News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बीमा प्राधिकरण र जीवन बीमक संघले रसुवा बाढीमा बेपत्ता बिमितका आश्रितलाई १२ वर्ष कुर्न नपर्ने गरी दाबी भुक्तानी गर्ने तयारी गरेका छन् ।
- प्राधिकरणले स्थानीय सरकारको मृत्युसरह सिफारिसका आधारमा एक–दुई दिनमै जीवन बीमा भुक्तानी हुने व्यवस्था मिलाउने जनाएको छ ।
- रसुवा बाढीमा १ हजार ४ सय ११ जनाको मृत्यु र ५ हजार ८ सय ७५ जना बेपत्ता भएको राष्ट्रिय विपद् प्राधिकरणले जनाएको छ ।
४ असोज, काठमाडौं । १० भदौमा आएको रसुवा बाढीमा बेपत्ता बिमितका आश्रित परिवारले बीमा दाबी भुक्तानी पाउन १२ वर्ष पर्खनु नपर्ने भएको छ ।
नेपाल बीमा प्राधिकरण र जीवन बीमक संघको पहलमा बाढीमा बेपत्ता बिमितका हकमा कानुनी समयभन्दा छिटो भुक्तानी दिने तयारी भएको हो ।
मुलुकी देवानी संहिता २०७४ को दफा ४० मा बेपत्ता व्यक्ति १२ वर्षसम्म पनि सम्पर्कमा नआए मृत्यु भएको मानिने उल्लेख छ । तर, रसुवा बाढीमा बेपत्ता बिमितका हकमा यो व्यवस्थाको विकल्पबारे प्राधिकरणसँग छलफल चलिरहेको जीवन बीमक संघका निवर्तमान अध्यक्ष पोषकराज पौडेलले बताए ।
‘कानुनमा तोकिएको समय अवधिलाई अहिलेको विशेष परिस्थितिमा कसरी घटाउन सकिन्छ भनेर प्राधिकरणसँग छलफल चलिरहेको छ,’ पौडेलले भने, ‘यसै साता कति समयमा बेपत्ता भएका बिमितका आश्रित परिवारलाई दाबी भुक्तानी दिने भन्ने टुंगो लाग्छ, बीमा भनेको अप्ठ्यारोको साथी भएकाले सोही उद्देश्य अनुरूप काम गर्ने प्रयास गरिरहेका छौं ।’
देवानी संहिताको दफा ४० मा छ, ‘कुनै व्यक्ति विनासूचना लगातार १२ वर्षदेखि बेपत्ता भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले १२ वर्षदेखि कुनै जानकारी नपाए त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने छ ।’
सोही दफामा ८० वर्ष उमेर पूरा भएको व्यक्ति भए पाँच वर्ष, युद्धस्थलमा खटिएको सैनिक भए युद्ध समाप्त भएको मितिले चार वर्ष, दुर्घटना भएको वायुयान, पानीजहाज वा अन्य सवारीसाधनमा यात्रा गरेको व्यक्ति बेपत्ता भएको हकमा तीन वर्षमा मृत्यु भएको मानिने छ ।
त्यसैगरी सोही दफामा कुनै व्यक्तिको कुनै दुर्घटनामा परी मृत्यु भएकोमा त्यस्तो दुर्घटनामा पर्ने अर्को व्यक्ति जीवित रहेको प्रमाण प्राप्त नभए त्यस्तो व्यक्तिको पनि सोही बखत मृत्यु भएको मानिने भनी संहितामा उल्लेख छ ।
रसुवा बाढीका कारण १ हजार ४ सय ११ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी बाढीमा ५ हजार ८ सय ७५ जना बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीमा मृत्यु हुने र बेपत्ता हुनेको संख्या २०७२ सालको भूकम्पमा मृत्यु हुनेको संख्यासँग करिब बराबर छ ।

भूकम्पको समयमा बीमा पहुँच निकै न्यून थियो । अहिले बीमा गर्नेको संख्यामा केही सुधार आएको हुनाले जीवन बीमा कम्पनीहरूलाई भूकम्पमा भन्दा धेरै दायित्व आउने पौडेलले बताए ।
जीवन बीमा दाबी भुक्तानीका हकमा सरकारी निकायलाई सिफारिस गर्दा नै सहजीकरण गरिदिन अनुरोध गरिने बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बताए ।
‘स्थानीय सरकारबाट जीवन बीमा दाबी गर्ने बेपत्ता नागरिकको हकमा मृत्युसरह सिफारिस गरिदिन अनुरोध गर्ने भएका छौं,’ उनले भने, ‘स्थानीय तहले सिफारिस गरेपछि बीमा कम्पनीले भुक्तानी दिने व्यवस्था आगामी एक–दुई दिनमै हुन्छ ।’
अप्ठ्यारो अवस्थामा सहजीकरण गर्नुपर्छ भनेर नै प्राधिकरणले बीमा कम्पनीहरूलाई पनि सहजीकरण गर्न निर्देशन दिएको उनले बताए ।
