News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको क्यानबेरामा नेपालका बाढीपहिरो पीडितका लागि आयोजित अपिल कार्यक्रममार्फत करिब १५ हजार अस्ट्रेलियन डलर संकलन भएको छ।
- संकलित रकमको केही हिस्सा इमर्जेन्सी एक्सन एलायन्सको नेपाल फ्लड डिजास्टर अपिल र बाँकी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
- कार्यक्रममा नेपाली र अस्ट्रेलियाली समुदाय, सामाजिक अभियन्ता र कलाकारको सहभागितामा सांगीतिक तथा नाटक प्रस्तुति गरिएको छ।
४ असोज, क्यानबेरा । नेपालमा हालैको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलियाको क्यानबेरामा करिब १५ हजार अस्ट्रेलियन डलर आर्थिक सहयोग जुटाइएको छ।
आर्ट साउन्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न नेपाल फ्लड डिजास्टर अपिल कार्यक्रममार्फत उक्त रकम संकलन गरिएको हो। टर्नरस्थित पोलिस ह्वाइट इगल क्लबमा आयोजित च्यारिटी कार्यक्रममा नेपाली समुदायका साथै अस्ट्रेलियाली नागरिक, सामाजिक अभियन्ता र कलाकारहरूको उल्लेख्य सहभागिता थियो।
प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने
आयोजकका अनुसार संकलित रकममध्ये केही हिस्सा इमर्जेन्सी एक्सन एलायन्सको नेपाल फ्लड डिजास्टर अपिल र बाँकी नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
आर्ट साउन्ड एफएमका अध्यक्ष स्टिभ लिटलले अनलाइनखबरसँग कुरा गर्दै मानवीय संकटका बेला समुदायबीचको सहकार्य महत्त्वपूर्ण हुने बताए। समाचारका हेडलाइनबाट विपद्का विषय हटे पनि नेपाली समुदायप्रतिको आफ्नो संस्थाको साथ र समर्थन निरन्तर रहने प्रतिबद्धता उनले जनाए।

जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण
कार्यक्रममा बोल्दै जलविज्ञ डा. दुर्गादत्त कँडेलले विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनले नेपालमा पारेको गम्भीर प्रभावबारे चिन्ता व्यक्त गरे। संवेदनशील भौगोलिक अवस्था भएको नेपालले भोगेका प्राकृतिक विपद्का चुनौतीबारे अस्ट्रेलियाली र अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक ध्यान दिनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, अर्थशास्त्री डा. कृष्ण हमालले विपद्को यस कठिन समयमा राहत संकलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण अस्ट्रेलियाली तथा नेपाली समुदाय, स्वयंसेवक र आयोजकप्रति कृतज्ञता व्यक्त गरे।
सांगीतिक तथा नाटक प्रस्तुति
आश्मा बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा अस्ट्रेलियन ब्यान्ड ‘द डेभिल एन्ड द बनी’ र ‘द डेजी कलेक्टिभ’ले सांगीतिक प्रस्तुति दिएका थिए।
यसैगरी, नेपाली कलाकारहरू शशांक अधिकारी, नवीन अधिकारी, उषा दवाडी र अर्णव सम्मान पौडेलले बाढीसम्बन्धी मर्मस्पर्शी नाटक मञ्चन गरे। यज्ञ अधिकारीको कविता वाचन र जिसस भण्डारीको बाँसुरीवादनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। प्रत्यक्ष उपस्थित हुन नसक्नेहरूका लागि आर्ट साउन्ड एफएम र युट्युबमार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो।
प्रतिक्रिया 4