+
+
Shares

‘अशोक दर्जीलाई कसैले सडकबाट उठाएको होइन, आफैँ उठेको हो’

किशोर श्रेष्ठ किशोर श्रेष्ठ
२०८३ असोज ५ गते १४:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखमा अशोक दर्जी प्रतिभा भएको तर अपरिपक्व रहेको उल्लेख गर्दै उनलाई कुनै लफडाको केन्द्रमा पार्न नहुने भनिएको छ।

त्यसबेला हामी डिजिटल पत्रकारिताको सुरुवाती चरणमा थियौं । बुम र क्यामेरा बोकेर सडकतिर दौडन्थ्यौँ । अशोक दर्जी सडकमा गीत गाउँदै थिए । सडक हाम्रा लागि साझा प्लेटफर्म थियो ।

त्यहीबेला पहिलो पटक देख्यौं, अशोक दर्जीलाई ।

सानो, मायालु, अबोध । त्यसबेलासम्म उसको गायकीले थोरबहुत चर्चा कमाइसकेको थियो । एक युट्युब च्यानलले त्यो फुच्चे अशोक दर्जीलाई आफ्नो फ्रेमभित्र ल्याइसकेको थियो ।

ठ्याक्कै कुन महिना हो याद छैन । झापको दमकमा हामीले उनीसँग भेट गरेका थियौं । दमक बजारको एक बन्द सटरअगाडि बसेर हामीले पनि उनीसँग कुराकानी गर्‍यौं । गीत गाउन लगायौं ।

मैले ‘उर्लाबारी फोकस टिभी’ भनेर एउटा च्यानल सुरु गरेको थिएँ । त्यसमा जम्माजम्मी ३०० सब्सक्राइब थियो । अशोकको अन्तर्वार्ताको भिडियो उक्त च्यानलमा अपलोड गरेको २४ घण्टा बित्न नपाउँदै त्यसको सब्सक्राइब १५ हजार पुगेको थियो ।

म भन्दिनँ कि हामीले उनको प्रतिभालाई दुनियाँमाझ ल्यायौं । बरू हाम्रा लागि उनी प्रभावकारी ‘कन्टेन्ट’ बनेर आइदिए । म भन्दिनँ कि, उसलाई हामीले सडकबाट उठाउन सहयोग गर्‍यौं । बरू, ऊ स्वयम् आफ्नो प्रतिभाको आलोकमा टेकेर सडकबाट उठ्दै थियो ।

जतिबेला हामीले उनीसँग भेट गर्दै थियौं, त्यसबेला उनले ‘मिडिया’ चिनेकै थिएनन् । भाइरल, पैसा, ट्रेन्डिङसँग कति पनि परिचित थिएनन् । उसलाई केवल गाउनु थियो । मात्र गाउनु । किनभने आमाको काखबाट भर्खरै मात्र बाहिरको दुनियाँमा पाइला टेक्दै गरेका त्यो कलिलो बालकले गायकीबाट आफ्नो जीवनको लय समात्दै थियो ।

भेट्नेहरूले उनलाई ‘लु एउटा गीत सुनाउ त’ भन्थे । उनी सुरिलो भाका हालेर आफ्नै किसिमको मिठासमा गीत गाइदिन्थे । हामीले पनि उनलाई त्यही प्रस्ताव राख्दा उनले फुर्तिसाथ गाएका थिए, ‘कुटुमा कुटु सुपारी दाना… ।’

उसलाई जहाँ थियो, त्यही छाडेनौं । किनभने उनको गायकीले हामीलाई प्रभावित बनाइसकेको थियो । उसैका लागि हामीले ‘प्रतिभा पहिचान कार्यक्रम’ भनी आयोजना गर्‍यौं । उनका बुबाआमाले अशोकलाई पढाउन चाहन्थे । तर, खर्च अभाव थियो । हामी सबैको पहलमा उसलाई उर्लाबारीको बेथेल बोर्डिङ स्कुलमा भर्ना गरिदियौं । त्यो दीपक न्यौपानेको विद्यालय थियो ।

उसलाई मात्र होइन, उसको बहिनी र साथी भुँइकटरलाई पनि सोही विद्यालयमा भर्ना गरिदियौं ।

पछि अशोकको स्वरमा गीत रेकर्ड गर्ने भनी दमकको डिजे रूपकले काठमाडौं लिएर गए । टंक बुढाथोकीकहाँ गीत रेकर्ड गराउने भन्दै उनलाई लगिएको थियो । त्यसपछि ऊ उताउतै भयो । यता भने उनको घर बनाइदिने अभियान सुरु गरिसकेका थियौं । घर बनाउनका लागि संयोजक पनि तोकिएको थियो, पूर्ण वाइबालाई ।

त्यसपछि अशोक घर फर्किएनन् । वा फर्काइएनन् ।

गाउँमा अशोकको बालसखा थिए, सौगात धिताल । तर उसलाई सौगात भनेर होइन भुँइकटर भनेर बोलाइन्थ्यो ।

उता अशोकको राम्रै प्रगति हुँदै थियो । उसले मन बिनाको धन बोलको गीत गाएर चर्चा बटुलिसकेको थियो । त्यही गीतबाट उसले देश विदेशको भ्रमण पनि गरिरहेकै थियो । मलेसिया कार्यक्रम सकेर फर्किएपछि भने अशोकलाई काठमाडौंमै राखेर पढाउने भनियो । उतै बस्ने बन्दोबस्ती मिलाउने भनियो । टंक बुढाथोकीले ‘छोराजस्तो’ भन्दै उसलाई आफूसँगै राखे ।

अशोक हुर्कँदै गए र उनकै लोकप्रियताको बलमा फिल्म बनाइयो । फिल्मले राम्रै हाइप पायो । व्यवसायिक रूपले सफल वा असफल हुनु आफ्नो ठाउँमा छ । तर, त्यसले अशोकलाई गायनबाट सिनेमातर्फ ल्याइदियो । मन बिनाको धनपछि हालसालै उनले अर्को फिल्ममा काम गरे, पार्वती ।

हो, यी फिल्मसँगै अशोक विवादको घेराबन्दीमा परे । उनीमाथि के भयो ? कसो गरियो ? कसले गरे ? कसरी गरे ? त्यो समयले बताउँछ । तर, अशोक दर्जी आफैँमा एउटा प्रतिभा हो । प्रतिभा भएर पनि ऊ आफैँमा परिपक्क छैन । उसले धेरै कुरा बुझ्न, सिक्न र जान्न बाँकी छ ।

यही अबोध बालकलाई लिएर समाजमा भने अनेकथरी लफडा चल्ने गरेको छ । यस्तो लफडाबाट क–कसले रोटी सेक्छ ? त्यो सरोकारको कुरा भएन । तर, सरोकार यसमा छ कि, कुनैपनि लफडाको केन्द्रमा अशोकलाई पारिनु हुन्न ।

ऊ कुनै गोटी होइन, जसलाई आफ्नो स्वार्थका लागि प्रयोग गरिनुहुन्न । ऊ प्रतिभा हो केवल प्रतिभा । उसलाई कसैले सडकबाट उठाएर गायक बनाएको होइन । ऊ सँगै प्रतिभा भएकै कारण त्यहाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?