+
+
Shares

तिब्बती गतिविधि हुनसक्ने भन्दै लुम्बिनीको कार्यक्रममा बढाइयो सुरक्षा चासो

यहाँ हुनसक्ने गतिविधिलाई लिएर सुरक्षा निकायहरूले सूक्ष्म निगरानी बढाएका छन् । कार्यक्रममा हरेकजसो गतिविधि सुरक्षा निकायको नोटिसमा रहन्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते २१:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी विश्व शान्ति मञ्च र लक्जम्बर्गको सेन्जेन पिस फाउन्डेसनले लुम्बिनीमा १७औं विश्व शान्ति मञ्च कार्यक्रम सोमबारदेखि बुधबारसम्म सुरु गरेका छन् ।
  • कार्यक्रम ‘२१औं शताब्दीमा शान्तिको पुनर्कल्पना’ विषयमा केन्द्रित छ र जलवायु न्याय, दिगो विकास तथा पर्यटनमा छलफल हुने आयोजकले बताएका छन् ।
  • दलाई लामासँग जोडिएका अतिथि उपस्थित भएकाले कार्यक्रमलाई सुरक्षा निकायले सूक्ष्म निगरानीमा राखेका छन् र एक चीन नीतिमा असर पर्न सक्ने चासो देखाइएको छ ।

५ असोज, काठमाडौं । लुम्बिनीमा सोमबारदेखि १७औं विश्व शान्ति मञ्च कार्यक्रम सुरु भएको छ । काठमाडौंको धुम्बाराहीस्थित लुम्बिनी विश्व शान्ति मञ्च र लक्जम्बर्गमा रहेको सेन्जेन पिस फाउन्डेसनको संयुक्त आयोजनामा सुरु कार्यक्रम बुधबारसम्म चल्नेछ ।

यस पटकको कार्यक्रम ‘२१औं शताब्दीमा शान्तिको पुनर्कल्पना’ विषयवस्तुमा केन्द्रित रहेको संस्थापक तथा आयोजक लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष वासुदेव गौतमले बताए । कार्यक्रममा जलवायु न्याय, दिगो विकास, पर्यटन लगायतका विषयमा छलफल हुने उनी बताउँछन् ।

कार्यक्रममा इन्टरनेसनल सेन्जेन पिस फाउन्डेसन, लक्जम्बर्गका अध्यक्ष विक्की हानसेन, इन्टिच्युट फर इकोनोमिक्स एन्ड पिस, अस्ट्रेलियाका संस्थापक एक्ज्युकेटिभ चेयरमेन स्टिफ केल्लीलेए एम, तिब्बतीयन बुद्धिजमका धर्मगुरु गेसे सोनाम, भुटानका रिग्जिन रिगल, भारत र नेपालका लागि मंगोलियाका राजदूत डा. उल्जित लुभसानजाभ, जेनेभाबाट आन्द फिलिप लगायतको उपस्थित रहेको छ ।

उद्घाटन सत्रमा सोमबार बिहान लुम्बिनी प्रदेश सरकारका प्रदेश आयोजना सचिव खिमबहादुर कुँवर, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी कपिलवस्तु ग्लोब क्याम्पेन बेल्जियमका अध्यक्ष डा. राजेन्द्र बारीको पनि उपस्थित रहेको आयोजक गौतमले बताए ।

लुम्बिनीमा आयोजना भएको यो कार्यक्रम दक्षिण एसियाकै पहिलो रहेको दाबी आयोजकको छ । यसभन्दा अघि यो कार्यक्रममा दक्षिण अफ्रिकामा भएको थियो । त्योभन्दा अघि भने स्पेनको बार्सिलोनामा भएको थियो ।

यस किसिमको कार्यक्रमले पर्यटन विकासमा टेवा पुग्ने दाबी आयोजकको छ । सँगैसँगै यसलाई सुरक्षा तथा भूराजनीतिक कोणबाट विश्लेषण गरिएको छ । यहाँ हुनसक्ने गतिविधिलाई लिएर सुरक्षा निकायहरूले सूक्ष्म निगरानी बढाएका छन् । कार्यक्रममा हरेकजसो गतिविधि सुरक्षा निकायको नोटिसमा रहन्छन् ।

सुरक्षा संयन्त्रले कार्यक्रममा उपस्थित हुने केही व्यक्तिहरूको पृष्ठभूमि र नेपालको एक चीन नीतिमा पर्न सक्ने असरलाई विशेष ध्यान दिनुपर्ने औंल्याएका छन् । कार्यक्रमका एक अतिथि हुन् गेसे सोनाम ।