अहिले रसुवा बाढीमा मृत्यु भएका वा बेपत्ता नागरिकको आ–आफ्नो संस्कार अनुसार अन्त्येष्टि गर्ने काम भइरहेकाले दाबी पर्न अझै धेरै बाँकी रहेको पौडेलले बताए ।
‘आ–आफ्नो धर्म–संस्कृति अनुसार दाहसंस्कार र त्यसपछिका कार्यक्रमले १३–१४ दिन लाग्ने भएकाले दाबी नै गर्न आउने अवस्था भएन,’ उनले भने, ‘कागजात बनाएर लस भयो भनेर बीमा दाबी गर्ने समय अझै बाँकी छ ।’
अहिले बीमाको दायरा बढेको र बाढी प्रभावित क्षेत्र व्यापार–व्यवसाय हुने भएकाले पनि दाबी धेरै पर्ने उनको अनुमान छ । रसुवा बाढीका कारण बीमा क्षेत्रलाई वित्तीय रूपमा प्रभावित बनाउने गरी दाबी नआउनेमा उनी ढुक्क छन् ।
‘रसुवा बाढीको घटनालाई बीमा कम्पनीहरूले पनि निकै गम्भीर रूपमा लिँदै दाबी परेको सोही दिन भुक्तानी गरेको अवस्था छ,’ उनले थपे ।

बेपत्ता नागरिकका हकमा स्थानीय सरकारको सिफारिसमा दाबी भुक्तानी गर्ने भएकाले त्यसमा अरू कसैले गलत फाइदा उठाउन सक्ने जोखिम रहन्छ । त्यसका लागि अहिलेको जटिल परिस्थितिमा सबै इमान्दार र जिम्मेवार भई बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने पौडेलले बताए ।
बेपत्ता भएका बिमितको परिवारलाई दाबी भुक्तानी दिने र पछि सम्बन्धित व्यक्ति सम्पर्कमा आएको खण्डमा दाबी भुक्तानी फिर्ता गर्ने विषयलाई पनि विश्लेषण गरेर भुक्तानी दिने उनले बताए ।
‘अहिलेसम्म जीवन बीमा क्षेत्रमा १ सयदेखि डेढ सय मात्रै माग दाबी परेको अवस्था छ,’ पौडेलले भने, ‘अब ७२ सालको भूकम्पमा साढे ८ हजारभन्दा धेरैको मृत्यु भएको थियो, त्यसमध्ये बीमा गरेका जम्मा ३ वा ४ प्रतिशतको हाराहारीमा थिए, रसुवा बाढीमा पनि मृत्यु हुनेको संख्या भूकम्पको जस्तै आउला, बीमाको चेतना र पहुँच विस्तारका कारण कुल मृतकमध्ये १० प्रतिशतसम्म बिमित रहेका हुन सक्ने अनुमान छ ।’
भूकम्पबाट जम्मा ८ हजार ८ सय ९६ जना मानिसको मृत्यु, १ सय ९८ बेपत्ता तथा २२ हजार ३ सय २ जना घाइते भएकोमा बीमा भएका व्यक्तिमध्ये जम्मा ३ सय ६० जनाले मात्र जीवन बीमाको लाभ प्राप्त गरेका थिए ।
यो कुल मृतकमध्ये ४ प्रतिशतमात्र जीवन बीमा दाबी भएको देखिन्छ । बीमा दाबीबापत ९ करोड १५ लाख २० हजार रुपैयाँ दाबी भुक्तानी भएको बीमा प्राधिकरणले जनाएको छ ।
बीमा पोलिसी वा कागजात नभए कसरी दाबी गर्ने ?
बाढीका कारण सम्पूर्ण कागजात गुमाएका बिमितका हकमा सम्बन्धित बीमा कम्पनीमा रहेको रेकर्डका आधारमा दाबी भुक्तानी प्रक्रिया अघि बढाइने पौडेलले बताए ।
‘बीमा कम्पनीको कार्यालयमा भएको कागजातका आधारमा दाबी भुक्तानी गर्ने भनेका छौं,’ पौडेलले भने, ‘कम्पनीमा भएका डकुमेन्टको प्रतिलिपि निकालेर तुरुन्तै दिइहाल्छौं, सम्बन्धित मान्छे हो भन्ने भयो भने डकुमेन्ट पनि आवश्यक नपर्ने गरी व्यवस्था गर्न लागेका छौं ।’
रसुवा बाढी क्षेत्रको मानवीय क्षतिमा जीवन बीमा कम्पनीको भुक्तानीमा केही समस्या नभएको उनले बताए । मृत्यु भएकाले बीमा गरेको रकम पाउँछन् । साथै, जोखिम पनि बीमा कम्पनीले मात्रै नलिएको उनले बताए ।
‘जीवन बीमाको हकमा नेपाल बीमा प्राधिकरणको व्यवस्था अनुसार नेपाली रिइन्स्योरेन्सलाई जोखिम हस्तान्तरण गरेका छौं, नेपाली रिइन्स्योरेन्सले विदेशमा कति ट्रान्स्फर गर्यो भन्ने जानकारी छैन, तर जीवन बीमा कम्पनीले ५ लाखदेखि आफ्नो कम्पनीको वित्तीय अवस्थाका आधारमा जोखिम राखेर रिइन्स्योरेन्समा हस्तान्तरण गर्ने गरेका छन्,’ उनले भने ।
प्रतिक्रिया 4