+
+
Shares

संशोधनका नाममा संविधानलाई विकृत बनाउने खेल भइरहेको छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संशोधनका नाममा वर्तमान संविधानलाई विकृत बनाउने खेल भइरहेको आरोप लगाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधनका नाममा वर्तमान संविधानलाई विकृत बनाउने खेल भइरहेको आरोप लगाएका छन्।
  • मनोज भट्टको पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचनमा खनालले संविधानको कार्यान्वयनबारे पहिला गम्भीर समीक्षा हुनुपर्ने बताए।
  • खनालले संविधान संशोधनलाई गम्भीर र जिम्मेवारीपूर्वक अघि बढाउन सबै राजनीतिक दलबीच बृहत् छलफल र सर्वदलीय सहमति आवश्यक पर्ने बताए।

४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले संशोधनका नाममा वर्तमान संविधानलाई विकृत बनाउने खेल भइरहेको आरोप लगाएका छन्।

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा बोल्दै नेता खनालले बिनासमीक्षा अघि बढाइएको संशोधनको बहसलाई अनर्थको संज्ञा दिएका हुन्।

संविधानको कार्यान्वयन अवस्थाबारे पहिला गम्भीर समीक्षा हुनुपर्ने र त्यसपछि मात्रै संशोधनको आवश्यकता तय गर्नुपर्ने उनको भनाइ छ।

‘संविधानको मर्म र भावनालाई संशोधन गर्नु हुँदैन। यसमा भएका त्रुटि र कमजोरीहरूलाई साँच्चै नै केलाएर संशोधन गर्ने कुरा बेग्लै हो,’ कार्यक्रमलाई सम्बोधन गर्दै खनालले भने, ‘तर, संविधानको समीक्षा नै भएको छैन। बेला न कुबेलाका मतलबी बाजाहरू बजाउँदै संशोधनका जुन हल्ला मच्चाइएका छन्, ती बिल्कुल अनर्थका कुरा हुन्।’

नेता खनालले संविधान संशोधनलाई गट्टी खेल जस्तो सामान्य रूपमा नलिन राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। उनले संशोधन प्रक्रिया बडो गम्भीर र जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा जोड दिँदै यसका लागि सम्पूर्ण राष्ट्र र सबै राजनीतिक दलहरूबीच बृहत् छलफल तथा सर्वदलीय सहमति आवश्यक पर्ने बताए।

समय र सन्दर्भविना नै संविधान संशोधनको हल्ला चलाएर संविधानको मूल मर्मलाई नै कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले त्यस्तो कार्यप्रति सचेत रहन सबैको ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?