गेसे उपाधि

तिब्बती बौद्ध धर्मको गेलुग परम्पराअनुसार लामो अध्ययनपछि गेसे उपाधि प्राप्त हुन्छ । यो उपाधि ल्हासाका तीन गुम्बा गान्देन, ड्रेपुङ र सेरासँग सम्बन्धित छ ।

अर्कोतर्फ, भारतस्थित तिब्बती धार्मिक केन्द्रहरूसँग पनि यसको सम्बन्ध रहेको बताउने गरिन्छ । जसलाई दलाई लामासँग जोडेर चिनियाँ पक्षले विश्लेषण पनि गर्दै आएको छ । एक चीन नीतिमा उनीहरूका गतिविधिले असर पर्न सक्ने चुनौती पनि उत्तिकै रहेको विश्लेषण गरिन्छ ।

डा. उल्जित लुभसानजाभ भोलिको सत्रका मुख्य वक्ता हुन् । मंगोलियामा तिब्बती बौद्ध धर्मको गेलुग सम्प्रदाय र दलाई लामाको प्रभाव रहेको मानिन्छ ।

सन् २०२३ मा दलाई लामाले ८ वर्षीय मंगोलियाली बालकलाई १०औं जेब्त्सुन्दाम्बा खुतुक्तुको रूपमा मान्यता दिएका थिए । जेब्त्सुन्दाम्बा खुतुक्तु मंगोलियाली बौद्ध धर्ममा सबैभन्दा उच्च श्रेणीको आध्यात्मिक पद मानिन्छ ।

यो घटनाले अन्तर्राष्ट्रियस्तरमा राजनीतिक र धार्मिक चर्चा पाएको थियो । चीन–मंगोलियाको सम्बन्धमा समेत तनाव सिर्जना भएको थियो । गेसे र उल्जित अहिले लुम्बिनीको कार्यक्रममा एकसाथ उपस्थित हुने भएकाले यसले फेरि एक पटक सुरक्षा चासो बढाएको विश्लेषण छ ।

नेपालमा हुने यस्तो गतिविधिमा चिनियाँ चासो सधैं पर्दै आएको देखिन्छ । सन् २०२४ मा लुम्बिनीमै हुन लागेको नवौं नान्हाई बौद्ध सम्मेलन आयोजनाको बेला पनि चिनियाँ चासो निकै बढेको थियो । त्यतिबेला चीनले आफू समर्थित ११औं पन्चेन लामा ग्याल्त्सेन नोर्बुलाई विशेष चार्टर्ड विमानमार्फत लुम्बिनी उतार्नेसम्मको रणनीति बनाएको विषय बाहिरिएको थियो । भूराजनीतिक सन्तुलन बिग्रने जोखिम भएपछि नेपाल सरकारले कूटनीतिक नोट जारी गर्र्दै पन्चेनको भ्रमण रोक्नु परेको थियो ।

६ जुलाई २०२६ मा दलाई लामाको ९१औं जन्मदिन नागार्जुनको नाम्ग्याल गुम्बामा मनाउँदा अमेरिकी, फ्रान्स, युरोपेली संघसम्मका कूटनीतिज्ञहरू सहभागी भएको विषय सार्वजनिक भएको थियो । यो विषयमा चिनियाँ पक्षले चासो राख्दै परराष्ट्र मन्त्रालयसँग जानकारीसमेत माग गरेको थियो ।

पछि परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पत्रकार सम्मलेन गर्दै नेपाल एक चीन नीतिमा पूर्ण प्रतिबद्ध रहेको पुन:  बताउनुपरेको थियो ।

यो घटना सेलाउन नपाउँदै नेपालमै १७औं अन्तर्राष्ट्रिय तिब्बती अध्ययन सम्मेलन गर्न लागिएको थियो । यसमा पनि चिनियाँ पक्षले विशेष चासो देखाएपछि अन्तिम समयमा रोकिएको थियो ।

नेपाल–भारत खुला सीमा रहनु, लुम्बिनी भारतीय सीमा नजिकै रहनु र भारतमा रहेका निर्वासित तिब्बतीहरू सहजै लुम्बिनी प्रवेश गरेर घुसपैठ हुनसक्ने जोखिम पनि विश्लेषण गरिएको छ ।

तर, आयोजक गौतम भने यी कुराहरू मान्न तयार छैनन् । ‘यहाँ त्यस्तो केही गतिविधि हुँदैन । यो त विशुद्ध शान्तिको पुनर्कल्पना विषयमा केन्द्रित छ । तिब्बती गतिविधिका विषयहरू बेलाबखत नेपालमा उठिरहने भएकाले त्यससँग जोड्न खोजिएको होला, त्यस्तो होइन,’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?