ड्रोन आक्रमण थाले।

सेप्टेम्बर ८ तारिखका दिन हुथीहरूले साउदी अरेबियाको दक्षिणी क्षेत्रमा ठूलो आक्रमण सुरु गरे। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मालिकीका अनुसार हुथी आक्रमणले आबा, खमिस मुशाइत, जिजान र नज्रान प्रान्तका नागरिक र आर्थिक प्रतिष्ठानहरूमा प्रहार गरेको थियो, जसबाट ७३ भन्दा बढी मानिस घाइते भए।

हुथीहरूले नज्रान र आबामा रहेका आराम्को कम्पनीका तेल प्रतिष्ठानहरूमा र खमिस मुशाइतस्थित किंग खालिद वायुसेनामाथि पनि हमला गरे। 

हुथी सैन्य प्रवक्ता याह्या सारीले यसलाई साउदी आक्रमणको जवाफ भन्दै कडा चेतावनी दिए। यही आक्रमणअघि हुथीहरूले साउदीमाथि यमनको उत्तरी जावफ प्रान्तस्थित हाजम सहरको एउटा जेलमा हवाई हमला गरी एक बालबालिकासहित कम्तीमा सात जनाको हत्या गरेको आरोप लगाएका थिए। यस विद्रोही पुनर्जागरणले कम्तीमा १ लाख २५ हजार यमनीलाई आफ्नो घर छोड्न बाध्य बनायो।

नागरिक हताहती, मक्का र रियादमा हमलाको धम्की

सेप्टेम्बरको मध्यतिर आइपुग्दा दुवै पक्षबीचको तीव्र आक्रमणमा कम्तीमा १४ जना नागरिक मारिएका वा घाइते भएका छन्, जसमध्ये दुई बालबालिका पनि छन्। साउदी अरेबियाको दक्षिणपश्चिमी ताइफ प्रान्तमा एउटा हुथी ड्रोन रोक्ने क्रममा एक यमनी नागरिकको मृत्यु भयो र दुई जना घाइते भए, जुन सेप्टेम्बर महिनामा साउदी भूमिमा भएको पहिलो मृत्यु थियो।

अर्कोतर्फ हुथीहरूका अनुसार साउदी लडाकु विमानले ताइज प्रान्तका तीनवटा दूरसञ्चार टावरमाथि निशाना बनाउँदा ताइजमा एक नागरिकको मृत्यु भयो भने अब्स सहरमा अर्को व्यक्ति घाइते भए।

हुथी नेता अब्देल-मालिक अल-हुथीले आफ्नो सेनाले केवल रक्षात्मक कारबाही गरिरहेको दाबी गरे भने यमनको साउदी–समर्थित राष्ट्रपति नेतृत्व परिषद्का प्रमुख रशाद अल-अलिमीले हुथी सेनाले ताइज, मारिब, लहज, अल-जावफ, हज्जाह र अल-बयदा जस्ता मोर्चाहरूमा ठूलो क्षति व्यहोरिरहेको दाबी गरे।

सेप्टेम्बर १५ मा साउदी गठबन्धनले खामिस मुशैत, अब्हा र ताइफमा भएका आक्रमणको कडा जवाफ दिने प्रतिज्ञा गर्‍यो, जसमा १३ नागरिक घाइते हुनुका साथै सात घर र दुई सवारीसाधनमा क्षति पुगेको थियो। हुथीहरूले सोमबार राति साउदी अरेबियाले लहज, ताइज, अल-जावफ, मारिब र हज्जाह प्रान्तहरूमा २४ घण्टाभित्र ५४ पटक हवाई आक्रमण गरेको दाबी गरे।

 सेप्टेम्बर १८ मा हुथीहरूले साउदीले २४ घण्टामा २६ आक्रमण गरेको र विगत एक हप्तामा आक्रमणको संख्या ३०० सम्म पुगेको दाबी गरे।

यसैबीच सेप्टेम्बर १५ मा साउदी पक्षले मक्कातर्फ आएको ड्रोन रोकेको जनाएको थियो, जसलाई उसले २०१७ पछिको मक्का लक्षित दोस्रो प्रयास भनेको छ। हुथी नेता अब्देल-मालिक अल-हुथीले मक्कामाथि निशाना बनाएको साउदी दाबीलाई ‘जघन्य झुट’ भन्दै अस्वीकार गरे।

द्वन्द्वको सबैभन्दा गम्भीर मोड सेप्टेम्बर १९ मा देखियो। १९ सेप्टेम्बरमा यमनको हुथी मिलिसियाले साउदी अरेबियाको राजधानी रियाद र तेल प्रतिष्ठानहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोनको वर्षा गरेर आक्रमण गरेको दाबी गरे। साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल-मालिकीका अनुसार रियादतर्फ प्रहार गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र साउदी हवाई प्रतिरक्षाले रोकेको थियो। 

रियादका बासिन्दाले विस्फोटको आवाज सुनेका थिए र विमानस्थल नजिकै धूवाँको मुस्लो देखिएको थियो। यसका साथै बिश , ताइफ, फरासान र यान्बुस्थित साउदी राष्ट्रिय तेल कम्पनीका प्रतिष्ठानहरूमा पनि आक्रमणको प्रयास भएको थियो। हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादका ‘संवेदनशील ठाउँहरू’ लाई निशाना बनाइएको र यो यमनमा ७०० भन्दा बढी साउदी हवाई हमलाको प्रतिशोध भएको बताए।

तेल पूर्वाधार, समुद्री रणनीतिक महत्त्व र क्षेत्रीय प्रतिक्रिया

यो द्वन्द्वले साउदी अरेबियाको तेल क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ। इरान–समर्थित इराकी मिलिसियाहरूलाई जिम्मेवार ठहर्‍याइएको साउदी अरेबियाको पूर्व–पश्चिम पाइपलाइनमाथिको आक्रमणले पनि संकट थपेको छ। 

इरानले होर्मुज जलमार्गमा लगाएको प्रतिबन्धले साउदी अरेबियालाई आफ्नो लाल सागर निर्यात मार्गमा अझ बढी निर्भर हुन बाध्य पारेको छ। मार्चदेखि मध्य जुलाईसम्म बाब अल-मन्देबहुँदै साउदी समुद्री कच्चा तेल निर्यात सन् २०२५ को सोही अवधिभन्दा आठ गुणा बढी भएको थियो। 

झन्डै ३० वटा ट्यांकर साउदी बन्दरगाह सहर यान्बु नजिकै हुथी हमलाको दायराभित्र रहेका छन्। हुथीहरू यमनको पश्चिमी तट हुँदै बाब अल-मन्देबतर्फ अघि बढेका छन् र केही दक्षिणी लाल सागरका टापुहरू नियन्त्रणमा लिएका छन्। संयुक्त राष्ट्रसंघले पनि यमनको पश्चिमी तट र बाब अल-मन्देब वरिपरिको अवस्था तीव्र रूपमा अस्थिर बनेको जनाएको छ।

यमनभित्र अल–कायदा इन द अरेबियन पेनिन्सुला जस्ता जिहादी समूहहरू, दक्षिणी यमनका पृथकतावादीहरू र अन्य स्थानीय शक्तिहरू पनि हुथीहरूविरुद्ध लडिरहेका छन्। हुथीहरूको सहभागिताले अमेरिका र इरान बीचको कूटनीतिक संलग्नतामा जटिलता थपेको छ। इरान र साउदी अरब बीच चीनको मध्यस्थतामा भएको सन्धिपछि तेहरानले खाडी देशहरूसँगको सम्बन्ध र हुथी सैन्य सञ्चालनहरूलाई समर्थन गर्ने बीच सन्तुलन कायम राख्न प्रयास गरिरहेको छ।

इरान चाहन्छ कि हुथीहरूले रियादमाथि दबाब बढाउन्, तर उसले साउदीसँग पूर्ण–पैमानाको युद्ध चाहँदैन। इरानी रणनीति साउदीसँग हुथी सैन्य दबाब र कूटनीतिक संलग्नता दुवैलाई कायम राख्नु हो।

यसैबीच क्षेत्रीय शक्ति समीकरणमा ठूलो परिवर्तन आएको छ। चीन र पाकिस्तान दुवैले इरानलाई आफ्नो प्रभाव प्रयोग गरेर हुथीहरूलाई नियन्त्रण गर्न आग्रह गरेका छन्। टर्कीका विदेश मन्त्री हकन फिदानले साउदी अरबको सैन्य आवश्यकतालाई ध्यानमा राख्दै टर्की पाकिस्तानसहितको त्रिपक्षीय रक्षा सम्झौता अन्तर्गत मद्दत गर्न तयार रहेको बताएका छन्।

यस अघि अगस्त ७ तारिखमा मक्काको अल सफा दरबारमा साउदी युवराज मोहम्मद बिन सलमान, टर्किस राष्ट्रपति रेजेप तैयप एर्दोआन र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’ मा हस्ताक्षर भएको थियो। पाकिस्तानी विदेश मन्त्रालयका अनुसार यस सम्झौताले कुनै एक सदस्यमाथि भएको आक्रमणलाई सबैमाथि भएको आक्रमण मानिने प्रावधान राखेको छ, जसलाई केही विश्लेषकहरूले ‘सुन्नी नाटो’ को संज्ञा दिएका छन्। तर टर्कीको संसदीय अनुमोदन ढिलाइ र संयुक्त रक्षा योजनाको अभावका कारण यसको तत्काल कार्यान्वयनमा चुनौती देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?